केटो गरिखाने केटीचाँही राम्री चाहिने ?
यमुना अर्याल (काफ्ले)
विदेशमा पढ्दै गरेको एकजना साथीले फेसबुकमा म्यासेज पठायो, ‘तिम्रो सम्पर्कमा अलि राम्रा केटी कोही छैनन ? कोही राम्रा केटी छन भने मेरो लागि हेर्दिराख है वैशाखमा बिहे गर्ने दबाब छ घरको । अब त उमेर पनि भयो बिहे गर्नैप¥र्यो नि, संगैका साथीभाइका छोराछोरी स्कुल जाने भइसके आफु पढाइ पढाइ भन्दै बसियो लभसवको चक्करमा पनि परिएन राम्रा केटी कसरी चिन्ने’ ? उसको यो म्यासेज पढिसकेपछि दिमाग नै भाउन्न भएजस्तै भयो , ऊ आफु कस्तो छु ? के हुँ भन्ने कुराको कुनै मतलव छैन तैपनि उसलाइ राम्री केटी चाहिएको छ । कस्ता केटीलाइ राम्री भनेको हो उसले ? राम्री भित्रका विशेषण के के हुन्छन ? कुन कुन मापदण्ड पुरा गरेपछि राम्री केटीको दर्जा पाइन्छ ? फेरी उसैले म्यासेज पठायो, ‘साँच्चिकै भनेको हो मैले तिम्रो चिनजानमा कोही राम्रा केटी छैनन त ? साथीको लागि एउटी राम्री केटी खोज्न सक्दैनौ है’ ? उल्टै रिसाएको रुप देखायो ।
उसलाइ जवाफ दिनैपर्ने भयो, तत्काल उत्तर पठाएँ ‘कस्ता केटीलाइ तिमी राम्री भन्छौ ? मलाइ त रुपले होइन व्यवहारले जोकोही व्यक्ति राम्रो लाग्छ , चिनजानमा थुप्रै बैनीहरु छन, तर तिम्रो मापदण्डमा अट्ने कस्ता खालका राम्रा केटी हुन’ ? उसले यति छिटो जवाफ पठायो कि अहिलेपनि अचम्म लाग्छ । ‘गोरो अनुहार भएकी, सलक्क परेको मिलेको जिउडाल भएकी, हाइट मेरो भन्दा अलिकति कम भएकी, अलि आधुनिक स्टाइलकी केटी चाहिन्छ ठ्याक्कै यस्तै केटी कही सम्पर्कमा भएदेखी सम्झनु है’ ... उसले आफनो भनाइ टुंगायो ।
साथीले भनाइ टुगाएपनि आफ्नो मथिंगलमा अनेकन तर्कना भुतभुताउन थाले । राम्री हुनको लागि गोरी हुनैपर्ने, आधुनिक स्टाइलको हुनैपर्ने, सलक्क परेको मिलेको जिउडाल हुनैपर्ने अरु केही नचाहिने ? संस्कार, शिक्षा, आत्मनिर्भरता , आफ्नो रहनसहन त्यही गोरो छालाको सामु सबै कुरा फिक्का हुने ? उसलाइ जवाफ दिएँ, ‘तिम्ले जे जे भनेका छौ त्यो मापदण्ड पुरा गरेका त मिस नेपालका प्रतिस्प्रधी मात्र हुन्छन, मिस नेपालमा छानिने युवती र तिमीले छान्ने हुनेवाला जीवनसाथी उस्तै मापदण्डका रहेछन’ । मेरो भनाइमा ऊ केही बोलेन । ‘मिस नेपाल जस्ता उताउला पनि होइन घरपरिवारमा अलि पच्ने खालका लुगा लगाउनु प¥र्यो नि , बरु मलाइ धेरै पढेलेखेको केटी चाँहिदैन तर अरुको सामु देखिदा फलानोले यस्ती राम्री केटी बिहे गरेछ भन्ने हुनुपर्छ बुआआमालाइ पनि त्यही भनेको छु’ ।
