मनोरञ्जन

डिभोर्सबारे मनोज गजुरेलले पहिलोपल्ट मुख खोले

यसो भने पूर्वपत्नि मीनालाई

डिभोर्सबारे मनोज गजुरेलले पहिलोपल्ट मुख खोले

काठमाडौं । सधैँ हाँसिरहने, हँसाइरहने हँसिला सफल ‘कमेडीयन’ मनोज गजुरेलको डिभोर्सको विषयमा केही दिनयता चर्चा हुँदैआएको छ । २२ वर्षे बैबाहिक सम्बन्ध अनपेक्षित रुपमा टुंगिएपछि धेरैलाई आश्चर्य लाग्नु स्वभाविक पनि हो ।

 

केही सातादेखि नै अलग रहँदै आए पनि डिभोर्सको विषयमा गजुरेलकी ‘पूर्वपत्नि’ मीना ढकालले मिडियामा खुलेर अन्तरवार्ता दिँदैआएकी छन् । अन्तरवार्ताको क्रममा उनले पति गजुरेलबाट यातना पाएको समेत बताएकी थिइन् । बिबाहका प्रारम्भिक दिनदेखि नै गजुरेलबाट नराम्रो ब्यवहार भोग्नुपरेको भन्दै मीनाले ‘मनको तीतो’ पोखेकी छन् । यस्तो अवस्थामा मौन रहेका मनोजको त्रुटी हो भनेर धेरैले चर्चा गरेका छन् ।

 

यही विषयमा नेपालआजमा मनोज गजुरेलसँग अन्तरवार्ता गर्ने भन्दै नेपालआजबाट प्रयास भयो । ‘नमस्ते दाई ! अन्तरवार्ता गर्नुपर्ने भयो तपाईँको,’ यताबाट आग्रह भयो ।

 

‘हैन, अहिले अन्तरवार्ता गर्ने मनस्थितिमा छैन म । दबाब नदिनुस् न,’ मलिन स्वरमा जवाफ दिए मनोजले । उनको कुरा सुनेपछि यस्तो लाग्यो कि, त्यति ठट्यौली पारामा बोलिरहने मनोज गजुरेलको बोली यतिसम्म फेरिन सम्भव छ ?

 

थुप्रै स्टेजमा हँसिलो मुद्रामा उभिएर हजारौँ दर्शकलाई एकैचोटी हँसाउने गजुरेलको आवाज साँच्चिकै स्तब्ध थियो । यताबाट फेरि आग्रह भयो । तै पनि उनी अन्तरवार्ताका लागि तयार भएनन् ।

 

उनले थपे, ‘उताको पक्षबाट भएका नभएका कुराहरु एकोहोरो आउँदैछन् । यस्तो बेला मलाई बोल्नु उचित लागेन । हामी दुबै परिवार बसेर सहमतिमै यो काम भएको हो । नकारात्मक रुपमा लिएको छैन मैले ।’

 

प्रश्नः तर तपाईँले त बिबाह भएका सुरुका दिनदेखि नै राम्रो ब्यवहार गर्नुभएको थिएन रे । तपाईँको सफलताको लागि मीना ढकालको त्याग र सहयोगलाई तपाईँले स्विकार गर्नुभएन भनेर उहाँले नै भन्नु भएको छ ।

 

जवाफः ति कुराहरुको विषयमा त पहिले मसँगै दिएका अन्तरवार्ता हेरे पनि हुन्छ । दिनमिल्ने सम्मको क्रेडिट दिएकै हो । अहिले जे भनिदिए पनि हुन्छ । उहाँले जति नकारात्मक रुपमा ब्याख्या गरे पनि मैले नकारात्मक कुरा सोचेकै छैन ।

 

अहिलेसम्म भएका सकारात्मक कुरा मात्रै सम्झेको छु मैले । जे भए पनि उहाँले पनि आफैँ व्यवसाय गर्नुभएको छ । त्यसका लागि शुभकामना दिन चाहन्छु । राम्रो होस् उहाँको । उहाँले जे सम्झिए पनि उहाँको व्यवसाय राम्रो होस् मेरो शुभकामना ।


(प्रविन दाहालको प्रस्तुती)

विशेष