सफलताको कथा

यस्तो छ उद्योग वाणिज्य महासंघकी प्रथम महिला अध्यक्ष भवानी राणाको सफताको सूत्र

यस्तो छ उद्योग वाणिज्य महासंघकी प्रथम महिला अध्यक्ष भवानी राणाको सफताको सूत्र

प्रथम महिलाको पछिल्लो शृंखलामा अर्को नाम थपियो, भवानी राणा । ३० चैत २०७३ मा राणाले इतिहास रच्दै नेपाल उद्योग वाणिज्य महासंघको पहिलो महिला अध्यक्ष बन्ने मौका पाएपछि उनका पति असित शमशेर जबराले ‘आई एम भेरी प्राउड अफ यु’ भनेका थिए ।

जीवनका आरोहअवरोहमा पतिको अनुहार त्यसरी खुशीले धपक्क बलेको भवानीले पहिलो पटक अनुभव गरेकी थिइन् । उनलाई लाग्यो, ‘साँच्चै परिवारका लागि पनि जीवनमै खुशी हुने काम गरिएछ ।’ भन्छिन्, ‘उहाँको आत्मा नै खुशीले गर्वित भएको थियो ।’

भवानीलाई यो सफलता सजिलै आएको थिएन । दुई दशकअघि उद्यमी बन्ने सपनाले यहाँसम्म डो¥याएको हो । सेन्ट मेरिज स्कुलबाट एसएलसी पास गरेकी उनले राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुको एउटा कारण पनि थियो, राजनीतिको विषयमा केही बुझ्नु । यही सोचले उनलाई अगाडि बढायो । जे गरे पनि पहिलो हुनुपर्छ भन्ने थियो । म फेल भए पनि हार्ने मान्छेचाहिँ होइन । फेरि अगाडि बढ्न सक्छु भन्ने क्षमता ममा छ । लिडरसिपको नशाले नै आजको सफलता हात लागेको हो ।’ पढाइ सकेर गार्मेन्ट व्यवसायमा हात हाल्दा उनका धेरै साथी अचम्मित भएका थिए । तर, सफल भइन् । सन् १९९५ मा राणाले साथीसँग मिलेर महिला उद्यमी संघको स्थापना गरिन् । र, उनी उद्योगीको नेता बनिन् । जिल्ला–जिल्लामा महिला उद्यमीलाई सक्रिय बनाउने अगुवाइ गरिन् । संघको शाखा विस्तारकै क्रममा उनी नेपालगन्ज उद्योग वाणिज्य संघको सल्लाहकारमा मनोनित भइन् ।

०६३ सालमा उनी नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा मनोनित भइन् । जसले उनको उचाइमा एउटा इँटा थपियो । उनी महासंघको निर्वाचित पहिलो महिला सदस्य पनि हुन् । उनमा काम गर्न सक्छु भन्ने आत्मविश्वास र क्षमता थियो । केन्द्रमा पुगेको दोस्रो कार्यकालमै उपाध्यक्ष पनि जितिन् । भन्छिन्, ‘नगर उपाध्यक्ष, उपाध्यक्ष र वरिष्ठ उपाध्यक्षमा विजयी हुँदै अध्यक्ष पनि भएँ ।’ त्यसो त, राणाको रोजाइमा विद्यार्थी जीवनदेखि नै व्यवसाय थियो । भारतको लखनउमा पढ्दा उनले साथीहरूसँग मिलेर सामान आयात–निर्यातको अभ्यास गरेकी थिइन् । जुन सामान काठमाडौंंसम्म बेचिन्थ्यो । त्यही अवधिमा साथीहरूसँग काठमाडौंमा महिलाका लत्ताकपडाको प्रदर्शन गरेको उनलाई आज जस्तै लाग्छ ।

