समाज

मालिका गाउँपालिकाले तोक्यो सडक र घरको मापदण्ड

मालिका गाउँपालिकाले तोक्यो सडक र घरको मापदण्ड

म्याग्दी जिल्लामा पर्ने मालिका गाउँपालिकाले सडक र घरको मापदण्ड कायम गरेको छ ।

गाउँ कार्यपालिकाको हालै बसेको बैठकले गाउँपालिका क्षेत्रका सडक, घर र भवनको मापदण्ड तोकेको हो । बस्ती विकास सहरी योजना तथा भवन निर्माण मापदण्ड, २०७२ लागू गर्ने निर्णय भएपछि नयाँ घर निर्माणको नक्सा पास र सडकको मापदण्ड कायम गरिएको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिए ।

गाउँपालिकाको सडक न्यूनतम छ मिटर फराकिलो हुने भएको छ । बजार क्षेत्रमा व्यापारिक भवन निर्माण गर्दा सडकलाई दुई र आवासीय भवन बनाउँदा डेढ मिटर छाड्नुपर्नेछ ।

यसैगरी दरवाङ बजारको फोहर व्यवस्थापन गर्न गाउँपालिकाले ट्र्याक्टर खरिद गर्ने भएको छ । ट्र्याक्टर खरिद र बजारमा सहरी सुरक्षाका लागि सडक बत्ती जडान गर्न  ४६ लाख रुपैयाँ विनियोजन गरिएको छ । बजेट संशोधन गरेर कृषि र पशु विकाससम्बन्धी कार्यक्रमलाई समावेश गरेको छ ।

गत असारमा सम्बन्धित विषयगत कार्यालयसँग समन्वय नहुँदा योजना, नीति तथा कार्यक्रम र बजेटमा कृषि र पशुसेवाको क्षेत्रमा बजेट विनियोजन हुन सकेको थिएन । हालै बसेको गाउँ कार्यपालिकाको बैठकले अन्य शीर्षक र जगेडा बजेटमार्फत कृषि र पशु सेवासम्बन्धी कार्यक्रमलाई समेटिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए ।

सम्बन्धित मन्त्रालयको राष्ट्रिय कार्यक्रमसँग आबद्ध हुने गरी वडासँग समन्वय गरेर कार्यक्रम कार्यान्वयन गरिने भएको छ । कृषिका लागि  ३२ लाख रुपैयाँ र पशुसेवातर्फ  १७ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको अध्यक्ष रोकाले बताए। आकस्मिक सडक मर्मतका लागि विनियोजन गरिएको बजेटलाई कृषि र पशु कार्यक्रमका लागि बाँडिएको हो । गाउँपालिकाको कृषि र पशुसेवा शाखाले वडा कार्यालयसँग समन्वय गरेर योजना तथा कार्यक्रम कार्यान्वयन गर्नेछ ।

यसअघि मंगला र धौलागिरि गाउँपालिकाको कार्यपालिका बैठकले कृषि र पशु विकाससम्बन्धी कार्यक्रमलाई वार्षिक बजेटमा समेटिसकेका छन् । बेनी नगरपालिका, अन्नपूर्ण र रघुगंगा गाउँपालिकाले कृषि र पशुसेवाका योजना तथा कार्यक्रमलाई समावेश गर्न वास्ता नगरेको कृषको गुनासो छ । मालिका गाउँपालिकामा स्थानीय प्राकृतिक स्रोत साधनको परिचालन गरी रोजगारी सिर्जना र आयआर्जन वृद्धिका लागि लद्युउद्यम विकास कार्यक्रम सञ्चालन गरिने भएको छ । लद्युउद्यम विकास रणनीति तयार पार्ने काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले बताए ।

Myagdi

विशेष