मुख्य समाचार Technology

अब चीनबाट नेपालमा इन्टरनेट, तोडियो भारतीय एकाधिकार

अब चीनबाट नेपालमा इन्टरनेट, तोडियो भारतीय एकाधिकार


काठमाडौं । नेपालको स्थलमार्गबाट हुने इन्टरनेटको अन्तर्राष्ट्रिय आबद्धता अब चीनबाट पनि हुने भएको छ । यही २८ पुसदेखि नेपाल चिनियाँ बाटो हुँदै इन्टरनेटको विश्व–सञ्जालमा जोडिने निश्चित भएको हो ।

नेपाल र चीनबीच निर्माण भएको क्रसबोर्डर अप्टिकल फाइबर लिंकको औपचारिक उद्घाटन आगामी शुक्रबार हुँदैछ । त्यसपछि नेपालले चीन हुँदै विश्वबजारको दूरसञ्चार नेटवर्कमा आबद्धता जनाउनेछ ।

दुई वर्षअघि नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबल लिमिटेड सिटिजी बीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थलीय केबुलमार्गमा जोड्नेबारे सम्झौता भएको थियो । सोही सम्झौताअनुसार दुवैतर्फको अप्टिकल फाइबर एक–अर्कामा जोडिएका छन् ।

सम्पूर्ण परीक्षण सफल भएपछि अब व्यावसायिक सञ्चालन गरिने भएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् ।

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि चिनियाँ राजदूत यु होङले ‘नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच क्रसबोर्डर अप्टिकल फाइबर लिंक’को औपचारिक उद्घाटन गर्ने टेलिकमले जनाएको छ ।

तोडिँदै भारतीय एकाधिकार

नेपालको स्थलमार्गबाट हुने दूरसञ्चारको अन्तर्राष्ट्रिय आबद्धतामा भारतीय एकाधिकार तोडिने भएको छ । नेपालले चीन हुँदै विश्वबजारको दूरसञ्चार नेटवर्कमा आबद्ध हुने बाटो खुलेसँगै भारतीय एकाधिकार तोडिने भएको हो ।

यस्तो छ चिनियाँ चाहना

अघिल्लो वर्ष हङकङमा भएको सम्झौता कार्यक्रममा सिटिजीका कार्यकारी उपाध्यक्ष ओउ यानले हिमालय क्षेत्रमा आफ्नो रुट विस्तार गरिरहेको र यसबाट नेपाल–चीन रुटमा सेवा प्रदान गर्नुका साथै भारतबाट समेत ट्रान्जिट सेवा प्राप्त गर्न सहयोग पुग्ने बताएका थिए । चीनले हिमालय क्षेत्रमा बिछ्याएको अप्टिकल फाइबरबाट नेपाल र नेपाल हुँदै दक्षिण एसियाली मुलुकसँग आबद्धता हुन चाहेको जनाएको छ । यसका लागि चीनले नेपालसँगको अर्को कुनै एक नाकाबाट समेत इन्टरनेटमा आबद्धता हुन चाहेको टेलिकमका एक अधिकारीले बताए ।

सस्तो र स्तरीय इन्टरनेट

चीनबाट जोडिने सञ्जाल भारतीयभन्दा निकै छोटो रहेको टेलिकमले जनाएको छ । दूरी छोटो भएकै कारण इन्टरनेट सेवा सस्तो हुनुका साथै स्तरीयसमेत हुने सरोकारवाला बताउँछन् ।

यसरी जोडियो नेपाल–चीनको इन्टरनेट

भारतले ०७२ मा लगाएको नाकाबन्दीपछि नेपालले इन्टरनेट व्यान्डविथका लागि समेत वैकल्पिक मार्ग खोज्नुपर्ने बहस सुरु भएको थियो । त्यसपछि संसदीय समिति र सरकारले टेलिकमलाई चीनतर्फबाट पनि दूरसञ्चारको अन्तर्राष्ट्रिय स्थल आबद्धतामा जोडिन निर्देशन दिएको थियो । संसद् र सरकारको निर्देशनपछि टेलिकमले भदौ ०७३ मै केरुङ नाकामा अप्टिकल फाइबर पुर्‍याएर चाइना टेलिकम ग्लोबलको अप्टिकल फाइबरसँग जोडिएको थियो । त्यसपछि मंसिर ०७३ मै दुई सेवाप्रदायकबीच आइपी सर्भिस आदान–प्रदानका लागि औपचारिक सम्झौता भएको थियो । –नयाँ पत्रिका दैनिकबाट

विशेष