मनोरञ्जन भिडियो

कालजयी गीतका यी गायक भन्छन्- यसकारण प्रतिविम्व समुहले निरन्तरता पाउन सकेन (भिडियोसहित)

कालजयी गीतका यी गायक भन्छन्- यसकारण प्रतिविम्व समुहले निरन्तरता पाउन सकेन (भिडियोसहित)

पुण्यम प्रधान

गायक

कुनै समय ‘प्रतिविम्व’ ब्यान्ड भनेपछि हुरुक्कै हुने स्रोताहरु धेरै थिए । त्यसबेला अहिलेको जस्तो सञ्चारमाध्यमको विकास भएको थिएन । गीत सुन्ने, सुनाउने माध्यम थियो रेडियो नेपाल र नेपाल टेलिभिजन मात्र । तर, रेडियोको तुलनामा नेपाल टेलिभिजनमा खासै गीत बज्दैनथ्यो ।

सन १९९० को दशकको कुरा हो । गीत संगीतलाई माया गर्ने युवाहरु एउटा व्यान्ड खोल्ने निष्कर्षमा पुगे । नाम राखियो, प्रतिविम्व । प्रतिविम्वमा थिए, राजु सिंह, पुण्यम प्रधान, सुदीप रिजाल, नवीन श्रेष्ठ, पवनराज भण्डारीलगायत । सिंह, प्रधान र रिजाल संगीत भर्ने र गीत गाउने गर्थे भने श्रेष्ठ र भण्डारी गीत लेख्थे । करिब ६ वर्षको अवधिमा यो समुहले चार ओटा एल्बम निकाल्यो । एल्बमका अधिकाँश गीत सफल भए । त्यसमध्येको एउटा गीत हो, ‘कहाँ तिम्रो मायालुलाई छाडेर राख्यौ....।’ यो कालजयी गीतको चर्चा अहिले पनि त्यति नै छ । छोटै समयमा यो समुह स्रोताको मन जित्न सफल भयो । प्रतिविम्वले जतिओटा गीतहरु बजारमा ल्यायो, अधिकाँश चर्चित भए । अधिकाँश गीतलाई स्रोताले माया गरे, मन पराए । जनजिब्रोमा झुन्डिन सफल भयो ।

तर, दुःखको कुरा, स्रोताहरुको दिलमा बसेको यो प्रतिविम्व समुहले निरन्तरता पाउन सकेन ।

करिब ६ वर्षपछि प्रतिविम्व प्रतिविम्वको नाममा अडिन सकेन । स्रोताहरुको माया, ममता र विश्वास पाइरहेको अवस्थामा व्यान्डमा आबद्ध व्यक्तिहरुले यसलाई निरन्तरता दिन सकेनन् । कारण थियो, आ आफ्नै व्यस्तता । गीत संगीतबाट मात्र जीविकोपार्जन गर्न नसकिने अवस्थाका कारण व्यान्डलाई उनीहरुले निरन्तरता दिन सकेनन् । गायक प्रधान भन्छन्, प्रतिविम्वका गीतहरुले त्यसबेला धेरै नै चर्चा पाएको थियो, मन मुटुमा बसेको थियो प्रतिविम्व । हाम्रै व्यस्तताका कारण त्यसलाई निरन्तरता दिन सकेनौं । हामीबीच कुनै असमझदारी पनि थिएन । रहरले जन्म्यो प्रतिविम्व, हाम्रै व्यस्तताले ओझेलमा पयो प्रतिविम्व ।

गुमनामजस्तै भएको ‘प्रतिविम्व’ ब्याण्डको नाम अहिले मानिसको मुखमा खासै झुन्डिदैन । तर, यस्तो हुँदा आफूलाई कत्ति पनि खल्लो नलाग्ने बताउँदै उनले भने, ‘समयसँगै हामीले त्यसलाई निरन्तरता दिन पनि सकेनौँ । आफैँले वास्ता नगर्दा मानिसको मुखमा नझुन्डिदा खल्लो मान्नुपर्ने कारण पनि छैन ।

मीठो स्वर र सरल व्यवहारका धनी प्रधान परिवारको जिम्मेवारीबोधसँगै विदेश गए । तर पनि गीत संगीतलाई उनले बिर्सेनन् । बिदेशमा पनि उनलाई संगीतको भोकले सताइरहन्थ्यो । त्यस्तो बेला गिटार निकालेर गीत गुनगुनाउँथे उनी । विदेशमै हुँदा उनले योजना बुन्न थाले, ‘नेपाल गएर संगीतमा केही त पक्कै गर्छु ।’ वर्षौको विदेश बसाइपछि हाल नेपाल आएका पुण्यम अहिले गीत रेकर्ड गराउनमा व्यस्त छन् । यहाँ आएर उनले लगभग पाँचवटा गीत रेकर्ड पनि गराइसकेका छन् ।

संगीतमा सुरुको दिनमा सघर्ष गर्दाका दिन सम्झिदै उनी भन्छन्, ‘रातभरि बसेर काम गथ्र्यौ । एक कप चियाको भरमा बसेर काम गरेका पनि धेरै सम्झना छन् ।’

तर अहिले संगीतले ठूलै फड्को मारेको बताउँछन् उनी । भन्छन्, ‘पहिला सिक्ने माध्यम पनि थिएन । अहिलेका भाइबहिनीहरु हामी भन्दा धेरै माथि छन् । उनीहरुमा भएको आत्मविश्वास दृढ छ ।’

समयको अन्तरालसँगै संगीत क्षेत्रमा विकृति पनि उत्तिकै आएको भन्ने कुरालाई पनि उनले स्वीकार गरे । आफूले काम गर्दा सेन्सरको डरले पनि शब्द छनौट गर्दा साधारण छनोट हुने गरेको उनले बताए । तर, अहिलेको गीतमा पनि त्यति विकृति आएको जस्तो नलाग्ने उनले बताए । यसबारेमा प्रष्ट पार्दै उनले भने, ‘अहिलेका गायकहरुले नयाँ स्वाद दिन खोजी रहेका छन् जुन राम्रो कुरा हो । किनभने सधैँ एउटै धारको गीत सुन्दा मान्छेमा मोनोटोनस हुन्छ ।’ तर, पहिलाका जस्ता सदाबहार गीतहरु भने अहिले खासै आउन सकेनन् । प्रविधि बढ्दै गएसँगै विकृतिहरु पनि सँगै आइरहेका छन् ।’

हाल उनी नयाँ गीत लिएर नेपाली संगीत क्षेत्रमा फेरि कमब्याक हुँदैछन् । अहिलेको पुस्ताले पनि मन पराउने किसिमको गीत गाउनु आफैँमा चुनौतीपूर्ण भएको उनी बताउँछन् । तर, आफू विश्वस्त रहेको बताउँदै उनले भने, ‘अहिलेका दर्शक भनेका नयाँ पुस्ताका हुन् । सबैलाई अहिलेका नयाँ गीतमात्र मन पर्छ भन्ने छैन । अहिलेका पुस्ताले पनि पुराना गीतहरु मन पराउँछन् । मात्र त्यो गीतको स्वर र शब्दमा दम हुनुपर्छ ।’
 
 

Punyam Pradhan

विशेष