स्वास्थ्य

यसरी छुटाउन सकिन्छ बच्चालाई स्तनपान गर्नबाट

यसरी छुटाउन सकिन्छ बच्चालाई स्तनपान गर्नबाट

हरेक आमाले आफ्नो बच्चालाई स्तनपान गराउन एकदमै जरुरी हुन्छ । आमाको ममता पनि यो स्तनपानसँग जोडिएको हुन्छ । जन्मिएको पहिलो ६ महिनासम्म बच्चाले आमाको दूधमात्र पचाउन सक्ने भएकाले त्यसबेलासम्म दूध छुटाउनेबारे सोच्नु पनि हँुदैन । तर अचेल सुत्केरी आमाहरु पनि कार्यालय जाने वा कुनै व्यवसायमा संलग्न हुने हुनाले लामो समयसम्म दूध चुसाउन चाहँदैनन् । विश्व स्वास्थ्य संगठनले बच्चालाई कमसेकम दुई वर्षसम्म अनिवार्य स्तनपान गराउनु पर्नेमा जोड दिँदै आएको छ । तर यसपछि भने आमाले बच्चाको मानसिकता हेरेर कुनैपनि बेलामा दूध छुटाउँदा फरक भने पर्दैन । यसरी छुटाउन सकिन्छ बच्चालाई आमाको दूध पिउनबाट ।

१. यो कुरा बुझ्न जरुरी छ कि तपाईंले चाहँदैमा बच्चाले दूध छाड्न सक्दैन । उसको यो जन्मिदादेखिकै आदत हो । त्यति सजिलै वा एकैचोटीमा छुट्दैन । बिस्तारै बिस्तारै कम गराउँदै लानु पर्छ । यसका लागि बच्चालाई अरु खानेकुरातर्फ आकर्षित गर्दै लैजानु पर्छ । भिन्न आकार, भिन्न स्वाद र भिन्न रगंका खानेकुरा खान दिनु उपयुक्त हुन्छ । तर याद राख्नुहोस् उक्त खाना पोषणयुक्त र पाच्य भने हुन जरुरी छ किनकि बच्चाका लागि आमाको दूध नै सबैभन्दा पाच्य र पोषिलो खानेकुरा हो ।

२. जब बच्चाले अरु खानामा पनि स्वाद लिन थाल्छ र पेट भर्न थाल्छ भने उसलाई बिस्तारै दूध चुसाउन कम गर्दै लैजानुस् । यदि तपाईंको बच्चाले एक दिनमा छ पटक स्तनपान गर्छ भने हरेक दिन घटाउँदै लैजानुहोस् । केही दिनको अन्तरालमा उसको आदत पनि कम हुँदै जान्छ । उसको आत्मसन्तुष्टिका लागि कमसेकम राति सुत्ने समयमा उसलाई स्तनपान भने गराउनु जरुरी हुन्छ । एकै चोटी दूध छोडाउँदा आमालाई पनि स्तनमा गाँठो पर्ने वा टनटन गरेर दुख्ने हुनसक्छ । यो कुरा ध्यान राख्न जरुरी छ ।

३. कतिपय आमाहरु बच्चालाई स्तनपान गर्न छोडाउँदा दुःखी हुने गर्छन् । पहिलो कुरा त बच्चाको उमेर बढ्दै जादाँ पनि दूध छुटेन भने यो आदतले गर्दा आमालाई अत्यन्त पीडा हुने र झन्झट पनि हुन्छ । जहाँसुकै दूध खान्छु भनेर मानिसहरुको भिडमा जिद्धी गर्ने र बसमा वा यात्रामा भएको बेला खान्छु भनेर सताउने गरेको पाइन्छ । साथै एउटा निश्चित उमेरपछि आमाको दूध बच्चाको शारीरिक तथा मानसिक वृद्धिका लागि आवश्यक पनि पर्दैन, बाधक हुन सक्छ ।

४. यति गर्दा पनि बच्चाले दूध खाने आदत छोडेन भने आमाले दूधको मुण्टोमा केही घरेलु तर खाद्य कुराहरु लगाउनु पर्छ, जुन स्वाद तपाईंको बच्चालाई मन नर्पर्ने होस् । जस्तो करेलाको रस, घीउ कुमारीको चोप, बेसारको पानी, निमको पातको रस आदि इत्यादि । तर कहिले पनि अखाद्य कुराहरु जस्तै नङ पालिस, औषधिका गोली वा कालो मोसो आदि लगाउन भने हुँदैन ।

 

 

विशेष