देश

जन्मँदा ५ हजार, मर्दा पनि ५ हजार!

जन्मँदा ५ हजार, मर्दा पनि ५ हजार!

इलाम । जन्मँदा र मृत्यु हुँदा नगद पाँच हजार रुपैयाँ दिने निर्णयले इलाम देउमाइवासीमा खुसियाली छाएको छ।

देउमाइ नगरपालिकाको नगरसभाले शिशु जन्मँदा लालनपालनमा सहयोग पुर्‍याउने र मृत्युपछि दाहसंस्कारमा सहयोगस्वरुप नगद उपलब्ध गराउने निर्णयले नगरवासीमा खुसियाली छाएको हो।

जन्म र मृत्युको सहयोगस्वरुप नगद दिने व्यवस्था १ नं प्रदेशकै पहिलो पटक भएको बताइएको छ।

जनप्रतिनिधि चुनिएपछिको पहिलो नगरसभाले यस्तो निर्णय गरेको हो । सुरक्षित मातृत्व र आमाबच्चा सुरक्षित कार्यक्रमअन्तर्गत जन्म र मृत्युमा नगद उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख सूर्यप्रसाद पोख्रेलले बताए।

त्यस्तै वृद्धवृद्धालाई राज्यले दिने पोशाक भत्तामा समेत देउमाइ नगरपालिकाले थपेर वितरण गर्ने निर्णय गरेको छ। ७० वर्ष पूरा गरेका ज्येष्ठ नागरिकलाई वृद्धभत्तामा सहयोग र दीर्घरोगीलाई अस्पतालको पहुँचसम्म पुर्‍याउन नगद रु पाँच हजार प्रदान गर्ने निर्णय गरेको हो।

नगरपालिकाले हालसम्ममा ५२ जना महिलालाई पोषण खर्च र ४२ जनालाई किरिया खर्च वितरण गरिसकेको छ। यस आर्थिक वर्षमा नगरपालिकाले ३०० जना महिलालाई सो रकम उपलब्ध गराउने लक्ष्य राखेको छ।

विसं २०७१ मा नगरपालिका घोषणा भएको यस नगरमा ३२ हजार ३६६ जनसंख्या छ

विशेष