रावण महाज्ञानी, पुरुषार्थी र घोर तपश्वी पनि थियो
काठमाडौं । सीताको अपहरण गरेर दूराचारीको आरोपित रावण लंकाको राजा थियो । उसको वैभव रामको राज्य अयोध्यामा भन्दा धेरै गुणा बढी थियो । रावण दूराचारी मात्रै नभएर महापराक्रमी, कुशल राजनीतिज्ञ, महाधर्मात्मा पनि थियो । अत्यन्त बलशाली, प्रकाण्ड विद्वान हुनुका साथै रावण कैयन ग्रन्थको रचनाकार पनि थियो । उसको पराक्रमका कारण त्यो बेला उसले आफ्नो दरबार सुनबाट बनाएको थियो । उसँग विमान नै थियो । चन्द्रहाँस तरबार थियो । अर्थात त्यो बेलाको लंका अहिलेको अमेरिका जस्तो शक्तिशाली थियो । किनभने उसँग युद्धक विमान (पुष्पक विमान) चन्द्रहाँस (आधुनिक हतियार) सुनका दरबार अर्थात अत्यन्त समृद्ध देश थियो लंका । त्यस्तो देशको राजा हुने चाहना कसलाई नहोला र । त्यही भएर विभिषणले कुलद्रोह गरेर रावणको सत्रु रामलाई सहयोग गरेका थिए ।
रावणको हजुरबाबुको नाम प्रजापति पुलस्त थियो । उनी ब्रम्हाका दशौं मानसपुत्र मध्येका एक थिए । अर्थात रावण आफै ब्राम्हण कुलको थियो । ब्रम्हाको नाति थियो । हिन्दू ज्योतिष विज्ञानमा रावणले रचना गरेको रावण संहितालाई ठूलो ग्रन्थ मानिन्छ ।
रावण यति धेरै ताकवर थियो कि उसले पृथ्वीको ठूलो क्षेत्रमा आफ्नो कब्जा जमाएको थियो । राजधानी लंका थियो । यहाँसम्क कि उसले स्वर्गमै कब्जा जमाइदिएको थियो । उ अत्यन्त अहंकारी पनि थियो । रावणको अन्त्यको कारण उसको अहंकार नै थियो । उसमा अहंकार नभएको भए भगवानले पनि उसको केही बिगार्न सक्दैन थिए ।
रावण आफ्नो समयको सबैभन्दा ठूलो विद्वान थियो । रावणको मृत्यु हुनु अघि रामले लक्ष्मणलाई रावणको छेउमा गएर बस्न भनेका थिए । ताकि रावणबाट राजपाठका केही कौसल सिक्न सकियोस ।
रावण संगीतामा पनि पोख्त थियो । उसले रुद्र बिणा आफैले सिर्जना गरेको थियो । शिवलाई खुसी पार्न रचना गरेको शिव ताण्डव स्तोत्र त अत्यन्यत स्तरीय छ । उसले नाचेरै भगवान शिवको मन जितेको थियो । उसले वीणा यति मधुर बजाउँथ्यो कि वीणाको धुन सुन्न भगावनहरु पनि स्वर्गबाट पृथ्वीमा आउने गर्थे ।
नौवटा ग्रहमाथि त रावणले अधिकार जमाएको थियो । ग्रहहरु आफ्नो अहित हुने गरी बसिदेलान भनेर उनीहरुलाई थुनेर पनि राखेको थियो । मेघनाथ जन्म हुने बेला रावणले ग्रहहरुलाई एघारौं स्थानमा बस्न आदेश दिएको थियो ताकि उसलाई अमरता मिलोस । तर शनि ग्रह भने बाह्रौं ग्रहमा गएर बसे । रावण शनिदेवसँग अत्यन्त क्रोधित भयो । त्यही भएर उसले शनिदेवलाई बन्दी बनायो ।
रावणका दशानन भन्छन् । तर खासमा रावणको दशवटा टाउको नभएर मोतीबाट बनेको नौवटा भ्रम थिए । जुन उसलाई उसको आमाले बरदानमा दिएकी थिइन् । दश टाउको बारेमा अर्को कथा पनि छ । जसमा भगवान शिवलाई प्रशन्न गर्न उसले नौ पटकसम्म आफ्नो टाउको काटेर शिवको चरणमा चढाएको थियो । त्यस्तो तपस्याबाट प्रशन्न भएर शिवले उसलाई दशाननको बरदान दिएका थिए ।
भगवान शिवलाई लंका लैजान चाहन्थ्यो । तर भगवान शिव मानेनन् । अनि उसले कैलास नै उठाएर लैजान खोज्यो । यस्तो देखेपछि शिवले एक खुट्टा कैलाशमा राखिदिए । जसका कारण उसको हातको औला किचियो । त्यस्तो पीडामा उसले फेरि भगवान शिवलाई प्रशन्न पार्न ताण्डव गर्न थाल्यो । शिव ताण्डव देखेर भगवान शिव आश्चर्यमा परे । र शिवले उसको नाम रावण राखिदिएका थिए । जसको अर्थ हुन्थ्यो तेज आवाजमा तेज गतिले नृत्य गर्नु ।