पाँच छोरीकी आमाको पीडा : परिवारले श्रीमानलाई अर्काे विवाहका लागि सिफारिस गर्ने डर
बारा । स्थानीय तहको निर्वाचन आउन साता दिन बाँकी रहँदा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिकास्थित जितपुरमा रहेको एक दलित बस्तीकी परमशिलादेवीलाई चुनाव भन्दा छोरा पाउने चिन्ताले सताएको छ । केही दिनअगाडि बाढीले घर बगाउँदा उनी छोरी पाएर ११ दिनकी सुत्केरी थिइन् ।
बाढीले घरमा पानी पसेपछि उनलाई स्थानीयले तत्काल उद्धार गरेका थिए । बाढीले दलित बस्तीका अधिकाँश घर बगाउँदा अहिले उनीहरु नजिकैको एक सामुदायिक विद्यालयमा शरण लिइरहेका छन् । केही दाताले उनीहरुलाई विद्यालयमै पुगेर सामान्य राहत वितरण गरेपनि उनीहरुको उचित व्यवस्थापन अझै हुन सकेको छैन ।
अहिले गाउँका धेरै परिवारको भीडमा परमशिलादेवी पासवान सगोलको जीवन बिताउँछिन् । स्थानीय तहको निर्वाचनले जिल्लाभरी रौनक छाइरहँदा दलितबस्तीकी पासवानलाई भने छोरी पाएकोमा चिन्ता छ ।
परमशिलादेवी तेस्रो पटक गर्भवती हुँदा उनका श्रीमान देवचरणले महागढीमाईमा पाडा चढाउने भाकल राखेका थिए । तर तेश्रो पटक पनि उनले छोरी नै पाइन् । छोरी पाएपछि उनका श्रीमान देवचरण पनि चिन्तित छन् । चौथो पटक परमशिला आफैले छटियामाईको भाकल राखेकी थिइन् । तर फेरी पनि छोरी पाएपछि अहिले उनका ५ छोरी छन् ।
‘अघिल्लो पटक श्रीमानले भाकल गरेका थिए, पूरा नभएपछि यस पटक म आफैले भाकल गरेकी थिएँ, तर छोरी नै भयो,’ परमशिलादेवीले भनिन्, ‘अब के गर्ने भन्नेमा चिन्ता छ, परिवार नियोजन गर्न परिवारले दिँदैनन्, । मलाई अब अर्को बच्चा पाउन मन छैन, तर हाम्रो संस्कारमा एउटा छोरो अनिवार्य चाहिन्छ, नभए परिवारले नै छोरालाई अर्को विवाह गर्न सिफारिस गर्छन् ।’
बस्तीका अधिकाँश परिवारमा सन्तानको संख्या बढी छ । सामान्यतया परिवार नियोजनको चेतना र अस्थायी साधनबारे खासै चेतना नभएका कारण उनीहरु भगवानको भरदान स्वरुप बालबच्चाको भरथेग गर्ने गर्छन् ।