अहंकारी रावणसँग के थियो, के थिएन ?
काठमाडौं । रामायणका रचनाकार बाल्मिकी आफैले रावणलाई महात्मा भनेका छन् । प्रातकालमा लंकामा भगवानको पुजा अर्चना, शंखनाद र वेदको पाठ हुने गरेको त रामायण मै उल्लेख छ । रावण आफै अतुलनीय ज्ञानी र धेरै विद्याको सफल साधक थियो । एक कुशल राजनीतिज्ञ, सेनापति र वास्तुकलामा रावण पारंगत थियो ।
अशोक बाटिका जस्तो विराट बगैचा, नदिहरुमा हालेको पुल उसले आफना प्रजाहरुका लागि दिएको योगदान थियो । अशोक बाटिका नष्ट पार्ने हनुमानले समेत रावणलाई धर्मशास्त्र र अर्थशास्त्रको ज्ञाताको रुपमा चित्रण गरेका थिए । महान शिवभक्त त रावण छ“दै थियो घोर तपस्या गरेर ब्रम्हासंँग पनि उसले बर लिएको थियो । आकाश गामिनी विद्या तथा रुप परिवर्तन गर्ने विद्या उसले प्राप्त गरेको थियो । त्यतै मात्रै होइन अन्य ५५ वटा विद्या प्राप्त गर्न उसले घोर तपस्या गरेको थियो । यस्तो विद्याको प्राप्त गर्ने रावणलाई हराउनु त्रेता युगमा तीन लोकमा कसैले सक्दैन थिए ।
रावणले अंक प्रकाश, इन्द्र जाल, कुमार तन्त्र, प्राकृत कामधेनु, प्राकृत लंकेश्वर, ऋग्वेद भाष्य , रावणीयम संगीत, नाडी परीक्षा, अर्कप्रकाश, उड्डीस तंन्त्र, कामाचाण्डाली, रावण भेट जस्ता कितावको रचना गरेको थियो । रावणले रचना गरेको शिवतांडव स्तोत्र त अहिले पनि भगवान शिवको उपसना गर्ने बेलामा वाचन गरिन्छ । दुराचारी भए पनि रावणले घाइते लक्ष्मणको उपचार गर्ने अनुमति आफना कविराज सुषेणलाइ दिएको थियो ।
रावण छली भएपनि उसले भगवान रामको वनवास खण्डीत नहोस भनेर सीतालाई दरबारमा राखेन । हरण गरेर उसलाई अशोक वाटिकामा राख्यो । त्यति मात्रै होइन सीताको हेरचाहका लागि महिला राक्षस नै खटाएको थियो । रावणले सीतालाई पटक पटक लंकाको महारानी हुने प्रस्ताव राख्थ्यो । तर उसले बल प्रयोग भने कहिले गरेन । सीता हरण अघि शूपर्णखाको नाक कान लक्ष्मणले काटेपछि रावणले तत्काल राम लक्ष्मण र उनका वादर सेनाविरुद्ध हमला गरेन । रामलाई आफनो सेना बनाउन र युद्धको तयारी गर्न समय दियो ।
रावणले लंका बाहेक अंग दिप, मलयद्वीप, वराहद्वीप, शंखद्वीप, कुशद्वीप, यवद्वीप, र आंध्रलय समेत जितेको थियो । त्यस अघि नै उसले सुंवा र बालीद्वीप पनि जितेको थियो । सुंबामा मय दानवसं“ग रावणको परिचय भयो । मयदानवको नगरमा भगवानहरुले विजय पाएका रहेछन् र मयकी पत्नी हेमालाई समेत भगवानहरुले नै लगेको रावणले थाह पायो । रावणको पराक्रमबाट प्रभावित भएर मय दानवले आफनी छोरी मन्दोदरीको विवाह रावणसं“ग गरिदीएको थियो ।
रावणका यी चरित्रहरु सामान्यतः प्रकाशमा आउदैनन । यसो भन्दैमा रावण असल राक्षस थियो भन्ने होइन । व्यक्ति जति नै पराक्रमी, वीर, शक्तिशाली किन नहोस उसमा अहंकार छ भने त्यस्तो व्यक्ति समाप्त हुन्छ । उडने जहाज देखि चन्द्रहास तरवार पनि रावणसंग थियो । कहिले नमर्ने अमृत उसको नाभीमा थियो । उसको वध गर्नु असम्भव प्राय थियो । उसको वधको कारण खासमा भगवान राम थिएनन् । उसको अहंकार नै उसको मृत्युको कारण बन्यो ।