अस्पतालमा रहँदा स्वास्थ्यमन्त्रीले जे देखे !
स्वास्थ्यमन्त्रीलाई यसरी लाग्यो स्वाइन फ्लु !
–कञ्चन न्यौपाने
स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल स्वाइन फ्लुबाट संक्रमित भएपछि हप्ता दिन देशकै सबैभन्दा जेठो बीर अस्पतालमा बसे । छिस्स केही भइहाले कम्तिमा पनि दिल्ली धाइहाल्ने प्रवृत्ति बढेका बेला उनको बीर बसाइले प्रशंसा बटुलेको छ । सँगै, मन्त्री स्वंयले सरकारी अस्पतालको अवश्थालाई नजिकबाट नियाल्ने मौका पाएका छन् । स्वास्थ्यमन्त्रीले सरकारी अस्पतालमै उपचार गराएर सकारात्मक सन्देश दिएका छन् नै, स्वास्थ्यमन्त्रीका रुपमा थप केही गर्ने अठोट पनि लिएका छन् ।
सामान्य व्यक्ति बिरामी भएर अस्पताल जाँदा जस्तो उनले कुनै झन्झट बेहोर्न परेन । लाइन बस्ने कुरै भएन । पालो पर्खन पनि परेन । यदाकदा सुनिने डाक्टर र नर्सको झर्कोफर्को व्यवहारपनि उनले खेप्न परेन । डुङडुङ्ती गनाउने चर्पी, त्यसमाथि पानीसमेत नहुने अवस्था उनले झेल्नुपरेन । सबै सुविधा उपलब्ध भएको कक्षमा उनको उपचार जो भएको थियो । तर, अस्पताल बसाइका क्रममा स्वास्थ्यमन्त्रीले आफ्नो कक्षको चौघेराभन्दा बाहिरको अवस्था पनि बुझ्ने यत्न गरे । भन्छन्, ‘नयाँ अनुभव लिएर फर्कदै छु ।’
वीर अस्पतालको व्यवस्थापकीय पक्ष कमजोर रहेको स्वास्थ्यमन्त्रीको अनुभव छ । कुशल व्यवस्थापनको अभावमा अस्पतालजस्तो संवेदनशील ठाउँमा समेत सरसफाइको अभाव रहेको उनले देखे, सुने । उनले शैयामा रहँदै अस्पताल नेतृत्वलाई भने–सरसफाइ पुगेन, यस्तो पाराले चल्दैन ।
जसरी उनले स्वास्थमन्त्रीको हैसियतमा सजिलै स्वास्थ सेवा पाए । त्यो सेवा आम जनताका लागि सहज छैन । कतिपय रोगको उपचारका लागि महिनौँ कुर्नुपर्ने, भर्ना हुनकै लागि सोर्सफोर्स लाउनुपर्ने अवस्थामा राम्रा भनिएका सरकारी अस्पताल छन् । अस्पताल बसाइले उनलाई यो समस्या हल गर्नका लागि थप झक्झकाएको उनको अनुभव छ । ‘अस्पताल व्यवस्थापनले यसबारेमा ठोस कदम चाल्ने विश्वास मैले लिएको छु । यसबारेमा उहाँहरुसँग यहीं हुँदै मैले कुरा गरेको छु ।’ स्वास्थ्यमन्त्री पोखरेलले भने ।
स्वास्थ्यमन्त्रीलाई यसरी लाग्यो स्वाइन फ्लु !
स्वाइन फ्लु नियन्त्रणका लागि सरकारले गरिरहेको प्रयत्नका बारेमा संसदमा बोलेको केही दिन नबित्दै स्वास्थ्यमन्त्री आफैँ सोको शिकार भएको खबर बाहिरिएपछि केहीले यसबारे ठट्टा पनि गरे ।
आफ्नो दौडधुप नै स्वाइन फ्लुको कारण रहेको मन्त्री पोखरेलको निचोड छ । महोत्तरीबाट निर्वाचित पोखरेल बाढी प्रभावित दुई नम्बर प्रदेशमा स्वास्थ्य शिविर लिएर आफैँ पुगेका थिए । स्वास्थ्य शिविरको खटनपटनदेखि बाढी प्रभावितको पुर्नस्थापनामा उनी लगातार पाँच दिन उतै रहे ।
काठमाडौँ फर्किएपछि पोखरेलले थकान महशुस गरे । टाउको दुख्न थाल्यो । मौसमको फेरबदल र दौडधुपले होला भन्दै तत्काल उनी उपचारमा लागेनन् । खोकी लाग्न थाल्यो, जिउ गल्ने, दुख्ने हुन थाल्यो । भोलिपल्ट उनले ‘के भएछ हेरौँ न त’ को पारामा रगत परीक्षण गराए । टाइफाइड देखियो । एक्सरे गर्दा निमोनिया देखियो । त्यसपछि उनी बीरमा भर्ना भए । स्वाइन स्वाइन फ्लुबाट पनि संक्रमित भएको पत्ता लाग्यो । हप्ता दिनको निरन्तरको उपचारपछि उनी स्वाइन स्वाइन फ्लुको संक्रमणबाट मुक्त भएका छन् ।
स्वाइन फ्लुबाट बच्ने टिप्स !
स्याङ्जा, कास्कीलगायतका ठाउँमा स्वाइन फ्लु देखिएपछि उनले संसदको रुपमा सो बारेमा सरकारको ध्यानाकर्षण गराएका थिए । पूर्वस्वास्थ्यमन्त्रीका रुपमा स्वास्थ्यसम्बन्धी उनको चासो बढी हुनु स्वभाविकै थियो । मन्त्री भएपछि स्वाइन फ्लुले उनलाई आक्रमण गर्यो ।
मन्त्री पोखरेलको अनुभवमा स्वाइन फ्लुले व्यक्तिको पदीय शक्ति हेर्दैन । यसले हेर्छ त इम्युन सिस्टम । रोग प्रतिरोधात्मक क्षमता कम भएको व्यक्तिलाई स्वाइन फ्लुको जोखिम बढी हुने गर्दछ । पोखरेल भन्छन्, ‘स्वाइन फ्लु सामान्य रोग हो । हाम्रै सामान्य अस्पतालमा यसको सजिलै उपचार हुन सक्छ । अत्यन्तै धेरै बाढी प्रभावित जनताको बीचमा गएको कारणले गर्दा यसको नकारात्मक लक्षण ममाथि पर्न आयो । मैले उपचार गरेर पनि देखाए ।’
बेलैमा परीक्षण गर्दा रोगसँग लड्न सहज हुने उनको सुझाव छ । उनले सातवटै प्रदेशमा उच्च क्षमताका प्रयोगशाला स्थापना गर्ने उद्देश्य लिएका छन् ।
स्वाइन फ्लुबाट बच्न सर्वप्रथम त समयमा नै लक्षण देखिएमा प्रयोगशालामा सम्पर्क राख्न सुझाउँछन् उनी । जनचेतना फैलाउनुपर्ने बताउँदै नेपालमा प्रयोगशालाहरुलाई पनि बढाउनुपर्ने र सातैवटा प्रदेशमा प्रयोगशालालाई विस्तार गर्ने योजना भएको उनले बताए । सबै अस्पतालहरुमा यसको उपचार हुने सहज वातावरण बनाउनुपर्नेमा उनले जोड दिए ।