सफलताको कथा

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीका श्रीमान जोसँग सिन्दुर र मंगलसुत्र किन्ने समेत पैसा थिएन

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीका श्रीमान जोसँग सिन्दुर र मंगलसुत्र किन्ने समेत पैसा थिएन

काठमाडौं । पहिलो महिला प्रधानन्यायाधीश बन्न पति दुर्गाप्रसाद सुवेदीको साथ सम्झँदा सुशीला कार्की भावुक बन्छिन् । भन्छिन्, ‘उहाँसँग विवाह नभएको भए अरू कसैको चुलोचौकामै सीमित हुन्थेँ ।’प्रजातन्त्र पुनस्र्थापनापछि राष्ट्रियसभा सदस्यको नियुक्तिका लागि पनि प्रस्ताव आएको थियो । जुन, दुर्गाले नै रोके । तर, ०६५ सालमा सर्वोच्चको न्यायाधीशको प्रस्ताव भने दुर्गाकै कारण स्वीकारिन् । ०७३ मा नेपालको पहिलो महिला प्रधानन्यायाधीशको इतिहास रचिन् । प्रधानन्यायाधीशको रुपमा उतारचढाव भोग्दा दुर्गाले पतिको रूपमा मात्र नभइ सहयोगीको रुपमा आड दिए ।

भ्रष्टाचार लगायतका राष्ट्रिय मुद्दाहरूमा निष्पक्ष फैसला गर्न ढाडस दिए । महाभियोगलाई नियतिको संज्ञा दिंदै धैर्यता सुझाव दिए । विराटनगरकी पहिलो महिला अधिवक्ताको रूपमा नाम कमाइरहेको वेला दुर्गाले उनको सिउँदो रंगाइदिएका थिए । क्षत्री परिवारकी सुशीला आर्थिक रूपमा सम्पन्न र पेसामा स्थापित थिइन् । परिवारले स्वीकार्ला त रु दुर्गा अनुत्तरित हुन्थे । भन्छन्, ‘अन्तरंग साथी कांग्रेस नेतृ शैलजा आचार्यले ‘बिहे प्रस्ताव गर्न’ उत्प्रेरक बनिन् । सुशीलाले सहजै स्वीकारिन् ।’ होटलमा भएको बिहेमा गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारी साक्षी बसे । सुशीलाले ती दिन सम्झिन्, ‘सिन्दुर र मंगलसूत्र म आफैंले ल्याएकी थिएँ । उहाँले लगाइदिनुभयो ।’ छेउमै बसेर मुसुमुसु हाँसिरहेका दुर्गा लजाए ।

विवाहलाई बन्धन भन्ने चलन छ । तर, विवाहपछि सुशीलाको जीवन बन्धनमा परेन । स्वतन्त्र र सम्मानित पेसा भन्दै वकालतमा जम्न दुर्गाले ऊर्जा दिए । पतिको साथ र आफ्नै मिहिनेतले सर्वोच्चको उच्च पदमा पुग्न सफल भइन् । दुर्गाले भान्साको कामदेखि छोराको स्याहारसुसार गर्नेसम्मको गृहस्थी सम्हाले । २५ दिनको छोरा पतिको जिम्मा लगाएर उनी अदालत पुग्थिन् । दिनभरिको थकान लिएर सुशीला घर फर्किन्थिइन् । तनावमुक्त गराउन दुर्गाले कुनै कसर बाँकी राखेनन् ।

पहिला बेफुर्सदी थिइन्, सुशीला । हरेक सुखदुःखमा दरिलो साथ थियो, दुर्गाको । अहिले अवकासपछि फुर्सद मिलेको हो, सुशीलालाई । पहिला पतिले हेरचाह गर्थे । अहिले क्रम उल्टिएको छ । बूढेसकालमा सुशीलाको प्रेमभावले दुर्गालाई छुन्छ । बुवाआमाको सम्बन्धदेखि छोरा प्रशान्त प्रसन्न छन् । प्रशान्तलाई बुवाआमाबीच सामान्य ठाकठुक हुँदा पनि प्रेम जस्तै लाग्छ । विराटनगर पढ्दाका दिनहरू आज पनि सुशीलाको दिमागमा ताजै छन् । उनी तीन कक्षामा भर्ना हुन अविभावकको पछिपछि गएकी थिइन् ।

