खेल

नेइमारकाे गाेलमा पिएसजीकाे सेमिफाइनल प्रवेश

नेइमारकाे गाेलमा पिएसजीकाे सेमिफाइनल प्रवेश

पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

लिगअन्तर्गत बुधबार राति भएको क्वाटरफाइनलमा सीमित एमिएन्सलाई २–० ले हराउँदै पिएसजी अन्तिम चारमा प्रवेश गर्न सफल भएकाे हाे । पिएसजीको जितमा नेइमार र एड्रिएन राबिओट्ले गोल गरे ।

खेलकाे ३४ अाैँ मिनेटमा एमिएन्सका गाेलरक्षक रेगिस गुर्टनगरले पिएसजीका एलियन एमबाप्पेलार्इ फउल गरेपछि राताे कार्ड खाँदै मैदानबाट बाहिरिए ।

पहिलाे हाफ गाेलरहित बराबरीमा सकिएसँगै १० खेलाडीमा सीमित एमिएन्सका थाेमसले डिबक्स एरियामा फउल गरेपछि पिएसजीले ५३ अाैँ मिनेटमा पेनाल्टी पाएकाे थियाे । साे पेनाल्टीलार्इ गाेलमा परिणत गर्दै नेइमारले पिएसजीलार्इ सुरूवाति अग्रता दिलाए । 

यस्तै पिएसजीका लागि दोस्रो गोल ७८ औँ मिनेटमा राबिओट्ले हेड मार्फत गरे । यहि सिजन विश्व कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट पिएसजी आएका नेइमारले पिएसजीबाट सबै प्रतियोगितामा गरेर २२ खेलमा २० गोल गरिसकेका छन् ।

फ्रेन्च लिग कपमा उनको यो खेल डेब्यु थियो । नेइमारले पिएसजीबाट लिग वान, च्याम्पियन्स लिग, फ्रेन्च कप र फ्रेन्च लिग कप सबैको डेब्यु खेलमा गोल गरेका छन् । पिएसजीले लगातार चारपटक फ्रेन्च लिग कपको उपाधि जितिसकेको छ । पिएसजीले अब सेमिफाइनलमा रेनसँग प्रतिस्पर्धा गर्नेछ ।

psg neymar french league

विशेष