स्वास्थ्य

देशभर तीनसय डाक्टरको अभाव

देशभर तीनसय डाक्टरको अभाव

काठमाडौं ।गत वर्ष बढुवामा परेका करिब ८० जना विशेषज्ञ चिकित्सकहरू देशभरका सरकारी अस्पतालहरूमा खटिने समय आएको भए पनि देशभरका सरकारी अस्पतालहरूमा तीन सय भन्दी बढी विशेषज्ञ चिकित्सकको अभाव हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कार्यरत चिकित्सकहरू पनि लामो विदामा बस्ने गरेका छन् सरकारी अस्पतालहरूमा सेवा खस्किँदै गएको अस्पतालका समितिहरूले बताएका छन्।

आठजना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको ५० शैयाको इलाम जिल्ला अस्पतालमा अहिले स्त्रीरोग, बालरोग र दन्तरोग विशेषज्ञ मात्र कार्यरत छन्।

त्यस्तै झापा भद्रपुरको मेची अञ्चल अस्पतालमा २२ जनाको विशेषज्ञ चिकित्सकको दरवन्दी रहे पनि अहिले १० जना मात्र कार्यरत छन्।

सम्भावना

 

देशभरका सरकारी अस्पतालहरूमा विशेषज्ञ चिकित्सक अभावका कारण सुलभ स्वास्थ्य सेवा पाउनबाट बञ्चित हुनु परिरहेको सर्वसाधारणले बताउने गरेका छन्।

देशभरका सरकारी अस्पतालहरूमा अहिले चार सयजना विशेषज्ञ चिकित्सक अभाव रहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ।

तर गत वर्ष बढुवामा परेका करिब ८० जना विशेषज्ञ चिकित्सक अस्पतालहरूमा अब खटिँदैछन्।

केहीको अवकास भएको र केही छोडेका कारण चिकित्सक अभाव उस्तै हुने देखिन्छ।

तर स्वास्थ्य मन्त्रालय कर्मचारी प्रशासन महाशाखाका उपसचिव बाबुराम खनाल भन्छन् देशभरमा अब तीन सयजना विशेषज्ञ चिकित्सकको अभाव रहनेछ।

अभाव

खनालले भने, 'करिब चार सय विशेषज्ञ चिकित्सक अभाव रहेकोमा गत वर्ष करीब ८० जना बढुवामा पर्नु भएको छ। अर्को साता बढुवा समितिको बैठक फेरि बस्दैछ। अब करिब तीन सयजनाको अभाव हुने सम्भावना छ। सरकारी अस्पतालमा कहिले पनि पूरै दरबन्दीका चिकित्सक खटाउने सम्भावना हुँदैन।'

तर इलाम अस्पताल विकास समितिका अध्यक्ष केदार थापाका अनुसार स्वास्थ्य मन्त्रालयमा बारम्बार ताकेता गर्दा पनि इलाम अस्पतालले चिकित्सक पाउन सकेको छैन।

थापाले भने, 'स्वास्थ्य मन्त्रालयको लापरवाही हो कि के हो। हामीले पटकपटक लेखेर दिँदा समेत चिकित्सक पठाउँदैन।'

त्यतिमात्र होइन स्वास्थ्य मन्त्रलायले एमबिबिएस चिकित्सकसमेत अस्पतालहरूमा पठाउन नसकेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्टहरूले बताएका छन्।

स्वास्थ्य ऐन अनुसार लोकसेवाबाट विशेषज्ञ चिकित्सकको पदपूर्ति गर्न पाँच वर्ष काम गरेको अनुभव चाहिने गर्छ।

त्यस्ता चिकित्सक नेपालमा थोरैमात्र भएका कारण सरकारी अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. श्रीकृष्ण गिरीको भनाइ छ।

विशेष