स्वास्थ्य

पुरुषमा स्तन क्यान्सर बढ्दो

पुरुषमा स्तन क्यान्सर बढ्दो

काठमाडौँ । स्तनवरिपरिका छाला कडा हुँदै गएका थिए । स्तनमा स–साना फोकाहरू पनि उठे । तर, उनले वास्ता गरेनन् । फोकाहरू गाँठामा परिणत भए । गाँठाहरू घाउ बनेर रगतै बग्न थाल्दासम्म घरमा कसैलाई भनेनन् । यो काठमाडौंका ६३ वर्षीय एक पुरुषको समस्या हो । ‘असह्य पीडा हुन्थ्यो तर लाजले कसैलाई भन्न आँटै आएन,’ उनले भने ।

स्तनबाट बगेको रगत धेरै दिनसम्म गन्जीमा देखिन थालेपछि छोराले उनलाई त्रिवि अस्पताल पुर्‍याए । जाँच गर्दा उनको स्तन क्यान्सर तेस्रो चरणमा पुगिसकेको रिपोर्ट आयो । फैलिएको क्यान्सरले स्तन पूरै खाइसकेकाले शल्यक्रियापश्चात तिघ्राको मासु काटेर स्तनभित्रको करङ छोप्नुपरेको उनले सुनाए ।
विश्वभर नै स्तन क्यान्सरको जोखिममा महिला बढी छन् । महिलामा हुने धेरै क्यान्सरमध्ये बढी हुनेमा स्तन क्यान्सर दोस्रो हो । तर यो रोग पुरुषलाई लाग्दैन भन्ने हुँदैन ।

स्तन क्यान्सरका कुल बिरामीमध्ये १ प्रतिशत पुरुष हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । यसबारे पुरुषहरूमा चेतना नहुँदा यो रोगले महिलाभन्दा बढी पुरुषलाई गाँजिरहेको विशेषज्ञहरू बताउँछन् । क्यान्सर रोग विशेषज्ञ डा। कपेन्द्रशेखर अमात्य भन्छन्, ‘क्यान्सर महिलाको भन्दा पुरुषको स्तनमा चाँडो फैलिन्छ । पुरुषको स्तनमा बोसोको मात्रा कम हुनाले क्यान्सरले शरीरको अन्य भागमा चाँडै समात्छ ।’ पुरुषले स्तन परीक्षण गर्न आवश्यक नठान्ने, परीक्षण गर्नेपरे पनि लाज मान्ने वा पुरुषमा पनि स्तन क्यान्सर हुन सक्छ भन्ने विश्वास नगर्ने प्रवृत्ति रहेको डा। अमात्य बताउँछन् । ‘उपचारका लागि आइहाले पनि अधिकांश बिरामी अन्तिम अवस्थामा आउँछन्, उपचार गर्नेले पूरा उपचार गर्दैनन्, हराउँछन्,’ उनले भने । अमेरिकी क्यान्सर सोसाइटीले सन् २००० मा १ हजार ७ सय २० पुरुषमा स्तन क्यान्सर पत्ता लगाएको थियो । अन्तिम अवस्थामा मात्रै उपचार गर्ने प्रवृत्तिले गर्दा पुरुषमा स्तन क्यान्सरका कारण हुने मृत्युदर उच्च हुन्छ । ६० देखि ७० वर्षका पुरुषहरू स्तन क्यान्सरको जोखिम समूहमा पर्ने सोसाइटीको प्रतिवेदनमा उल्लेख छ ।

नेपालमा हरेक वर्ष २०र२५ क्यान्सरका नयाँ बिरामी थपिन्छन् । ६० वर्षभन्दा माथिका पुरुषमा यसको सम्भावना प्रबल हुने भक्तपुर क्यान्सर अस्पतालका पूर्वनिर्देशक तथा क्यान्सर रोग विशेषज्ञ डा। राजेन्द्र बराल बताउँछन् । ‘पुरुषमा स्तन क्यान्सर हुने धेरै कारणमध्ये वंशाणुगत मुख्य हो । कसैको परिवारका महिलामा क्यान्सर छ भने त्यो परिवारका पुरुष सदस्य पनि जोखिममा हुन्छन्,’ बरालले भने, ‘हाम्रो अस्पतालमा यस्ताखाले धेरै बिरामी भर्ना भएका छन् ।’ यसबाहेक कलकारखानामा काम गर्ने मजदुर, कोइलाखानी र प्रदूषणमा बढी बस्ने पुरुषहरू यो रोगको जोखिममा छन् ।

त्यस्तै सुर्तीजन्य पदार्थको प्रयोगले पनि उनीहरूमा स्तन क्यान्सर निम्त्याइरहेको छ । यदि परिवारका कुनै सदस्यलाई रगतको क्यान्सर छ भने अरू सदस्यमा हुने सम्भावना २० प्रतिशतले बढ्छ । यस्ता समूहका व्यक्तिले घरका सदस्यलाई क्यान्सर लागेको उमेरभन्दा ५ वर्ष अगाडि विशेषज्ञ चिकित्सकलाई देखाउनुपर्छ र वर्षमा एकपटक नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ । डा। बराल भन्छन्, ‘रोग लाग्नु कसैको दोष हैन, बिरामीमाथि हुने सामाजिक विभेदले पनि उनीहरू उपचारको पहुँचबाट टाढा हुनुपरेको छ ।’ विश्व स्वास्थ्य संगठनले सन् २०११ मा गरेको एक अध्ययनअनुसार विश्वमा १ लाख ७८ हजार ४ सय ८० महिला स्तन क्यान्सर रोगी र २ हजार ३० पुरुष स्तन क्यान्सर रोगी थिए । कान्तिपुर दैनिकबाट

विशेष