‘आहा रारा गोल्डकप’को उद्घाटन खेलमा सूदुरपश्चिम स्पोर्टिङ विजयी
पाेखरा । ‘आहा रारा गोल्डकप’ फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम स्पोर्टिङ क्लब विजयी भएको छ । १६औं संस्करण मंगलबारदेखि पोखरामा सुरु भएको खेलमा सुदूरपश्चिम स्पोर्टिङ क्लब विजयी भएको हो ।
खेलमा सुदूरपश्चिमले आयोजक सहारा क्लबलाई ३–० को फराकिलो अन्तरले पराजित गरेको छ । घरेलु मैदानमा कमजोर प्रदर्शन गरेको सहाराले मध्यान्तरअघि एक तथा मध्यान्तरपछि दुई गोल खायो ।
सुदूरपश्चिमको जितमा धनबहादुर थापा, मनिराम चौधरी ‘म्याक्स’ तथा राकेश हमालले एक–एक गोल गरे । प्रतियोगितामा सहारा र सुदूरपश्चिमसँगै मोफसलका धरान फुटबल क्लब र झापा–११ रहेका छन् ।
त्यसैगरी, तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरीसहित ‘ए’ डिभिजनका संकटा, मनाङ–मर्स्याङ्दी र थ्रीस्टार क्लब सहभागी छन् । साथै, १२ टोलीमा दुई विदेशी क्लबहरु बंगलादेशको बरिन्धरा र भारतको सिक्किम युनाइटेड रहेका छन् । उपाधि विजेता टिमले ७ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ३ लाख ५१ हजार पाउनेछ ।