मुख्य समाचार

माघ पाँच भित्र प्रदेश प्रमुख नियुक्त गर्न निर्वाचन आयोगको सरकारलाई डेडलाइन

माघ पाँच भित्र प्रदेश प्रमुख नियुक्त गर्न निर्वाचन आयोगको सरकारलाई डेडलाइन

काठमाडौं । निर्वाचन आयोगले ढिलोमा माघ ५ भित्र प्रदेश प्रमुख नियुक्त नभए माघ २४ मा निर्धारित राष्ट्रियसभा निर्वाचन गर्न नसकिने चेतावनी दिएको छ । राष्ट्रियसभा निर्वाचन प्रभावित भएमा नयाँ सरकार गठन अझ पछि धकेलिनेछ ।

पटकपटक आग्रह गर्दा पनि सरकारले प्रदेश प्रमुख नियुक्त नगरेपछि आयोगले माघ ५ को अन्तिम डेडलाइन दिएको हो । ‘प्रदेश प्रमुख नियुक्तिमा ढिलाई भइसकेको छ, प्रदेश प्रमुख नियुक्त भएर उनको कार्यालय स्थापना भएपछि हामीले प्रदेशसभाको नतिजा बुझाउने हो’ आयोगका एक पदाधिकारीले भने ।


आयोगले माघ ७ गते राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली प्रकाशनको कार्यक्रम छ । तर, प्रदेश प्रमुख नियुक्त नहुँदा निर्वाचन आयोगले प्रदेशको समानुपातिकमा विजयीहरुको नाम सार्वजनिक गर्न सकेको छैन । किनकी प्रदेशको अन्तिम नजिता सार्वजनिक भएको ७ दिनभित्र प्रदेश प्रमुखलाई बुझाउनु पर्ने संवैधानिक व्यवस्था छ ।

साथै राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गर्न प्रदेश प्रमुखबाट प्रदेश सभा सदस्यहरुको सपथग्रहण भइसकेको हुनुपर्छ । सपथका लागि प्रदेश प्रमुख नियुक्त भएर उनले सपथग्रहण गरी कार्यालय स्थापना भइसक्नुपर्छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले चाँडो प्रदेश प्रमुख नियुक्ति होस भनेर सरकारको ध्यानाकर्षण गराइसकेको बताए ।

विशेष