मनोरञ्जन भिडियो

राजेन्द्र खड्गीको दशैँ, ‘डेढ लाख त सपिङमै सक्किसक्यो’ (भिडियोसहित)

राजेन्द्र खड्गीको दशैँ, ‘डेढ लाख त सपिङमै सक्किसक्यो’ (भिडियोसहित)

काठमाडौं । १५ वर्षको उमेरसम्मको दशैंको बयान गरेर साध्य छैन । आमाले लुगा सिलाउन लगाएर ल्याइदिनुहुन्थ्यो । ट्रायल गर्दा लुगा लगाएपछि त्यो लुगा खोल्न नै मन नलाग्ने । सानोमा आमाले फिनायल हालेर राखेको लुगाको बाकस खालेर सधैँ त्यो लुगा छुने गर्थें

अहिले त परिवेश नै फरक भयो । तैपनि अहिले फरक किसिमको रमाइलो छ । तर, त्योबेलाकोजस्तो खुशी छैन । सधैँजसो लुगा किनिरहेकै हुन्छु । पहिला पो लुगा लगाउन पनि दशैं नै कुर्नुपथ्र्यो । टीका लगाएर निधारमा पैसा टाँसिदिन्थे । खस्नु हुँदैन भन्थे । त्यो पैसा कहिले खस्छ र लंगुर बुर्जा खेल्न जाऊँ जस्तो हुन्थ्यो ।

अहिले दशैंमा भान्जा भान्जीलाई रमाइलो गर्ने वातावरण बनाइदिन्छु । छोराछोरी रमाइलो गरेको देखेर मन खुशी हुन्छ । पहिला पहिला हामीले दशैं मनाएको हेरेर बुबा खुशी हुनुहुन्थ्यो । अहिले त्यो महसुस आफूमा हुन्छ । तिहारमा जल शाहले पनि टीका लगाइदिन्थिन् पहिला । अहिले त विदेशमा छिन् ।

जिन्दगीमा धेरै राँगा ढालें । चार पाँच हजार जति राँगा मारेको भएर अहिले ३५ वर्षसम्म जनावर मारेको छैन । त्यसको गुन चारवटा कुकुर पालेर ऋण तिरिरहेको छु । मासु त खान्छु तर बाहिरबाटै ल्याएर खान्छु । घरमा मासु नल्याइ कसैले खाना नै खाँदैन । श्रीमती भने धेरै धर्मात्मा छिन् । धेरै मासु खाँदिनन् । परिवार पनि ठूलो छ । सपिङ गर्नमा मात्र अहिलेसम्म डेढ लाख खर्च भइसक्यो । ऋण काढेरै भएपनि दशंै मानिन्छ ।

मैले भगाएर विवाह गरेको हुँ । ससुरा कडा थिए । तैपनि समय बितेपछि स्वीकार गरे । किनभने मैले पनि बल र परिश्रम लगाएर काम गर्दै गएँ । विवाहको एकवर्षमा ससुराली गएको थिएँ । पहिलो पटक दशैंमा ससुराली जाँदा ५१ रुपैयाँ जति पाएको थिएँ ।

म जाँड रक्सी खान्न । अहिले ५७ वर्ष भएँ । अहिलेसम्म जिन्दगीमा एक दुई बोतल रक्सी खाएँ होला । एक बट्टा चुरोट खाएँ होला । त्यो पनि फिल्म इन्डस्ट्रीमा आउनुभन्दा पहिला हो ।

Rajendra Khadgi

विशेष