खेल

जर्मनी र नर्दन आयरल्याण्डको विश्वकप छनौट सम्भावना बलियो

जर्मनी र नर्दन आयरल्याण्डको विश्वकप छनौट सम्भावना बलियो

विश्व विजेता जर्मनीले विश्वकप फुटबलमा छनौट हुने सम्भावना बलियो बनाएको छ ।

रुस विश्वकप फुटबल २०१८ को छनौट अन्तर्गत शुक्रबार राति भएका खेलमा जर्मनीले चेक रिपब्लिकलाई २–१ ले पराजित गरेको हो । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘सी’ मा रहेको जर्मनीले चेक रिपब्लिकलाई हराउँदै छनौट चरणमा लगातार सातौं जित दर्ता गरेको हो ।

जर्मनीको लागि खेलको चौथो मिनेटमा नै टिमो वर्नरले र ८८ औं मिनेटमा म्याट्स हमल्सले गोल गरे । चेक रिपब्लिकका लागि ७८ औं मिनेटमा भ्लादिमिर डारिडाले एक गोल गरेका थिए । सात खेलबाट २१ अंक जोडेको जर्मनी समूहको शीर्ष स्थानमा छ ।

राति नै भएको अर्को खेलमा सान मारिनोलाई ३–० ले हराएको नर्दन आयरल्याण्डको छनौट हुने सम्भावना पनि बढेको छ ।

नर्दन आयरल्याण्डको जितमा जोश मेगानिसले ७० र ७५ औं मिनेटमा गरी दुई गोल गरे । यस्तै ७८ औं मिनेटमा स्टिभन डेविसले पेनाल्टी मार्फत गोल गरेपछि आयरल्याण्ड ३–० ले विजयी भयो । सात खेलबाट १६ अंकसहित नर्दन आयरल्याण्ड दोस्रो स्थानमा छ ।

समूह ‘सी’ अन्तर्गतकै खेलमा नर्वेले अजरबैजानलाई २–० ले हरायो ।

football

विशेष