दक्षिणाले किनेको बरफ खाँदै रिक्सामा हिँड्दा महारानी हुँ जस्तो लाग्थ्यो
काठमाडौं । जुठो परेकोले यसपालीको दशैँमा टिका लगाउनु हुँदैन । यही भएर बुबालाई पनि यतै (काठमाडौं) बोलाएकी छु । दशैँको सबैभन्दा राम्रो लाग्ने चिज भनेको आशिर्वाद नै हो । अहिले आफू भन्दा ठूलाबडाको आशिर्वाद जति ठूलो केही पनि लाग्दैन । सानो हुँदा दक्षिणासँग मतलव हुन्थ्यो ।
दशैँमा टिका लगाएर पाएको पैसाले चटपटे खाने, पिकनिक जाने, फिल्म हेर्न जाने गरिन्थ्यो । दशैँमा आएको पैसाले बरफ किनेर रिक्सामाथि बसेर खाँदा आफूलाई रानी नै भएको जस्तो लाग्थ्यो । अरुले दशैँको पैसा लुगा किनेर सिध्याउँछन्, भन्छन् । तर, म चाहीँ खानेकुरा र फिल्म हेरेर पैसा खर्च गर्थेँ ।
अहिले त ठूलो भइयो । दशैँमा खर्च लिने भन्दा पनि धेरै त दिनु पर्छ । बुबाले बाँढ्ने दक्षिणा म आफै मिलाइदिन्छु । म मासु खादिनँ । घरमा पनि कसैले खाँदैनन् । दशैँमा अलिअलि वाइन खान्छु । रक्सी खाएर मातेको कुनै त्यस्तो क्षण छैन । त्यस्तो क्षण आउँदा पनि नआओस् । मासु नखानेले के दशैँ मनाउनु पनि भन्छन् तर त्यस्तो होइन । सबैको इच्छाको कुरा हो तर सकभर शाकाहारी नै भएको राम्रो हुन्छ ।
दशैँमा रमाइलो गर्ने क्रममा तास पनि खेल्ने गर्छु । तर, मलाई तास कहिल्यै फाप्दैन । सधैँ हार्ने नै हो । बरु दिपकराज गिरीलाई ताज मज्जैले फाप्छ ।
(कुराकानीमा आधारित)
deepashree