स्वास्थ्य

जाडोमा बदाम खानुस् फाइदै फाइदा

जाडोमा बदाम खानुस् फाइदै फाइदा

एजेसी । जाडो मौसममा बदाम अर्थात् मुंम्फली खानुको मज्जा नै बेग्लै हुन्छ । प्रायः मानिसहरू साथीभाइसँग समूहमा मिलेर जाडो याममा घाम ताप्दै भुटेको तात्तातो बदाम खान खूब रुचाउँछन् । उनीहरू यसलार्इ सुखद ‘टाइम पास’ को रूपमा लिन्छन् । तर यसको फाइदाको बारेमा जानेपछि भने उनीहरू पक्कै यसलार्इ टाइम पास मात्र भन्न छाड्नेछन् ।

बदाम कति उपयोगी छ भन्ने कुरा यसमा पाइने एंटिअक्सडेन्ट्स, भिटामिन, मिनरल्स आदि तत्वले पुष्टि गर्दछ । यसमा भिटामिन र्इ प्रचूर मात्रामा पाइन्छ । यसको सेवनले तनाव घटाउनुको साथै छालालार्इ सुन्दर र मुलायम बनाउँछ । जाडोमा छाला सुख्खा हुने समस्यालार्इ निराकरण गरी चमकदार र तनावमुक्त त्वचाको लागि बदाम खानुहोस् ।

गर्भवती महिलाको लागि बदामको सेवन अझ प्रभावकारी हुन्छ । यसमा पाइने फोलेट नामक तत्वले शरीरमा कोष विभाजन कार्यमा निकै मद्दत पुर्याउँछ । साथै गर्भमा रहेको शिशुको मस्तिष्क सम्बन्धी समस्यालार्इ पनि हटाउँछ ।

त्यसैगरी, बदाममा प्रचूर मात्रामा पाइने प्रोटिनको कारणले शारीरिक वृद्धि विकासमा यसको भूमिका अपरिहार्य छ । तसर्थ खालि बच्चाको शारीरिक विकासमा मात्र प्रभावकारी नभर्इ बडी बिल्डिंगको शौखिन युवाहरूका लागि पनि यो उत्तिकै महत्वपूर्ण छ ।

 भिटामिन बी को राम्रो स्रोतको रूपमा लिइने बदाममा भिटामिन बी३ पनि मनग्गे पाइन्छ जुन स्मरणशक्ति र तेजिलो दिमागको लागि एकदम जरूरी हुन्छ । यसबाहेक बदाममा भिटामिन बी कम्लेक्स पनि प्रचूर मात्रामा पाइन्छ । यसमा हुने ट्राइटोफन नामक अमिनो एसिडले मस्तिष्कमा सेरोटोनिनको उत्पादनमा सहयोग गर्दछ । डिप्रेसनको शिकार भएका मानिसहरूका लागि झन् बदामको सेवन फाइदाजनक हुन्छ ।

विशेष