खेल

नवौं फाल्गुनन्द गोल्डकपको उपाधि सुनसरीलाई

नवौं फाल्गुनन्द गोल्डकपको उपाधि सुनसरीलाई


पाँचथर । मोरङलाई २–० ले पराजित गर्दै सुनसरी–११ ले नवौँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । तीर्थ बस्नेत र सुरज सुनुवारको १-१ गोलको मद्दतबाट निक्कै प्रतिस्पर्धात्मक खेलमा सुनसरीले जित हासिल गरेको हो ।

फिदिम माविको खेलमैदानमा आइतबार भएको फाइनलको ६७औँ मिनेटमा बस्नेतले गोल गरेका थिए ।  खेलको ८६औँ मिनेटमा सुुनुवारले सुनसरीका तर्फबाट गोल थप्दै टोलीको जित सुनिश्चित गरे । सौजनकै पासमा सुनुवारले गोल गरेका थिए । मोरङले पटकपटक गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेन । खेल सुरु भएको १०औं मिनेटमा मोरङका वुद्धिमान राईले गरेको प्रहार पोलमा ठोकिएर बाहिरिएको थियो । खेलको ८७औँ मिनेटमा राईले नै गरेको प्रहार सुनसरीका गोलरक्षक विवश चौधरीले विफल पारेका थिए । सुनसरीका हेमन्त थापामगरले गरेका दुईवटा फ्रि किक पोलमा ठोकिएर बाहिरिए । फाइनल खेलको म्यान अफ दी म्याच सुनसरीका सुरज सुनुवार भए । आफूहरू रणनीतिक रूपमा सफल भएको सुनसरीका प्रशिक्षक श्याम मानन्धरको प्रतिक्रिया थियो ।

विजेता सुनसरीले ३ लाख रुपैयाँ नगद र ट्रफी पायो भने उपविजेता मोरङले २ लाख रुपैयाँ नगदमा चित्त बुझायो । प्रतियोगिताका सर्वोकृष्ट खेलाडी सुनसरीका हेमन्त थापामगर भए । उनले ३५ हजार रुपैयाँ नगद पुरस्कार पाए । उच्च गोलकर्ताको उपाधि सुनसरीका तीर्थ बस्नेतले पाए । उनले खेलअवधिमा ५ गोल गरेका थिए । बेस्ट मिडफिल्डर मोरङका बुद्धिमान राई, बेस्ट प्रशिक्षक सुनसरीका श्याम मानन्धर, उदीयमान खेलाडी फिदिम स्पोर्टिङका आकाश रानामगर, बेस्ट गोलकिपर सुनसरीका विवश चौधरी, बेस्ट फरवार्ड सुनसरीका निशाल लिम्बु, बेस्ट डिफेन्डर मोरङका सुरेन्द्र खवास घोषित भए ।

फिदिम स्पोर्टिङ क्लबको आयोजनामा पुस ७ बाट प्रतियोगिता सुरु भएको थियो । प्रतियोगितामा मोरङ, सुनसरीसहित त्रिभुवन आर्मी क्लब, एपिएफ, ब्वाइज युनियन, रूपन्देही ११, बिर्ता युनाइटेड झापा, मिसन युनाइटेड ताप्लेजुङ, युके क्लब खर्साङ र आयोजक फिदिम स्पोर्टिङ क्लबको सहभागिता थियो ।

विशेष