बिदेशमा गएर डिग्री सकाइसकेको मान्छे बरु धेरै पढेलेखेकी केटी नहोस तर राम्री हुनैपर्छ भन्ने दम्भका सामु केही भन्न मन लागेन । उसँगको कुराकानीपछि सम्झे आफ्नै समाजको झलझली देखिरहेको ऐना जुन ऐनामा मेरो साथीको जस्तै सोँच भएका हजारौ पात्रहरु छन । उनीहरुलाइ घरपरिवार, हुनेवाला जीवनसाथीको आनीवानी, उसको शिक्षा, लगनशिलता , उसले भोली परिवारमा देखाउन सक्ने प्रभाव इत्यादिको बारेमा कुनै महत्व राखिदैन , मतलव गरिदैन महत्व राखिन्छ त केवल अरुले झट्ट हेर्दा वाह ्! भन्ने केटी हुनैपर्छ ।
रुप राम्रो हुँदैमा कुनैपनि व्यक्ति सर्वगुण सम्पन्न हुँदैन, तैपनि रुपको पछाडी किन यति अन्धभक्त भएर लाग्छन मान्छेहरु ? केटामान्छेलाइ राम्रो नभएपनि हुने गरिखाने, आफ्नी छोरी पाल्न सक्ने भए उसको मापदण्ड पुग्छ तर छोरीको लागि प्रमुख चिज रुप नै मानिन्छ । यो हाम्रो कस्तो मानसिकता हो ? शारीरिक आवरण सुन्दर हुँदैमा उ पुर्ण रुपमा योग्य हुन्छे भन्ने कुनै मापदण्ड छ र ? समाजले भन्ने र विदेशमा पढ्न गएको साथीले रोज्ने राम्री केटीको मापदण्ड उस्तै भएन र ? शारीरिक सुन्दरतालाइ किन यति धेरै चर्चाको विषय बनाइन्छ ? कहिलेकाँही सुनिन्छ कस्तो आँखा फुटेको रहेछ यो केटाको ? कस्ती केटी रोजेको ? आफु त राम्रै छ नि , किन यस्ती केटी बिहे गर्नु? आफ्नो छोराले मन पराएर ल्याएकी बुहारीको बारेमा समेत अनेकन लान्छना लगाएको सुनिन्छ । केटाहरु जतिसुकै कुरुप भएपनि व्यवहार जस्तोसुकै भएपनि उसले खोज्ने जीवनसाथी अरुवे वाह् भन्ने खालकी हुनैपर्छ ।
आफूले बिहे गरेर भित्राएकी श्रीमतीले कस्तो व्यवहार देखाउँछिन, घरपरिवार रिझाएर राख्न सक्छिन कि सक्दिनन ? घर भाँडिन्छ कि भाँडिदैन ? श्रीमतीका कारण आफु बदनाम हुनुपर्ला कि नपर्ला ? बुढेसकालमा बुआआमाको राम्रो रखवारी होला कि नहोला ? संस्कार कस्तो छ ? यि विषयमा अहिलेको पुस्ता बेखबर छ ।बस उनिहरुलाइ राम्री केटी चाहिन्छ, खुलेआम मदिरा सेवन गर्दै हिनोस, टुटेफुटेको अग्रेजी बोलोस, भट्किलो पहिरन लगाओस, आधुनिक स्टाइलकी होस अरु केही चाँहिदैन । यति कुराले मात्रै जीवन चल्ने हो र ?
