समाज

पाटन दरबार स्क्वायरको पार्किङ नै अवैध, उठेको रकममा अध्यक्ष शाक्यको मनपरी

पाटन दरबार स्क्वायरको पार्किङ नै अवैध, उठेको रकममा अध्यक्ष शाक्यको मनपरी

काठमाडौं । ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्रभित्र लामो समयदेखि अवैधरुपमा सवारी पार्किङ सञ्चालन गरिँदै आएको छ । अवैध पार्किङका कारण दरबार स्क्वायर क्षेत्रको सौन्दर्य मात्र बिग्रेको छैन, यात्रुले पनि हिड्दाखेरी असहज महसुस गर्नु परिरहेको छ । अवैध पार्किङ हटाउन स्थानीयबासीले जोडबल गरिरहेको भएपनि आर्थिक प्रलोभनमा परेर वडा कार्यालयका प्रतिनिधिहरु कानमा तेल हालेर बसिरहेका छन् ।

पुरातात्विक सम्पदा र पर्यटकीय स्थलका रुपमा चिनिने पाटन दरबार स्क्वायर क्षेत्रनजिकै रहेको कोट र हक टोलमा पार्किङ सञ्चालन गरिएको हो । पार्किङ सञ्चालन गर्न चुल्ठे मुन्द्रे प्रयोग गरिँदै आएको छ । जसले गर्दा पार्किङका नाममा असहजता देखिएपनि सर्वसाधारण कोही बोल्न सक्दैनन् । पार्किङ तलेजु मन्दिर परिसरको ढोका नजिक छ, जसले गर्दा पर्यटक र भक्तजनहरुलाई पनि ठूलै समस्या परेको देखिन्छ ।

स्थानीय वासिन्दाका अनुसार, पार्किङबाट दैनिक हजारौं रुपैयाँ उठ्दै आएको छ । टोल सुधार समितिका नाममा पार्किङ सञ्चालन गरिँदै आएको भएपनि त्यसबाट उठेको रकममा टोल सुधार समितिका अध्यक्ष सारन शाक्यले मनपरी गर्दै आइरहेका छन् । ‘पार्किङबाट दैनिक हजारौं रुपैयाँ उठ्दै आएको छ, तर त्यो पैसा कहाँ जान्छ, के गरिन्छ कसैलाई जानकारी गराइँदैन, वडा कार्यालयका कर्मचारी र जनप्रतिनिधिको आडमा उपाध्यक्ष बज्राचार्यले ठूलो रकम दुरुपयोग गर्दै आइरहेका छन्,’ एक जना स्थानीयवासीले भने ।

टोल सुधार समितिमा अहिले १३ जना सदस्य छन् । समितिमा १३ सदस्य भएपनि अध्यक्ष बज्राचार्यले उठेको रकमको पारदर्शिताबारे अन्यलाई जानकारी गराएका छैनन् । शक्तिको आडमा उनले मनपरी गर्दै आएका छन् । टोल सुधार समितिका अध्यक्ष शाक्य भने पार्किङबाट उठेको रकममा कुनै अनियमितता नभएको दाबी गर्छन् । ‘हामीले रिसिप्ट काटेरै रकम उठाइरहेका छौं, हिसाव किताव पारदर्शी छ, हामीले कुनै अनियमितता गरेका छैनौं,’ शाक्य भन्छन्, ‘खर्च कटाएर बचेको रकम हामीले टोल सुधारमा खर्च गरिरहेका छौं ।’ तर स्थानीय वासिन्दा भने टोल सुधार समितिले केही काम नै नगरेको दाबी गर्छन् । ‘टोल सुधार समितिले पार्किङका नाममा दैनिक हजारौं रुपैयाँ उठाइरहेको छ, सो रकम उनीहरु बाँडीचुँडी खान्छन्, विकास केही गरेको थाहा छैन ।’

स्रोतका अनुसार, टोल सुधार समितिले त्यहाँ पार्किङ सञ्चालन गरेको भएपनि ललितपुर महानगरपालिकाले कुनै स्वीकृति दिएको छैन । तर टोल सुधार समितिले त्यहाँका प्रतिनिधि र कर्मचारीलाई मासिक रुपमा ठूलै रकम बुझाउने गरेका छन् । जसले गर्दा उनीहरु च्प लागेर बसिरहेका छन् ।

त्यहाँ रहेको पार्किङ बालकुमारी प्रहरी बिट नजिकको क्षेत्रमा सार्नुपर्ने स्थानीयको माग छ । ‘त्यहाँ जग्गा पनि प्रशस्त छ, त्यहाँ सार्दा राम्रो हुन्छ,’ एक स्थानीयले भने ।

Parking

विशेष