समाज

जन्म र मृत्यु हुँदा नगद दिने नगरपालिकाको निर्णयले देउमाईवासी हर्षित

जन्म र मृत्यु हुँदा नगद दिने नगरपालिकाको निर्णयले देउमाईवासी हर्षित

मंगलबारे (इलाम) । जन्मिँदा र मृत्यु हुँदा पाँच हजार रुपैयाँ दिने स्थानीय तहको निर्णयले इलाम देउमाईवासीमा खुसीयाली छाएको छ ।

देउमाईको पहिलो नगरसभाले शिशु जन्मिँदा लालनपालनमा र मृत्यु हुँदा अन्त्येष्टिमा सहयोग पुर्‍याउने उद्देश्यले नगद उपलब्ध गराउने निर्णय गरेको हो ।  जन्म र मृत्युमा सहयोगस्वरुप नगद दिने देउमाई नगरपालिका प्रदेश १ मै पहिलो हो । सुरक्षित मातृत्व र आमाबच्चा सुरक्षित कार्यक्रमअन्तर्गत जन्म र मृत्युमा नगद उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख सूर्यप्रसाद पोख्रेलले बताए । 

त्यस्तै वृद्धवृद्धालाई राज्यले दिने पोशाक भत्तामा समेत देउमाइ नगरपालिकाले थपेर वितरण गर्ने निर्णय गरेको छ । ७० वर्ष पूरा गरेका ज्येष्ठ नागरिकलाई वृद्धभत्तामा सहयोग र दीर्घरोगीलाई अस्पतालको पहुँचसम्म पुर्‍याउन पाँच हजार रुपैयाँ दिने निर्णय गरेको छ । 

नगरपालिकाले हालसम्ममा ५२ जना महिलालाई पोषण खर्च र ४२ जनालाई किरिया खर्च वितरण गरिसकेको जनाएको छ । यो आर्थिक वर्षमा नगरपालिकाले तीन सय महिलालाई पोषण खर्च उपलब्ध गराउने लक्ष्य राखेको छ । 

विसं २०७१ मा नगरपालिका घोषणा भएको यस नगरमा ३२ हजार ३६६ जनसंख्या छ । 

विशेष