स्वास्थ्य

क्यान्सर–औषधीको अवैध धन्दा

क्यान्सर–औषधीको अवैध धन्दा

 प्राणघातक रोग क्यान्सरका बिरामीले खाने पेनकिलर औषधी पछिल्लो समय लागूऔषध प्रयोगकर्ताहरुले नशाका लागि सेवन गर्न थालेको पाइएको छ । नेपाल आजले काठमाडौं र उपत्यका आसपासका विभिन्न औषधी पसल र दुव्र्यसनीमा परेका व्यक्तिहरुसंग गरेको सोधपुछमा क्यान्सरको औषधीको दुरुपयोग हुने गरेको तथ्य फेला पारेको हो । लागूऔषध प्रयोगकर्ताहरुले पेनकिलर औषधी ट्रमाडोल हाइड्रोक्लोराइड, पेट दुख्दा प्रयोग हुने पेनकिलर डाइक्लोमाइन हाइड्रोलोराइड, कफ ट्याब्लेट र कफ सिरप एकै ठाउँमा मिलाएर खाने गरेका हुन् । औषधीको दुरुपयोग बढेसंगै यि औषधीको मागपनि बढेको छ ।

किन खान्छन् यस्तो औषधी लागुऔषध प्रयोगकर्ताहरु ?

सिनामंगल निवासी २१ वर्षीय विकेस शाक्य (नाम परिवर्तन) एउटा औषधी पसलमा ट्रमाडोल, डाइक्लोमाइन हाइड्रोलोराइड, कफ ट्याब्लेट कफ सिरपसँग घुट्क्याउँदै थिए । उनलाई क्यान्सर छैन । लागूऔषधको कुलत छ । नशालु पदार्थ सजिलै भेटिदैन । औषधी सहजै किन्न पाइन्छ । यति धेरै औषधी यति हतारमा किन खाएको भन्ने प्रश्नको जवाफमा उनले अनकनाउदै भने, ‘भुल्न नसकेको कुरा भुलाउछ, मज्जाको निद्रा लाग्छ, एकोहोरो बनाएर आनन्द दिन्छ ।’ उनमा ओभर डोज होला अथवा औषधीको नकारात्मक पर्ला भन्ने भय देखिदैनथ्यो । शाक्य भन्छन्, ‘अव त बानि परिसक्यो । खाएपछि आनन्द लाग्छ । नखादा छटपटि हुन्छ ।’ त्यस्तै गरी ज्ञानेश्वर निवासी २३ वर्षीय राजन लामा (नाम परिवर्तन) अन्य लागु औषधी भन्दा सस्तो र कडा भएकोले दिनहुँ जसो झ्याप हुन क्यान्सरको औषधी प्रयोग गरेको बताउछन् । अनावश्यकरुपमा औषधीको प्रयोग गर्दा नकारात्मक प्रभाव पर्ने थाहा हुंदाहुदैपनि आफु सेवन गर्न बाध्य भएको उनको भनाइ छ । ‘लत लागेपछि ज्यान नै जोखिममा परोस्, बाल मतलब ।’ रुखो स्वरमा उनले प्रतिक्रिया दिए ।

चिकित्सक भन्छन्ः ज्यानको खतरा

क्यान्सरका बिरामीले खाने औषधी सामान्य प्रकृतिको हुंदैन । यस्तो औषधी चिकित्सकको सल्लाहमा मात्रै सेवन गर्नुपर्दछ । क्यान्सरको औषधी सामान्य मानिसले खांदा मृत्युपनि हुनसक्छ । यसले विभिन्न रोग निम्त्याउनपनि सक्ने चिकित्सकको भनाइ छ । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ राजेन्द्र बराल भन्छन्, ‘जुनसुकै औषधी विनाकारण खाँदा नकारात्मक प्रभाव पर्दछ । झन ओभर डोज भएमा ज्यान समेत जानसक्ने खतरा हुन्छ । क्यान्सरको औषधी त बिना प्रस्क्रिप्सन लिनपनि हुन्न दिनपनि हुन्न ।’ पाटन अस्पतालमा कार्यरत डा. सुमन प्रसाद अधिकारीका अनुसार Tramdol Hydrocloride ले मस्तिष्कमा Dopamine बढाउँछ । यसले मानिसलाई आनन्द हुने, रमाइलो महसुस हुने, तथा खुसी पर्ने काम गर्दछ । त्यसैको कारणले मानिसहरुमा लत वढेको र पछि गएर नशाको रुपमा सेवन गर्नेका संख्या बढेको डा. अधिकारीको भनाइ छ । Tramdol Hydrocloride को ओभर डोज भएमा हृदयघात हुने, मृर्गौला खराब हुने तथा बिरामीको मृत्युसमेत हुनसक्दछ ।

कस्ता विरामीलाई दिइन्छ ट्रामाडोल ?

