कालीमाटीमा भारी बोकेका व्यक्तिले लेख्दैछन् गिनिज बुकमा नाम (भिडियोसहित)
काठमाडौं । उनी एउटा खुट्टा काँधमा हालेर मोटरसाइकल कुदाउँछन् । यसरी मोटरसाइकल कुदाउनु सहज पक्कै छैन । तर उनी यसरी नै मोटरसाइकल कुदाउन माहिर छन् । एक रात उनले काँधमा एउटा खुट्टा राखेर मोटरसाइकल चलाएको सपना देखे । सपनामै उनले वाहवाही बटुले । सबैले उनको सामथ्र्यको कदर गरे । तर जब उनी बिउँझिए, त्यो त सपना मात्रै थियो ।
सपना नै किन नहोस्, यसलाई सार्थक तुल्याउने लक्ष्य लिए उनले । त्यसपछि प्रयास थाले । आखिर उनी सफल पनि भए ।
उनी हुन् उदयपुरका मनिष श्रेष्ठ । उनमा यस्तो प्रतिभा छ कि जो कोही छक्क पर्छन् । एउटा खुट्टा काँधमा राखेर मोटरसाइकल चढ्ने व्यक्तिमा उनले गिनिज बुकमा नाम लेखाउने प्रयत्न गरिरहेका छन् ।
यसरी भयो निन्द्राको सपना साकार
काँधमा खुट्टा राख्न सिक्नै उनलाई दुई वर्ष लाग्यो । त्यसपछि एक दुईजना भाइहर लिएर उनी च्यासल पुगे । त्यहाँको चउरमा उनी अरुलाई अघिपछि समात्न लगाएर त्यसरी नै बाइक चलाउन सिक्न थाले । एक दिन त बाइक एकातिर आफू खोलातिर खसेपछि अब त गर्दिन जस्तो पनि लाग्यो उनलाई । तर, मनले मानेन, भोलीपल्टबाट फेरि त्यही गर्न थाले । विस्तारै विस्तारै पाँच किलोमिटरसम्म हाँक्न सक्ने भएपछि उनले वल्र्ड रेकर्डमा आफ्नो नाम राख्ने प्रयास थाले ।
नामअनुसारको काम
मनिष सानैदेखि चकचके थिए । केही न केही उट्पट्याङ काम त उनलाई गरिहाल्नुपर्ने । अरु बच्चा चकचके भएर पछि सुध्रिन्छन् । तर मनिषले ठूलो भएपछि त्यही चकचकेपनलाई पेसा बनाए ।
अहिले उनी त्यही चकचकेपनबाटै आफ्नो नाम कमाइरहेका छन् । उनले एक खुट्टा काँधमा राखेर मोटरसाइकल चलाउँदा सबै तीनछक्क परेर हेर्न आउँछन् । हेर्नेहरुको भीड नै लाग्छ ।
बाबुआमाको डाक्टरी सपना
मनिषका बाबुआमा उनलाई धेरै पढाएर डाक्टर बनाउन चाहन्थे । तर, उनको इच्छा अन्तै थियो । सानैदेखि नाच्न र गाउन भनेपछि हुरुक्कै हुन्थे उनी । उनको सपना थियो कलाकार बन्ने । कलाकार बन्ने सपना बोकेर उनी काठमाडौंसम्म आए ।
काठमाडौंको संघर्ष
तर, काठमाडौंजस्तो ठाएँमा टिक्न गाह्रो थियो । सुरुवाती दिनमा उनले धेरै दुःख गरे । उनी दुई छाक टार्नकै लागि कालीमाटीको तरकारी बजारमा भारी पनि बोक्ने गर्थे । साथीहरु हुनेखाने थिए । बाइक लिएर आउँथे । उनीहरुको अगाडि हिड्दा उनी पनि टिपटप परेर हिड्थे । तर, एक दिन साथीहरुले आफूले गर्ने काम देखे । उनलाई नराम्रो लाग्यो । त्यसपछि त उनले भारी बोक्ने काम छाड्नसम्म खोजे ।
मनिषले आफ्नो कलाकार बन्ने इच्छा अहिले लगभग पूरा गरिसकेका छन् । उनले भारतमा बसेर नृत्यमा डिग्री गरिसकेको पनि बताए । उनले हर्के हवल्दार, ट्वाक्क टुक्कजस्ता चलचित्रमा काम गरिसके । १५, २० वटा गीत रेकर्ड गराइसकेका मनिष अब एउटा खुट्टा काँधमै राखेर सगरमाथा चढ्ने चाहना भएको बताउँछन् । यसका लागि उनले विशेष तालिम पनि लिइरहेका छन् ।
Manish Shrestha