०२७ सालमा काठमाडौंको सानेपामा सम्पन्न परिवारमा जन्मेकी राणा आमाको प्रेरणाबाट व्यापार व्यवसायमा लागेको बताउँछिन् । व्यवसायिक घरानासँग विवाह गरेर नेपालगन्ज पुगेपछि उनको व्यवसाय गर्ने सोच झनै मौलायो । ‘आमाले रोपेको विरुवामा सासूले मलजल गर्नुभयो,’ विगत सम्झँदै उनले भनिन्, ‘पतिले काँध थाप्नुभयो ।’राणालाई पहिला भाषण गर्न आउँदैनथ्यो । के बोल्ने होला भन्ने संकोच लाग्थ्यो । उनको भाषणको स्रोता पति हुन्थे । ती दिन सम्झँदै उनी भन्छिन्, ‘म भाषण गर्थेँ । उहाँ मेरो आत्मविश्वास कति छ भनेर हेर्नुहुन्थ्यो । र, सुझाव दिनुहुन्थ्यो । म यहाँसम्म पुग्न उहाँले पूर्ण सहयोग गर्नुभयो ।’
‘मेरो परिवार र सम्पूर्ण उद्योगीको सहयोगबाट सफल भएकी हुँ ।’ उनले सफलताको राज खोलिन्, ‘सानैदेखि नेतृत्व तहमा पुगेर काम गर्ने मेरो सपना थियो । महासंघको नेतृत्व गर्न पाएर साकार भएको छ ।’ उनी अरूलाई छिटो विश्वास गर्नुलाई आफ्नो कमजोरी ठान्छिन् । हिसाब–किताबमा पनि कमजोर ठान्छिन् । उनको सबल पक्ष भनेको जनसम्पर्क हो । ‘म अरूलाई ‘कन्भिन्स’ गर्न सक्छु,’ उनले भनिन् ।

स–सानो कामबाट पाएको सफलता देखेर रमाउने उनका पति असितले नेपालगन्जमा थ्रीस्टार होटल स्नेहा, स्नेहा टुर्स एन्ड ट्राभल, स्नेहा वाटर वेज, स्नेहा सफारीलगायत कम्पनी दिन-प्रतिदिन सफल हुँदै जानुको रहस्य पनि राणाको उचित व्यवस्थापन नै हो । पुख्र्यौली पेसालाई पूर्ण रूपमा सघाउन नसके पनि नीति नियमका कुरा भने मैले हेर्ने गरेकी छु । भन्छिन्, ‘अबको तीन वर्ष महासंघको लागि हो । त्यसैले दैनिक बिजनेस हेर्न भ्याउँदिनँ । यस विषयमा हाम्रो समझदारी भएको छ । अरू व्यवस्थापन भने उहाँले हेर्नुहुन्छ ।’

उनले काठमाडौंमा बसेर फर्चुना अटु मोबिल स्थापना गरेकी छिन् । यसले गाडीका स्पेयर्स पार्ट, ट्याक्टरलगायत व्यापार देशव्यापी रूपमा गर्दै आएको छ । फर्चुना हेल्थ केयर उत्पादनका दुई–तीन महिनाभित्र लन्च हुँदैछ । बैंकमा पनि लगानी छ ।

असित एड्भान्चर र प्राविधिक फिल्डमा विज्ञ हुन् भने उनी सामाजिक क्षेत्रमा । डेढ वर्षको प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्धमा परिणत गरेकी राणा आफूले पाएको सफलताबाट परिवारिक जीवन खुशी भएको बताउँछिन् । नेपाल उद्योग वाणिज्य महासंघको पहिलो महिला अध्यक्ष बनेकी भवानीले जीवनका आरोह–अवरोहमा पतिको अनुहार त्यसरी खुशीले धपक्क बलेको अनुभव गरिन्।  उनलाई लाग्यो, ‘साँच्चै परिवारका लागि पनि जीवनमै खुशी हुने काम गरिएछ ।

अन्नपूर्ण टुडे

विशेष