Tramdol Hydrocloride, OPIOIDS Group पर्ने औषधी हो । विशेष गरी यो औषधी जटिल रोगको दुखाइहरु कम गर्नको लागि प्रयोग गरिन्छ । पाटन मानसिक अस्पतालमा कार्यरत डा. सुमन प्रसाद अधिकारीका अनुसार क्यान्सर पीडित विरामीको अप्रेसन गरिसकेपछि शरिरको दुखाई कम गर्नको लागि Tramdol Hydrocloride दिइन्छ । अन्य रोगहरुको उपचारमा पनि यो औषधीको प्रयोग हुन्छ । तर कस्ता बिरामीलाई यो औषधी दिने भन्ने चिकित्सकले मात्र तय गर्न सक्छन् । आफु मनखुशी गर्न हुंदैन । दोषी को ? बरिष्ठ क्यान्सर रोग विशेषज्ञ राजेन्द्र बराल भन्छन् ‘अमेरिकामा सिटामोल किन्नको लागि चिकित्सकले दिएको पुर्जा अनिवार्यरुपमा चाहिन्छ । तर नेपालमा औषधीको नाम भनेकै भरमा बिक्रेताले औषधी दिन्छन् । मुख्य खोट यहीं छ ।’ औषधी बिक्रेताहरुले चिकित्सकले दिएको पुर्जा हेरेरमात्रै औषधी दिने हो भने समस्या बल्झिनबाट रोक्न सकिने बरालको दाबी छ । पाटन मानसिक अस्पतालमा कार्यरत डाक्टर सुमन प्रसाद अधिकारी पुर्जा विना औषधी दिनुलाई अपराध मान्छन् ।  OPIOIDS group मा पर्ने औषधी चिकित्सकको लिखतबिना बेच्न पाइदैन । Tramdol Hydrocloride OPIOIDS group मा पर्दछ । यो औषधीले आत्महत्याका लागि समेत प्रयोग हुने गरेको बताउछन् । धेरै सेवन गर्दा स्वासप्रश्वास रोकिने र बिरामीको सहजै मृत्यु हुने गर्दछ । अधिकारीले गम्भीर प्रकृतिको औषधी जथाभावि विक्री गर्नेलाई कारवाही गर्नुपर्ने बताउछन् ।

किन बेच्छन् मनलाग्दी औषधी ? के भन्छन् बिक्रेता ?

नशाका लागि क्यान्सरको औषधी प्रयोग गर्नेहरु प्रायः बिक्रेतसंग परिचित नै हुन्छन् । उनीहरुसंग चिकित्सकको प्रेस्क्रिप्सन हुंदैन । प्रेस्क्रिप्सनबिना औषधी किन्न आउनेलाई बिलपनि चाहिदैन । विक्रेताहरुले के प्रयोजनका लागि हो भन्ने सहजै थाहा पाइहाल्छन् । चर्को मूल्य असुल्छन् । परल मुल्यभन्दा कैयौं गुणा बढी पाइने भएपछि उनीहरु यसरी औषधी बेच्न पाउंदा झनै खुशी हुन्छन् । कतिपय औषधी पसलको मुख्य आम्दानी नै अवैधरुपमा हुने औषधीको बिक्रीवितरण हो । चाबाहिलमा फार्मेसी संचालन गर्दै आएका एक व्यावसायी भन्छन्, ‘बिना पर्चा धेरै नै औषधी दिनु गैरकानूनी भएता पनि सम्बन्धित निकायले छानविन तथा अनुगमनमा कडाइ नगरेसम्म यो रोकिदैन । मैले नदिए अर्कोले दिन्छ । त्यसैले नाफा अर्को व्यसायीलाई छोड्ने कुरा भएन ।’

सिनामंगलमा औषधी व्यवसाय गर्दै आएका अर्का व्यवसायीको भनाइ ठ्याक्कै त्यस्तै छ । ‘दुनियाले बेच्छन् म एउटाले नबेचेर के नै हुन्छ ? यो बेचेन भने त सटर भाडा तिर्न पुग्ने नै सेल्स हुँदैन ।’ शान्तिनगरमा औषधी व्यवसाय गर्दै आएका एकजना औषधी पसलेको कथा वेग्लै छ । बिना पूर्जा औषधी लिन आएकालाई औषधी दिन्न भन्ने हिम्मत आफुसंग नभएको उनै प्रष्टै बताउंछन् । औषधी नदिए ज्यान मार्ने धम्की दिन्छन् । ‘आफु मरेर ट्यापेलाई बचाउने कुरा भएन?’ उनले प्रतिप्रश्न गरे । यी तीन जना व्यवसायी त काठमाण्डौका प्रतिनिधि पात्र मात्र हुन । काठमाण्डौ उपत्यका, काभ्रे र चितवनमा क्यान्सरको औषधीको दुरुपयोग बढी भएको प्रयोगकर्ताले जानकारी दिए ।

काठमाडौंमा औषधी कमी हुंदा चितवनसम्म पुगेर औषधी ल्याउने गरेको उनिहरु बताउछन् । औषधी बेच्ने भिन्दै समय अबैधरुपमा औषधी बेच्दा र किन्दा कानूनी कारवाहीमा पर्ने खतरा हुन्छ । त्यसैले औषधी व्यवसायीले लागूऔषध प्रयोगकर्तालाई विहान १० बजे भन्दा अघि र सांझ ५ बजेपछिमात्र क्यान्सरको औषधी दिने गर्दछन् । कार्यालय समयमा अनुगमन हुनसक्ने भएकाले उनीहरुले १० देखि ५ बजेसम्म प्रेस्क्रिप्सन मागेजस्तो गर्दछन् । पसलमा भीड हुंदा प्रेस्क्रिप्सन खोइ भनेर सोध्ने गरेको एक औषधी व्यवसायीले नेपालआजसंगको कुराकानीमा खुलासा गरे ।

 

विशेष