मनोरञ्जन

२०१७ मा कुन नायिका हिट भए कुन फ्लप, यस्तो छ लेखाजोखा

२०१७ मा कुन नायिका हिट भए कुन फ्लप, यस्तो छ लेखाजोखा

बलिउड अभिनेत्रीहरूले वर्ष २०१७ मा अभिनय गरेका चलचित्रको सफलता तथा असफलताहरु

कट्रिना कैफ

अभिनेता रणवीर कपुरसँग ब्रेकअप भएपछि कट्रिना कैफ आफ्नो करियरलाई पुनस् सुदृढ अवस्थामा फर्काउन सफल भइन् । यद्यपि वर्षको पहिलो चलचित्र जग्गा जासुसको असफलताले उनलाई निराश बनायो । वर्षको अन्त्यमा प्रदर्शन भएको चलचित्र टाइगर जिन्दा हैको सफलतासँगै उनी वर्ष २०१८ मा व्यस्त अभिनेत्रीका रूपमा स्थापित हुने कुरामा दुईमत छैन ।

आलिया भट्ट

वर्ष २०१७ मा आलिया भट्टको काम गर्ने रफ्तारमा केही कमी आयो । उनी नयाँ–नयाँ कुरा सिक्न तथा जिन्दगीको आनन्द उठाउन व्यस्त भइन् । यो वर्ष उनले अभिनय गरेको एक मात्र चलचित्र प्रदर्शनमा आयो, बद्रीनाथ की दुल्हनियाँका रूपमा, जुन अत्यधिक सफल भयो । यो वर्ष आलियाको लोकप्रियता दिन दुई गुणा, रात चौगुणा बढ्यो । आगामी वर्ष उनले अभिनयमार्फत सबैलाई प्रभावित तुल्याउन सक्छिन् ।

अनुष्का शर्मा

अभिनेत्री अनुष्का शर्माले वर्ष २०१७ लाई कहिल्यै बिर्सने छैनन्, किनभने उनले यही वर्ष आफ्ना प्रेमी विराट कोहलीसँग विवाह गरिन् । यद्यपि अभिनयका कारण भने उनी खासै उत्साहित हुन सकिनन् । यो वर्ष उनले अभिनय गरेका दुई चलचित्र फिल्लौरी तथा जब ह्यारी मेट सेजल प्रदर्शनमा आए, तर दुवै असफल भए । फिल्लौरीमा त उनी निर्मात्रीका रूपमा समेत सहभागी थिइन् । शाहरूख खानसँग रोमान्स गर्दै दर्शकमाझ आए पनि जब ह्यारी मेट सेजललाई दर्शकले मन पराएनन् ।

प्रियंका चोपडा

यो वर्ष प्रियंका चोपडा भारतमा त्यति बेलामात्र देखा परिन्, जब उनले हलिउडबाट छुट्टी पाउँथिन् । यो वर्ष प्रियंकाले अभिनय गरेका कुनै पनि हिन्दी चलचित्र प्रदर्शन भएनन् । हलिउडको चलचित्र बेवाच हिन्दी भाषामा स्वरांकन भएर भारतमा प्रदर्शन त भयो, तर ठूलो बजेटको उक्त चलचित्रले व्यवसायिक सफलता हासिल गर्न सकेन । प्रियंकाले यो वर्ष निर्मात्रीका रूपमा सक्रिय हुँदै क्षेत्रीय भाषाका चलचित्रको निर्माणलाई गति दिइन् ।

श्रद्धा कपूर

यो वर्ष श्रद्धा कपुरको अभिनय करियर रोकिएझैं भयो । उनी चर्चाबाट समेत टाढै रहिन् । वर्ष २०१७ मा उनले अभिनय गरेका तीनवटा चलचित्र प्रदर्शन त भए, तर बक्स अफिसमा खासै हलचल मच्चाउन सकेनन् । श्रद्धाले आशा गरेको चलचित्र ओके जानु फ्लप भयो । हाफ गर्लफ्रेन्ड चर्चामा हुँदाहुँदै पनि औसतभन्दा माथि उक्लन सकेन । हसिना पारकरका लागि श्रद्धाले प्रसस्त पसिना बगाएकी थिइन्, तर त्यो पनि व्यर्थ भयो ।

सनी लियोन

बलिउडमा सनी लियोनलाई दर्शकले आइटम डान्सरका रूपमा मात्र मन पराए । डान्सरका रूपमा मादकता प्रस्तुत गरेरै उनले दर्शकको मन जितिन् । रईस, बादशाहों, भूमिजस्ता चलचित्रमा उनले गरेको आइटम डान्स हिट रहे । चलचित्र नूरमा उनले छोटो अभिनय समेत गरेकी थिइन् । अभिनेत्रीका रूपमा सनीले अभिनय गरेको एक मात्र चलचित्र तेरा इन्तजार प्रदर्शन त भयो, तर त्यसले सफलता भने हासिल गर्न सकेन ।

ज्याकलिन फर्नान्डिज

यो वर्ष ज्याकलिनका दुई चलचित्र प्रदर्शनमा आए । तीमध्ये जुडवा–२ सफल भयो भने ए जेन्टलम्यान असफल भयो । वरुण धवनसँग उनको जोडी सुहायो, यद्यपि समीक्षकहरूले उनलाई अभिनयमा कमजोर नै मानेका छन् ।

सोनाक्षी सिन्हा

यो वर्ष सोनाक्षी सिन्हाको चमक केही फिका भयो । ठूला अभिनेतासँग उनका चलचित्र प्रदर्शन भएनन् । नायिकाप्रधान नूरबाट उनले ठूलै आशा गरेकी थिइन्, यद्यपि उक्त चलचित्र असफल भयो । यही वर्ष प्रदर्शन भएको सोनाक्षीको दोस्रो चलचित्र इत्तेफाकले पनि उनलाई माथि उठाउन सकेन ।

विद्या बालन

अभिनेत्री विद्या बालन अचेल त्यस्ता चलचित्रमा मात्र देखिन्छिन्, जसको कथा उनकै वरिपरि घुम्छ । विद्याको मुख्य भूमिका रहेको चलचित्र बेगम जान असफल भयो, जबकि तुम्हारी सुलु सफल भयो । हिट र फ्लपभन्दा ठूलो कुरा विद्यालाई यो वर्ष उनको बढ्दो वजनले चिन्तामा पार्‍यो ।

दीपिका पादुकोण

प्रेमी रणवीर सिंहझैं दीपिका पादुकोणले अभिनय गरेका कुनै पनि चलचित्र यो वर्ष प्रदर्शनमा आएनन् । अघिल्लो वर्ष पनि उनका कुनै पनि चलचित्र प्रदर्शन भएका थिएनन् । २०१७ मा उनी एउटा मात्र हलिउड चलचित्र एक्सएक्सएक्सस् रिटर्न अफ जेन्डर केजमा प्रस्तुत भइन्, तर उक्त चलचित्र असफल भयो । चलचित्र राब्ताको एउटा गीतमा पनि उनलाई देखियो । त्यसबाहेक अभिनेता रणवीर सिंहसँगको उनको रोमान्स पनि जारी रह्यो । चलचित्र पद्मावती यो वर्ष प्रदर्शन हुन नसकेकोमा दीपिकामात्र होइन, उक्त चलचित्रका सम्पूर्ण कलाकार निराश देखिए ।

विशेष