खेल

पल्सर स्पोर्टस् अवार्डको तयारी पुरा

पल्सर स्पोर्टस् अवार्डको तयारी पुरा

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्डको १४ औं संस्करणको तयारी पुरा भएको छ ।

भदौ २६ गते राजधानीमा हुने कार्यक्रममा विभिन्न आठ विधामा खेलकर्मी सम्मानित हुनेछन् । शनिबार नेपाल खेलकुद पत्रकार मञ्चले पत्रकार सम्मेलन गर्दै अवार्डको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।

कार्यक्रमको सबै तयारी पुरा भएको र सोमबार कार्यक्रम भव्यरुपमा सम्पन्न हुने मञ्चका अध्यक्ष महेश आचार्यले बताए । लाइफटाइम एचिभमेन्ट अवार्ड, विशेष पुरस्कार र उत्कृष्ट पारा खेलाडीबाहेक पाँच विधा (पुरुष, महिला, युवा, प्रशिक्षक र जनताको रोजाई) मा अवार्डका लागि मनोनयनमा परेका पाँच–पाँच जनाले एक अर्काविरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।
लाइफटाइम एचिभमेन्ट, विशेष पुरस्कार र पारामा भने आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले कार्यक्रममै विजेताको घोषणा गर्नेछ ।

वर्ष २०७३ मा गरेको प्रदर्शनका आधारमा गरिएको मनोनयनमा पुरुष खेलाडीतर्फ राष्ट्रिय फुटबल टोलीका किरण चेम्जोङ, क्रिकेटका शरद भेषावकर, ब्याडमिन्टनका रत्नजित तामाङ, भलिबलका मानबहादुर श्रेष्ठ र एथ्लेटिक्सका सोमबहादुर कुमाल परेका छन् ।

त्यस्तै महिलातर्फ एथ्लेटिक्सकी कान्छीमाया कोजु र सरस्वती भट्टराईसहित फुटबलकी सावित्रा भण्डारी, ब्याटमिन्टनकी नङ्सल तामाङ र आर्चरीकी ज्ञानु अवाले पर्न सफल भएका छन् ।

युवा खेलाडीका लागि क्रिकेटका दिपेन्द्र सिंह ऐरी, फुटबलका अनन्त तामाङ, जुडोकी मनिता श्रेष्ठ, भारोत्तोलनकी कमला श्रेष्ठ तथा भलिबलकी प्रतिभा माली रहेका छन् ।

त्यस्तै प्रशिक्षक विधामा फुटबलबाट ग्योतोकु कोजी र मेघराज केसी, एथलेटिक्सबाट पुष्पराज ओझा, क्रिकेटबाट जगत टमाटा तथा ब्याडमिन्टनबाट किरण थापा रहेका छन् ।

जनताको रोजाईको मनोनयनमा कान्छिमाया र दिपेन्द्रसिहसहित पौडीकी गौरिका सिंह, फुटबलका सुजल श्रेष्ठ र जुडोकी फुपूल्यामु खत्री छन् ।

पिपल्स च्वाइस, पुरुष, महिला र प्रशिक्षक विधाका विजेताले पल्सर मोटरसाइकलसहित विभिन्न उपहारहरू पाउनेछन् भने अन्य चार विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित उपहार प्रदान गरिने छ ।

pulsar sports award

विशेष