मनोरञ्जन Breaking News

कौडासँग जोडिएको सन्तोष पन्तको मन रुवाउने कहानी

कौडासँग जोडिएको सन्तोष पन्तको मन रुवाउने कहानी

काठमाडौं । दशैं आउनेबित्तिकै कलाकार सन्तोष पन्तलाई दुईवटा कुराले साह्रै सताउँछ । जेठी छोरी र बाबुको निधनका हृदयविदारक तस्बिर मानसपटलमा छाउँछन् । उनलाई दशैंमा कौडा खेल्दा असाध्यै फाप्छ । तर, कौडा खेल्दा भएका केही अप्रत्याशित घटनाले झल्यास्स वास्ताविकतामा पछारिदिन्छन् उनलाई । त्यसपछि डराउँछन् र दुई तीन हातमै उठेर हिडिहाल्छन् ।

एकपटकको दशैंमा त्यस्तै भयो । उनी कौडा खेल्न बसेका थिए । चौध हात कौडा जिते । अब धेरै नै जितियो भनेर उठेर हिँड्दा एउटा खबर आयो । खबरमा भनियो कि जेठी छोरीको दुर्घटनामा परेर मृत्यु भयो । छोरीको मृत्युको दाग अहिलेसम्म पनि उनको मानसपटलमा आइरहन्छ । २०६३ सालको दशैँमा पनि उनी कौडा खेल्न व्यस्त थिए । तास भन्दा पनि उनलाई कौडामा औधी रुची लाग्छ । त्यस दिन पनि एघार हात जिते । घर फर्कदा बुबाको मृत्युको खबर आयो । एकपछि अर्को गर्दै कौडा खेलेर जितेकै दिन यस्तो घटना हुँदा उनको मनमा कौडाप्रति नराम्रो छाप बस्यो । जसलाई समयको गतिले पनि अझै पुर्न सकेको छैन । त्यसबेलादेखि नै उनी कौडा खेल्न डराउँछन् । भन्छन्, ‘अहिले धेरै खेल्ने गरेको छैन । तर दुई तीन हात खेले पछि डर लाग्छ र खेल्दिनँ ।’

तर, पनि दशैं उनलाई मनपर्ने चाड हो । दशैंमा तिहारसम्ममा दुईवटासम्म खसी र चारवटासम्म हाँस ढाल्छन् उनी । ‘अष्टमीको दिन पूजा गरेर बोका चढाउनुपर्छ । नवमीको दिन गाडी पूजामा चारवटा हाँस पनि चढाइने गरिन्छ । त्यसपछि खसी चाँही म तिहारमा मात्र काट्छु । किनभने श्रीमतीका दाजुभाइ धेरै छन् । तिहारमा सबै बसेर रमाइलो गर्ने गरेका छौं ।’

मदिराबारे बोल्न उनलाई रत्तिभर गाह्रो लाग्दैन । उनले खुलेरै भने, ‘दशैंमा मदिरा सेवन गरिन्छ नि । किन नगर्नु । मलाई सबैभन्दा बढि ह्वीस्की मनपर्छ । तर, ढल्ने गरि भने खान गरेको छैन । गाडी आफैँले हाँक्नुपर्छ । साथीभाइ बसेर खाइन्छ अनि घर फर्किइन्छ ।’ तासमा अहिलेसम्म उनले सबैभन्दा धेरै जितेको भनेको पचास हजार रुपैयाँ हो । ‘मैले धेरै खेल्ने भनेको फलाँस हो । टीकाको दिन मामाससुराको घरमा गएर मज्जैले तास खेलिन्छ ।’ उनले भने ।
दशैंमा विशेषगरि घुमफीरको प्रचलन पनि छ । यो वर्षको योजना सुनाउँदै भने, ‘दशैँको टीकाको भोलिपल्ट सधैँ बुढाबुढी घुम्न गइन्छ । यो वर्ष ताप्लेजुङतिर जाने योजना छ ।’

पाँच वर्षअघि घुम्न गएको समयमा भएको घटनालाई उनी कहिल्यै बिर्सिदैनन् । ‘द्याट वाज माइ अन फगर्टेबल मुमेन्ट अफ दशैं’ भन्दै उनले रमाइलो किस्सा सुनाए,‘ टीकाको भोलिपल्ट श्रीमतीलाई लिएर ककनी जाँदै थिए । ककनीमा मैले चिनेको एकजना शेर्पिनी दिदी हुनुहुन्थ्यो । उहाँकोमा म पहिल्यैदेखि जाने गर्थे । त्यहीबेलामा उनी बाटोमा बसिरहेकी रहिछन् । के भयो भनेर सोधेँं । ‘अस्ति तीन महिनाअघि विवाह भएको बच्चा पाउने छु’ भनिन् । तीनमहिनाअघि विवाह भएको कसरी बच्चा जन्न्माउने ? भनें । उनले भनिन्, ‘सम्बन्ध पहिल्यैदेखि थियो ।’ एकछिन हाँसो गुञ्जियो । विहानैदेखि ट्याक्सी बोलाको आएन भनिन् ।

त्यसपछि आफ्नै गाडीमा हालेर लगेँं । गाडी चलाउँदै थिएँ । रानीपौवामा आइसकेपछि उनी रुन थालिन् । मेरी श्रीमतीले उनलाई गाह्रो भए लामो श्वास लिऊ भन्दै थिइन् । पछि त आखाँ निस्कियो भनेर कराउन थालिन् । एकछिन पछि मेरो गाडीमै बच्चा निस्कियो । बच्चो रोएन । नरोएपछि झन् आत्तिन थालिन् । बच्चाको घाँटीमा साल बेरिएको थियो । तैपनि बच्च नरोएपछि मलाई बलिउड फिल्म ‘थ्रि इडियटस्’ याद आयो । मैले बच्चाको पछाडि हान्न लगाएँ । तैपनि बच्चा रोएन । त्यति गर्दा पनि नभएपनि मुखमा फुक्न लगाएँ । आमाले मुख जोडेर श्वास दिएपछि क्वाँ गरेर बल्ल रुन थाल्यो । त्यसपछि सालनालसहित गाडी लिएर टिचिङ हस्पिटल गयौं । अहिले त्यो बच्चो पाँच वर्षको भइसक्यो । जन्मदिनमा बोलाउँछन् । हामी पनि जाने गर्छौं ।’

 

Santosh Panta

विशेष