मुख्य समाचार

प्रधानमन्त्री देउवाद्वारा सार्क राष्ट्रका चार राष्ट्रप्रमुखसँग भेटवार्ता

प्रधानमन्त्री देउवाद्वारा सार्क राष्ट्रका चार राष्ट्रप्रमुखसँग भेटवार्ता

न्यूयोक । संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखसँग भेटवार्ता शुरु गरेका छन् ।

सो क्रममा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) अन्तर्गत अफगानिस्तानका राष्ट्रपति तथा पाकिस्तान र बंगलादेशका प्रधानमन्त्रीसँग प्रधानमन्त्री देउवाले छुट्टाछुट्टै भेटवार्ता गरे। प्रधानमन्त्री देउवाले बंगलादेशका प्रधानमन्त्री शेख हसिना र पाकिस्तानका प्रधानमन्त्री सहिद खान अब्बासीसँग महासभास्थलमा छुट्टाछुट्टै भेटवार्ता गरे । दुवै भेटमा दुई देशबीचको आपसी सम्बन्ध, चासो र सहयोगका विविध पक्षबारे कुराकानी भएको जनाइएको छ ।

भेटमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, न्यूयोर्क्स्थित राष्ट्र संघको स्थायी नियोगका लागि नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलगायत सहभागी थिए ।

प्रधानमन्त्री देउवाले कोलम्बिया विश्वविद्यालयको विश्व नेतृत्व मञ्चलाई अपराह्न सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रसंघको ७२ औँ महासभालाई प्रधानमन्त्री देउवाले यही असोज ७ गते सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवा राष्ट्रसङ्घको महासभामा भाग लिने क्रममा २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार बिहान न्युयोर्क पुगेका हुन् ।

विशेष