Technology

एक वर्षमा २ खर्बको इन्टरनेट चलाए नेपालीले

एक वर्षमा २ खर्बको इन्टरनेट चलाए नेपालीले

काठमाडौं । नेपालले एक वर्षको अवधिमा करिब दुई खर्ब रुपियाँ बराबरको इन्टरनेट खरिद गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार गत वर्ष एक अर्ब ९१ करोड ४० लाख रुपियाँ बराबरको ‘इन्टरनेट ब्याण्डविथ’ खरिद गरेको हो । २०७२ मा नेपालले एक अर्ब ७४ करोड ७७ लाख रुपैयाँ बराबरको इन्टरनेट खरिद गरेको थियो । विदेशबाट ‘ब्याण्डविथ’ आयात गरेर नेपालका इन्टरनेट सेवा प्रदायकले इन्टरनेट सुविधा उपलब्ध गराउँछन् । यसरी ब्याण्डविथ आयात गर्दा प्राधिकरणबाट अनुमति लिनुपर्ने व्यवस्था छ ।

प्राधिकरणले अनुमति प्राप्त सेवा प्रदायकलाई विदेशबाट ‘ब्याण्डविथ’ आयात गर्न आवश्यक विदेशी मुद्रा सटहीको लागि नेपाल राष्ट्र बैङ्कलाई सिफारिस गर्छ । यसमा सेवा शुल्क पनि जोडिएको हुन्छ । नेपालले अहिले भारतबाट मात्र इन्टरनेट खरिद गर्दैआएको छ । भारतीय करियर ब्याण्डविथ प्रदायकले सिङ्गापुरबाट आयात गरिएको इन्टरनेट नेपाललाई बिक्री गर्छन् ।

यसअघि प्रतिएमबी ४० डलरमा इन्टरनेट ब्याण्डविथ खरिद हुँदै आएकोमा यसको मूल्य अहिले औसत १५ डलरमा घटेको प्राधिकरणले जनाएको छ । नेपालका इन्टरनेट सेवा प्रदायकका लागि अहिले इन्टरनेट आम्दानीको महत्त्वपूर्ण स्रोत बनेको छ ।

विशेषगरी सामाजिक सञ्जालको लोकप्रियता र इन्टरनेटमा आधारित ‘कन्टेन्ट’को प्रयोग बढ्न थालेपछि सेवा प्रदायकले प्याकेजमा इन्टरनेट सुविधा उपलब्ध गराउँदैआएका छन् ।

हाल नेपालमा मोबाइलमा आधारित चौथोपुस्ताको फोरजी इन्टरनेटदेखि अप्टिकल फाइबर, ल्याण्डलाइनमा आधारित एडीएसएल, वाइम्याक्स, इभीडीओ लगायत प्रविधिमार्फत इन्टरनेट सुविधा सेवा प्रदायकले प्रदान गरेका छन् ।

सरकारले पनि देशैभर ब्रोडब्यान्ड इन्टरनेट विस्तार गर्न अप्टिकल फाइबर बिछ्याउने कामलाई गति दिएको छ । प्राधिकरणका अनुसार हाल नेपालको कुल जनसङ्ख्याको ५८.७२ प्रतिशत जनता इन्टरनेटको पहुँचमा छन् । यसमध्य अधिकांशले मोबाइलबाटै इन्टरनेट प्रयोग गर्ने तथ्याङ्क छ ।

कान्तिपुर

विशेष