‘सिन्दुर र मंगलसूत्र म आफैंले ल्याएकी थिएँ। उहाँले लगाइदिनुभयो।’ छेउमै बसेर मुसुमुसु हाँसिरहेका दुर्गा लजाए। विराटनगरको जनता प्राथमिक विद्यालयका भर्ना हुन गएकी उनलाई शिक्षकले सीधै पाँच कक्षामा भर्ना गरिदिए । समयले कैयौं चोला फेर्‍यो । सुशीला झोला बोकेर स्कुल गइरहिन् । जहाँ हेडसर थिए, दुर्गा । अनौठो संयोग थियो, त्यो । आफूभन्दा आठ वर्ष जेठा तिनै हेडसरले आफ्नो सिउँदो रंगाइदेलान् भन्ने सुशीलालाई के थाहा रु कल्पनाबाहिरको परिवेश थियो, त्यो । दुर्गालाई ठ्याक्कै लगनगाँठो कसिएको मिति थाहा छैन । पुलक्क दुर्गाको मुख हेर्दै सुशीला बोलिन, ‘२०४६ साल साउन १३ हो नि ।’ २८ वर्षअघि गाँसिएको त्यो वैवाहिक सम्बन्धले बाहुनको छोरो र क्षत्रीको छोरीबीच जातीय विभेदको जरो हल्लायो । आर्थिक सम्पन्नता र विपन्नताको संकीर्ण सोच पनि बदल्यो ।

धनकुटाको लेफ्टिनेन्ट कर्णेल कर्णवीर कार्कीकी नातिनी थिइन, सुशीला । धनकुटाकै सामान्य किसान परिवारका छोरा हुन, दुर्गा । १३ वर्षको उमेरमा दुर्गा धरान झरे । युवावस्थामा विराटनगरस्थित जनता स्कुलमा पढाउन थाले । विराटनगर झरेकी सुशीला भर्ना हुन जाँदा पहिलो भेट भयो । पढाइमा अब्बल सुशीलाले ‘सर’ को सम्बोधन गर्थिन्, उतिवेला । तर अचेल माया गरेर ‘बुवा’ भन्छिन् । दुर्गाले चाहिँ ‘मुनु’ भनेर सम्बोधन गर्छन् । २९ जेठ ०३० मा विराटनगरबाट काठमाडौंका लागि उडेको ट्विनटर विमान अपहरण भयो ।

३० लाख भारु थियो, विमानमा । दुर्गाले पाइलटको घाँटी समाए । कन्चटमा पेस्तोल तेर्‍स्याए । ‘प्लेन हाइज्याक’ गर्ने यिनै हिरोलाई भारतीय प्रहरीले पक्राउ गरी जेलमा राख्यो । त्यही वेला बनारसमा पढ्न गएकी सुशीला पूणिया जेलमा टुप्लुक्कै पुगिन् । ‘किन यहाँ आउनुभएको रु दुर्गाले माया र भयमिश्रित भावमा प्रश्न गरे ।’ साथीसँग गएकी सुशीला सुस्तरी बोलिन्, ‘घर फर्कंदै थिएँ । भेट्न मन लाग्यो, अनि आएँ ।’दुई वर्षपछि जेलमुक्त भएर दुर्गा विराटनगर आए । ‘विमान अपहरणकारी’लाई कसैले बास दिने रु धेरै दिन बेखर्ची भएर घुमिरहे । एकदिन उनको सामु सहयोगी हात लिएर वकिल सुशीला प्रकट भइन् । केही नगद हातमा थमाएर फनक्क फर्किइन् । उनी गएको बाटो दुर्गाको आँखाले निकै परसम्म पछ्याइरह्यो ।

वकालतको कमाइले सुशीलाले धरानमा घर बनाइन् । सफल दाम्पत्यको रहस्य के हो त रु सुशीला भन्छिन्, ‘मायाप्रेम, सुझबुझसँगै एकले अर्कोलाई पीडा भएको महसुस हुनुपर्छ । कतिपय कुरामा सम्झौता पनि गर्नुपर्छ । विवाद भए छलफल गरेर समाधान गर्न सकिन्छ ।’ दुर्गा भन्छन्, ‘यदि पुनर्जन्म हुन्छ भने म उनीसँगै जीवनयापन होस् भन्ने कामना गर्छु ।’

अन्नपूर्ण टुडे

विशेष