मनोरञ्जन

‘धेरै पैसा दिने ठाउँमा टीका लाउन गइयो, नदिनेकहाँ गइएन’

‘धेरै पैसा दिने ठाउँमा टीका लाउन गइयो, नदिनेकहाँ गइएन’

काठमाडौं । सानो छँदा दशैँ एकदमै रमाइलो लाग्थ्यो । किनभने नयाँ लुगा लगाइन्थ्यो, मिठो खान पाइन्थ्यो । शहरमा बस्ने दाजु भाउजु अरु समयमा गाउँ नआएपनि दशैँमा भने आउनुहुन्थ्यो । हाम्रो त परिवार पनि ठूलो । ६ जना दाजुभाइको परिवार भएकाले पनि दशैँमा सबैको भेट हुने हुँदा साह्रै रमाइलो लाग्थ्यो ।

अब पहिले जस्तो परिवेश छैन । पहिले आफ्नो खुसीमा ध्यान हुन्थ्यो । अब छोराछोरीको खुसीमा आफ्नो खुसी बसेको हुन्छ । अहिले मन लागेको खान, मन लागेको लगाउन दशैं आइरहनु पर्दैन मलाई । यसकारण दशैं केही फरक त हुने नै भयो । पहिलाजस्तो नयाँ लुगा लगाउँदा त्यत्ति धेरै उत्साह पनि हुँदैन । अहिलेको सन्दर्भमा दशैँको रमाइलो पक्ष लगाउने र खाने भन्दा पनि परिवारसँग भेट हुनु हो ।

जुवा र तासको मामलामा म सधैँ कमजोर छु । किनभने मलाई तास फाप्दै फाप्दैन । सधैँ हार्ने मात्र हो । तैपनि रमाइलोको लागि दशैँमा नभएर तिहारमा भने खेल्छु । तास खेलेर या रक्सी खाएर घरमा श्रीमतीसँग झगडा गरेको क्षण छैन । किनभने म त्यस्तो दुःख दिने काम गर्र्दै गर्दिनँ ।

म शाकाहारी होइन । मासु खान्छु तर दशैँको समयमा घरमा काटमार गरेको मन पर्दैन । त्यसरी काट्नु हुँदैन भनेर विरोध गर्ने मानिस पनि हुँ । त्यसकारण घरमा खसी ल्याएर मार हान्ने चलन छैन । खान मन लागेको समयमा सिधै पसलबाट किनेरै ल्याएर खाने हो । घरमा खसी काटेर रगत छत्याछुल्ल बनाएको मन पर्दैन । त्यसकारण दशैँलाई मासु खाने चाडमात्र नबनाऔँ भन्न चाहन्छु ।

दशैँमा पाइने दक्षिणालाई आशिर्वादको रुपमा लिने गर्छु । सानो छँदा पैसा दिनेकहाँ टिका लगाउन गइयो नदिनेकहाँ गइएन । तैपनि छोरा मान्छे भएपछि त धेरै पैशा दिँदैनन् । बच्चा हुँदा दशैँमा टिका लगाएर पाएको पैसा कापी कलममा खर्च हुन्थे । ससुरालीमा ज्वाईलेदक्षिणा धेरै पाउँछन् भन्छन् । पाइन्छ होला तर, म पैसा खोलेर हेर्दिनँ । यसो खर्च गर्दा झिकिन्छ । आफ्नो मान्छेलाई पैसा दिन फेरि दशैँ नै कुर्नुपर्छ भन्ने छैन । जहिल्ये दिएपनि हुन्छ । ससुरालीमा चाहीँ ज्वाईंलाई धेरै पैसा दिएर छोरीलाई थोरै पैसा दिएको मन पर्दैन ।

यो वर्ष त छक्का पञ्जा २ को प्रचारमा व्यस्त भइएकाले दशैँको माहोलले त्यत्ति धेरै छोएको छैन ।

 

विशेष