आफूले रोज्ने जीवनसाथी जहाँ जस्तो वातावरणमा पनि विना हिच्किचावट फिट हुनुपर्छ । समाजले छोरामान्छेलाइ गरिखाने अर्थात बिहे गरेर श्रीमती पाल्नसक्ने खालको बनायो तर छोरीलाइ राम्री हुनुपर्छ, भोली राम्रो घरको केटासँग बिक्न सक्ने हुनुपर्छ भनेर मात्र सिकायो । यसकै फलस्वरुप विदेशमा रहेका साथीले राम्री केटीको खोजी गरेका छन । यस्ता धेरै पात्रहरु जसलाइ व्यवहारिक, आत्मनिर्भर, संस्कारवाला भन्दापनि आधुनिक हाऊभाउकी राम्री केटी चाहिएको छ । तर त्यो राम्रोपन कतिसमयसम्म टिक्छ भन्ने कुरा ख्याल गर्दैनन ।
आफन्तको बिहेमा जाँदा सुनिन्छ,
- ‘कस्ती केटी हेरेको रहेछ यस्ले (बेहुला) ? केटी जागिरे छ रे, बिए पास पनि गरेकी छ रे तर अनुहार हेर न कस्ती काली ? जागिर सागिर जेजे भएपनि झुलुक्क हेर्दा केटी त राम्री हुनुपर्छ है’।
एउटी महिलाले अर्की आफुजस्तै महिलाको आलोचना गर्छन, कुरा काट्छन र गोरो र कालो छाला, अनुहार मिलेको र नमिलेको तुलना गर्छन ।
कुनै युवतीलाइ एक आधा घण्टा हेर्नासाथ कुनचाँही महापुरुषले उसको सबैथोक याद गर्न सक्छ ? केटी यस्ती रहिछ, उस्ती रहिछ भन्ने सुनिन्छ , बाहिरी आवरण हेरेर अनुमान लगाउनुको साटो उसको भित्री गुण केलाउनु जरुरी छ ।
कसैलाइ राम्री वा नराम्री केटीको ट्याग भिराउने अधिकार सायद कसैलाइ नहोला । हरेक व्यक्तिका आफ्नै गुण, विशेषता हुन्छन, गोरो हुँदैमा राम्री हुने, आधुनिक लवाइखवाइ हुँदैमा राम्री हुने होइन व्यवहार र असल कर्मले व्यक्ति राम्रो नराम्रो असल खराब हुने हो ।
म मेरा साथीलाइ आग्रह गर्न चाहन्छु, मित्र तिमी अर्काका छोरीलाइ राम्री र नराम्री भनेर तुलना गर्ने काम नगर , पहिले आफुले आफैलाइ पढ तिमी कतिको राम्रो छौ ?
अनुहार त तिम्रो पनि कालै छ, हाइट पनि त्यति धेरै अग्लो छैन, बानी पनि तिम्रो पहिले देखीनै शौखिन नै हो , नाक तिम्रो चुच्चो छ, गाला पोक्चे परेका छन अनि तिमीलाइ किन राम्री केटी चाहियो ?
यी गुण हुँदा पनि तिमी आफुलाइ सायद राम्रै छु भन्ने लागेर र राम्री केटी खोजेका होलाऊ होइन र ?
तिमीले खोजेकी राम्री केटीले केटो कालो रहेछ, नाक चुच्चो रहेछ, गाला पोक्चे रहेछ, हाइट पनि त्यति धेरै होइन मलाइ यस्तो केटो राम्रो लाग्दैन भनिन भने त्यो बेलामा के सोँचौला ?
तिमीले व्यवहारले राम्रो असल साथी हौ तर अर्को पात्रले प्याच्च भन्दा चित्त त दुख्छ नि होइन र ?
अर्कालाइ राम्रो र नराम्रो अनुहार हेरेकै भरमा तौलने काम नगर , व्यवहारले असल बुवाआमालाइ बुढेसकालमा तातो पानी खुवाउने,स्याहार सुसार गर्ने, घरकी असल बुहारी, आत्मनिर्भर , सक्षम पढेलेखेकी केटी होइन लक्ष्मी तिम्रो घरमा नयाँ जीवनसाथीको रुपमा खुसीको बहार लिएर भित्रिउन सुभकामना ।