मनोरञ्जन Breaking News

तास खेलेरै श्रीमती भेटेको हुँ, ‘हल्का रमाइलो’ !

दशैं संवाद

तास खेलेरै श्रीमती भेटेको हुँ, ‘हल्का रमाइलो’ !

काठमाडौं । म माछामासु खानेमा नै पर्छु । फिल्म ‘छक्कापञ्जा’ मा जस्तो मासु खाने माग्ने थिएँ वास्ताविक जीवनमा पनि करिब त्यस्तै हुँ । ‘कानको दुई काम, एक समाचार सुन्ने, अर्को चश्मा लगाउने । खसीले दुवै गर्दैन’ भनेर कान पोलेर खाने टाइपको शौखिन छु । तर फिल्ममा जसरी चाहिँ कान काटेर खान्नँ । साथीहरु पनि एक दुईजना बाहेक सबै मज्जैले मासु खान नै छन् । यो वर्षको दशैँ काठमाडौंमा नै मनाउँदै छु । दशैँसँगै फिल्म ‘छक्कापञ्जा २’ पनि आउँदै छ । त्यसको पनि काम चलि नै रहेको छ । 

सानो छँदा दशैँ एकदमै रमाइलो हुन्थ्यो । विशेष गरी त मलाई पिङ खेल्ने र टीका लगाएपछि पाइने दक्षिणामै रमाइलो लाग्थ्यो । टीका लगाउँदा बच्चामा आशिर्वाद भन्दा पनि टीका लगाइदिनेले हातमा कति पैसा बोकेको छ भनेर हेर्ने गर्थें । नोट पनि अलि ठूलो चाहीँ दिए हुन्थ्यो जस्तो लाग्थ्यो । तर, छोरा मान्छे भएको भएर दिँदैनथे । पाँच रुपैयाँ कहिल्ये त एक रुपैयाँ पनि दिन्थे । त्यस्तो भएपछि बुबालाई उठ्नु भनेर त्यहाँबाट भगाइहाल्थें । पैसा धेरै नदिने ठाउँमा टीका लगाउन जान मन लाग्दैन थियो ।

मामाघर गएको भने त्यत्ति धेरै याद छैन । किनभने म सानै छँदा(७ वर्षको हुँदा) आमा बित्नुभयो । त्यसपछि मामा पनि बित्नुभयो । आमापट्टि सबैजना अल्पायुमै बित्नुभयो । त्यसकारण मेरो मामाघरसँग अरुको जस्तो आत्मियता भएन ।

दशैंसँग जोडिएको अर्को रमाइलो किस्सा पनि छ । मेरो बिहे हुनु अघि एक आफन्तकहाँ टीका लगाउन गएको थिएँ । त्यहाँ बसेर तास खेलेको थिएँ । अरुबेला तासमा नजित्ने त्यो दिन भने ग्वाम्मै १ हजार २ सय रुपैयाँ तास खेलेर जिते । पछि म गइसकेपछि त्यही घरमा छोरीको विवाह गर्नुपर्ने रहेछ । मेरा आफन्तलाई त्यो घरका मान्छेले विवाह गर्नुपर्यो केटी खोज्न भनेछन् । त्यसपछि आफन्तले भनेछन्, ‘एउटा केटो छ त विवाह गर्न ।’ को भनेर सोध्दा उनले पनि जवाफ दिएछन्, ‘त्यही अघि तास जित्ने केटो ।’ ससुरालाई पनि मन परेछ । तास जितेरै भएपनि छोरी पाल्छ भनेर मसँग विवाह गरेर पठाए ।

दशैँमा गाउँ जान रमाइलो लाग्छ । गाउँमा अझै पनि मेरी ९० वर्षीय हजुरआमा हुनुहुन्छ । विशेषगरि म गएपछि सबै खुशी हुन्छन् । बुबाले पनि गाउँतिर आएका पाहुनालाई ‘टिभीमा आउँछ नि माग्ने बुढो ? मेरै छोरो हो ।’ भनेर चिनाउँदा मन फुरुंग हुन्छ ।

गाउँमा मेरा बुबाहरुलाई सिमपाखे भनेर चिनिन्छ । मेरा हजुरबुबाको एउटा पाखोमा चिसो खेत भएकाले उहाँलाई सिमपाखे भनेर बोलाउने गर्थे । पछि त्यो नाम मेरा बुबाहरुमा पनि सर्यो । म चाहीँ सिमपाखे माइलोको छोरा परें । यो नामलाई जोगाउन मैले फेसबुकमा सिमपाखे माइलो भनेर फेसबुक आइडी नै खोलेको छु । त्यसमा चाहीँ मैले चिन्ने मान्छेहरु मात्र छन् । गाउँका साथीभाइहरुसँग त्यो आइडीबाट नजिक रहेको छु ।

धेरै मानिसले अहिले दशैँमा पहिलाजस्तो रमाइलो हुँदैन भन्छन् । तर, म भने यसको विरोधी हुँ । अहिले पो ठूलो भइयो । तर, साना रहेका भाइबहिनीलाई त पहिला हामीलाई लागेजस्तै रमाइलो लाग्छ नि । पहिला भन्दा बढि सेवा सुविधा भएर अहिले सजिलो भयो होला । तर, गाउँमा भएका मानिसलाई त अहिले पनि त्यस्तै त हो नि । हामीमा फरक यत्ति हो कि पहिला गाउँमा बस्थ्यौँ अहिले काठमाडौं बस्न थालियो ।

जाँड रक्सी नखाने होइन, खान्छु । तर मलाई रक्सीले नखाओस् भनेर सचेत हुन्छु । ठिक्क खान्छु । म फेरि खाएको बेलामा धेरै रमाइले गर्ने मान्छे हुँ । एकपटक खाएको तालमा दिपकराज गिरीलाई गाली गरें । उहाँ नहुँदा ‘को हो दिपके ? त्यसलाई अहिले मैले जान्या छ भन्ने तर आएपछि भने नरम स्वरमा दाजु हामीले तपाईंकै कुरा गर्दैथ्यौं भन्ने । खाएर त्यस्तो उपद्रो काम भने गरेको छैन । बरु खाएर अरुलाई रमाइलो गराउँछु ।’

Kedar Ghimire

विशेष