समाज

हुस्सुले आन्तरिक उडान प्रभावित

हुस्सुले आन्तरिक उडान प्रभावित

काठमाडौं । तराई क्षेत्रमा निरन्तर लागेको बाक्लो हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने विभिन्न गन्तव्यका कतिपय आन्तरिक उडान प्रभावित भएको छ ।

हुस्सुका कारण केही दिनयता भद्रपुर, विराटनगर, जनकपुरलगायत गन्तव्यको उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । लामो समयदेखि हुस्सु लागेका कारण सिमरा, भैरहवा र धनगढीको उडानमासमेत पटक–पटक अवरोध हुँदै आएको छ ।

मुख्य गन्तव्यमा नियमित उडान नहुँदा कामकाजी सर्वसाधारण मर्कामा परेका छन् । निर्माणाधीन नारायणघाट–मुग्लिन सडकका कारण यात्रीलाई कठिनाइ भएपछि आफ्नो गन्तव्यमा पुग्न यात्रीलाई केही सातादेखि विमानस्थलमा उडान नहुँदा झनै सास्ती भएको छ ।

विमान नउड्ने भएपछि यात्रीहरु लामो र जोखिमपूर्ण यात्रा भएपनि सडकमार्ग हुँदै राजधानी काठमाडौं आवत–जावत गर्ने गरेका छन् । विमानस्थलबाट आन्तरिकतर्फ दैनिक करिब पाँच हजार यात्रीले आवत–जावत गर्ने गरेका छन् ।

आन्तरिकतर्फ हेलिकोप्टरसहित (नेपाल वायुसेवा निगम, बुद्ध, यतिलगायत) १८ ओटा वायुसेवा कम्पनीले उडान भर्दै आएका छन् । अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको विमानस्थलले जनाएको छ । हाल ३० ओटा वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

Tribhuban international Airport

विशेष