रोनाल्डोले सिजनको पहिलो खेलमै हार व्यहोरे
प्रतिबन्धपछि मैदानमा उत्रिएका स्ट्राइकर रोनाल्डोले आफ्नो पहिलो खेलमै हार व्यहोरेको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा मड्रिड रियल बेटिससँग १–० ले पराजित भएको हो ।
यो सिजनको ला लिगामा यो नै रोनाल्डो पहिलो खेल हो ।
स्पेनिस ला लिगा च्याम्पियन रियल म्याड्रिडले सिजनको पहिलो हार बेहोर्ने क्रममा ला लिगाको पाँचौ चरणको खेलमा रियल बेटिसले १–० गोलले पराजित गरेको हो ।
बेटिसको जितमा एन्टोनियो सानाब्रियाले दोस्रो हाफको इन्जुरी सयमको चौथो मिनेटमा गोल गरेका थिए । एन्टोनियो बारागानको क्रसमा सानाब्रियाले गोल गरेपछि डिफेन्डिङ च्याम्पियन रियल स्तब्ध बन्यो ।
रियलले बेटिसमाथि खेलमा दबाब दिए पनि फिनिसिङ हुन नसकेपछि केही गोल गर्ने राम्रो अवसर खेल फाल्यो । रियलले खेलमा २७ पटक गोल गर्ने प्रयास गरेको थियो।
बार्सिलोनाविरुद्ध स्पेनिस सुपर कपमा रेफ्रीलाई धेकेलेपछि रोनाल्डोलाई ५ खेलको प्रतिबन्ध लगाइएको थियो ।
बेटिसले रियलको घरेलु मैदानमा सन् १९९८ पछि पहिलोपटक जित हात पारेको हो । हारपछि ८ अंकका साथ सातौं स्थानमा झरेको रियल शीर्ष स्थानको बार्सिलोनाभन्दा ७ अंकले पछि परेको छ ।
लिगअन्तर्गत राति नै भएको खेलमा एथ्लेटिको बिल्बाओलाई एथ्लेटिको मड्रिडले २–१ ले हराउँदै पाँच खेलबाट ११ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । अर्को खेलमा सेभिल्लाले लास पालमसलाई १–० ले पराजित गर्दै १३ अंकसहित दोस्रो स्थान कायम गरेको छ ।