विचार

विद्या शितल निवासमा, जबज रुँदै धुम्बाराहीमा !

विद्या शितल निवासमा, जबज रुँदै धुम्बाराहीमा !

नेकपा एमालेको नवौँ महाधिवेशनमा तत्कालिन एमाले नेतृ विद्या भण्डारीले काँध नथापेको भए केपी ओली सायदै पार्टी अध्यक्ष हुन्थे । भण्डारीले मदन भण्डारीको असल उत्तराधिकारीका रुपमा ओलीलाई अघि सारिन् ।

त्यतिमात्रै होइन माधव नेपाल पक्षलाई जबजमाथि षडयन्त्र गरेको गम्भीर आरोप सार्वजनिकरुपमै लगाइ दिइन् । जबजको विकल्पमा बहश थालेका घनश्याम भुसालको समेत सक्रियतामा नेपालको टिम बनेको विषयले भण्डारीलाई थप सशंकित तुल्याएको मान्न सकिन्थ्यो ।

विद्याको बलमा ओली पार्टी अध्यक्ष भए । ओलीको बलमा बिद्या राष्ट्रपति । राष्ट्रपति भएपछि भण्डारीको राजनीतिक सक्रियता र हस्तक्षेप कम्तिमा पनि देखिने गरी हुन पाएन । भलै, उनले बाम गठबन्धन निर्माण गर्न शितल निवासको छहारीलाई भरमग्दुर प्रयास गरिन् । प्रचण्ड र ओलीको गरमागरम सम्बन्धलाई अनेक प्रयोगमार्फत सितल पार्न शितल निवासमा कैयौँ मञ्चन नभएका होइनन् । नारायणकाजी श्रेष्ठदेखि वामदेब गौतमसम्मलाई राष्ट्रपति भण्डारीले मदनको बृहत कम्युनिष्टको चाहना सुनाउँदै अघि बढ्न प्रेरित नगरेकी होइनन् । प्रचण्डलाई मातृत्वको अनुभूति दिलाउँदै भण्डारीले मदनको चाहना नसुनाएकी होइनन् ।

मदनको विचारलाई विस्तापित गर्ने खतरा भण्डारीले पहिले पनि नदेखेकी होइनन् । मदनको प्रतिमा राखिएको बल्खु कार्यालय जब धुम्बाराहीमा सारियो, भण्डारीलाई चिसो पस्यो । अस्थायी कार्यालय बल्खु परिसरमै बनाउन सकिने उनको बुझाइ थियो । अनेक विवादमा मुछिएका कृपासुर शेर्पासमेतको हिस्सा रहेको धुम्बाराही भवनमा कार्यालय सार्नु मदनमाथिको खेलवाड भएको ठम्माएरै उनी नयाँ कार्यालयमा प्रवेश नै गरिनन् । राष्ट्रपति हुनुपूर्व नै उनी पार्टी कार्यालय जान छाडेकी थिइन् । पार्टीका काम भदन भण्डारी फाउण्डेसनबाटै गर्थिन । मदनको उत्तराधिकारी ठानिएका ओलीले जबजलाई टेको लगाइदेलान भन्ने भण्डारीको अपेक्षा सायद उतिखेरै आंशकाको घेरामा परेको थियो, जुन कुरा निर्वाचनसम्म आइपुग्दा पुष्टिको तहमा पुगेको छ ।

२०५० यताका २२ बर्षसम्म एमालेमा मदन सबैभन्दा अग्ला पूँजीका रुपमा सम्मानित रहे । पार्टीका हरेक दस्ताबेजमा मदन चम्किन्थे । तर, २०७४ को निर्वाचन बेग्लै बनेर आयो । पार्टी दस्ताबेज, प्रर्चा–पाम्प्लेटमा अध्यक्ष केपी ओली मुस्कुराए, मदन भण्डारी सुस्ताए । मदनको नाम सायदै कतै लिइयो, केपीलाई नै नायक र विचारककारुपमा प्रस्तुत गरियो । समग्र एमालेको शीर्ष छबीका रुपमा ओलीको उदय गराउने शैलीमा गरिएको डकुमेन्टेसनका कारण जबज थला परेको चर्चा एमालेवृत्तमा हुन थालेको छ । जबजको औचित्य नसकिएको दाबी गर्ने केही नेताहरु पनि पार्टी एकतापछि जबजको ठाउँमा अर्कै नामसहितको कार्यक्रम राख्न सकिने बताउन थालेका छन् । केपी ओली पक्षधर युवा नेता ढुंगेलले जबजनै भन्दा माओवादीलाई चित्त नबुझ्न सक्ने हुँदा अर्को नाम राख्न सकिने जनाए ।

मदनकै कल्पनाअनुसार बृहत्त कम्युनिष्ट पार्टी बनाउन राष्ट्रपति स्वंयले भित्रभित्रै खेलेको भुमिका छिपेको छैन, तर बृहत्त कम्युनिष्ट पार्टी बनिहाले जबज विस्तापित हुने कुरा अब कसैबाट लुकेको छैन । किनकी एमालेभित्र दुई ध्रुब देखिएको छ ः एउटा ध्रुब एमालेमा ओलीलाई सबसे बडाको रुपमा स्थापित गर्न उद्यत छ जहाँ मदनको बिम्ब सानो पारिएको छ । अर्को ध्रुब जबजको वैचारिक विकल्पका बारेमा बहश गर्दैछ । जबज बनाउन आफ्नोसमेत योगदान रहेको दाबी गर्ने मध्यमार्गी पूर्वमहासचिव माधब नेपालको आवाज मधुर बन्दै गएको छ ।

 

विशेष