खेल

साउदी अरेबिया र दक्षिण कोरिया विश्वकपको लागि छनौट

साउदी अरेबिया र दक्षिण कोरिया विश्वकपको लागि छनौट

आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि साउदी अरेबिया र दक्षिण कोरिया छनौट भएका छन् ।

विश्वकप २०१८ को छनौटमा एसिया क्षेत्र अन्तर्गत मंगलबार राति भएका खेलमा जित निकाल्दै साउदी अरेबिया र दक्षिण कोरियाले विश्वकपमा आफ्नो स्थान पक्का गरेका हुन् ।

यो सँगै एसियाबाट सिधै छनौट हुने चार टोलीको टुंगो लागेको छ । यसअघि जापान र इरानले विश्वकपमा स्थान बनाइसकेका छन् । समूह ‘बी’ मा रहेको साउदी अरेबियाले जापानलाई १–० ले पराजित गर्दै विश्वकपमा स्थान पक्का गरेको हो । त्यस्तै समूह ‘ए’मा रहेको दक्षिण कोरिया उज्वेकिस्तानसँग गोलरहित बराबरीमा रोकिए पनि १० खेलबाट १५ अंकसहित विश्वकपका लागि छनौट भएको हो ।

साउदी अरेबियाको १० खेलबाट १९ अंक भएको छ । जापानको २० अंक छ ।

साउदी अरेबिया पाँचौं पटक विश्वकपका लागि छनौट भएको हो । यसअघि सन् १९९४, १९९८, २००२ र २००६ मा छनौट भएको थियो ।

यस्तै इरानले सिरियासँग २–२ को बराबरी खेलेको छ । अर्को खेलमा अस्ट्रेलियाले थाइल्याण्डलाई २–१ ले हराएको छ । अब अस्ट्रेलिया र सिरियाले एसिया क्षेत्रको प्लेअफ खेल खेल्ने छन् । दुई लेगमा हुने खेल जित्नेले विश्वकपमा स्थान बनाउने छ ।

अहिलेसम्म सबै क्षेत्रबाट गरी ८ देश विश्वकपका लागि छनौट भएका छन् । यसमा साउदी अरेबिया, दक्षिण कोरिया, इरान, जापान, रुस, बेल्जियम, ब्राजिल र मेक्सिको छन् ।

Worldcup Football

विशेष