भारतीय पूर्व लाहुरेको आेढारको जिन्दगी
गोरखा । अझै लाहुरेको जागिर आर्कषक पेशा मानिन्छ । अधिकांश लाहुरे भएका र अवकाश पाएकाहरुको दिनचर्या सुखसयलमै बित्छ । सन्तान, परिवार माया र आर्थिक अवस्था राम्रै हुन्छ । तर अजिरकोट गाउँपालिका–२, खरिबोट सिस्नेका पूर्व लाहुरे स्यादुरे तामाङ भने ४० वर्ष देखि ओढारमा बस्छन् ।
६० वर्ष अघि उनी भारतिय सेनामा कार्यरत थिए । अहिले उनी जंगलको कन्दमुल र स्थानीयले दिएको खानेकुरा खाएर पेट पालिरहेका छन् । हंसपुर भच्चेक बजार नजिकै जंगल भित्र ओढारमा भेटिएका उनको शरीरमा कपडा थिएन । बोरा माथि सुतेर आगो तापिरहेका थिए । प्लाष्टिकको भाडामा मोही थियो । अरु खाने कुरा केहि थिएन ।
ओढारमै मान्छे पुगेपछि झसस्ङ झस्केर उठे उनी । जाडोले तामाङको शरीर काँपिरहेको थियो । कम्बल ओढेर चुरोट सल्काए । हातखुट्टा कट्कटिएका थिए । चिसोले दाउरा नबलेर धुवाँ आइरहेको थियो । फूफू गर्दै पुसको ठण्डीमा उनी न्यानोको लागि आगो बाल्न प्रयत्न गर्न थाले ।
‘मेरो घर नै यहि हो, ४० वर्ष भयो यहाँ बसेको छु,’ बोलाए पछि उनले जवाफ फर्काए ।
हंसपुरदेखि खरिबोट सम्मका २र३ वटा ओढारमा उनी आलोपालो बस्छन् । भोकलागे बस्ती पस्छन् । दिए खान्छन, नदिए माग्ने वा चोरी कहिल्यै गर्दैनन् । घरमा श्रीमती र छोरी भएको उनले सुनाए ।
स्थानीय भिमलाल तामाङले ४० वर्ष अघि नै उनको श्रीमती र छोरीले छाडेर अन्यत्र गएको बताए । ‘लाहुरे जागिर बिचैमा छाडेर स्यादुरे गाउँ फर्के, गाउँमा आएपछि मानसिक रुपमा समस्या देखियो । उपचार पाएनन्, परिवारले वास्ता गरेन,’ उनले भने, ‘एक्लै भएपछि ओढारको बास हुनथाल्यो ।’ मानसिक समस्याको बेलैमा उपचार नपाउँदा उनको परिवार लथालिङको स्थानीयले बताए । अजिरकोट गाउँपालिकाका प्रमुख खरिबोटकै फणिन्द्र धितालले भने, ‘बेलैमा उपचार पाएको भए ठिक हुन्थ्यो होला, तर उनले अहिलेसम्म अस्पताल देखेका छैनन् ।’
६० वर्षदेखि उनी गाउँ छाडेर अयन्त्र गएका छैनन् । स्यादुरेको जन्मथलोमा त्यहाँबाट पनि विकट ठाउँमा पर्छ । भच्चेकमा मान्छे, गाडी र बजार हेर्न आएको उनले बताए । उनलाई ओढारबाट घर फर्काउने प्रयास कसैले गरेनन् ।
उपचार नै नपाएर उनको मानसिक समस्या ठिक नभएको धितालले बताए । ‘चिनेका जति सबैलाई सम्धी भनेर बोलाउँछन, आफ्नै लहडमा ओढार र जंगल डुलेर हिँड्छन्,’ गाउँपालिका प्रमुखले भने । सुरुको भन्दा तामाङको व्यवहारहरु सामान्य बन्दै गएको उनको भनाई छ । सुरुका वर्षहरुमा उनी निगालोको चोयाले सामाग्री बुनेर विक्रि गरेपछि ओढारको गुजारा चलाउँथे । अहिले ओढार नजिकै सेनाको ब्यारेक छ । त्यहि ब्यारेकमा खानेकुरा खाएर पूर्व लाहुरे ओढारको जिन्दागी कटाइरहेका छन् ।
त्यसक्षेत्रमा तामाङहरुको बसोबास छ । अधिकांश लाहुरे छन् । लाहुरे नहुनेहरु खेति किसानी गर्छन् । लेकमा भैंसी भेडा पालेर जीवनयापन गर्छन् । यस्तै मध्येको एक परिवार थियो स्यादुरेको पनि । अन्ततस् त्यो परिवार उजाडिएको छ अहिले । –कान्तिपुर दैनिकबाट