प्रणय दिवसको अवसरमा सौराहामा फुड फेस्टिभल हुने
प्रणय दिवस अर्थात भ्यालेनटाइन डे को अवसर पारेर चितवनको पर्यटकीय नगरी सौराहामा ‘फुड फेस्टिभल’को आयोजना गरिने भएको छ ।
रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान) सौराहा र रेवान महिला समूहको संयुक्त आयोजनामा यही माघ २८ देखि फागुन ३ गतेसम्म पाँच दिन १२ औं संस्करणको सौराहा फुड फेस्टिभल हुन लागेको बताईएको छ ।
प्रणय दिवसका दिन आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सौराहासम्म ल्याउन फुड फेस्टिभल आयोजना गर्न लागिएको संयोजक कपिल रेग्मीले जानकारी दिएका छन् । फेस्टिभलमा नेपाली र विदेशी विभिन्न खानाका परिकारका साथै मनोरन्जनात्मक कार्यक्रमहरुसमेत राखिने रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले बताएका छन् ।
फेस्टिभलमा चितवनमा रहेका विभिन्न जातजाति, आमा समूह, भजन समूहलगायत अरु संघ–संस्थाका झाँकी प्रदर्शनी र प्रतियोगिता, सांगीतिक तथा साँस्कृतिक प्रस्तुतिसमेत रहने जनाइएको छ ।
साथै फेस्टिभलमा रेस्टुरेन्ट कर्मचारीबीच वेटर रेस प्रतियोगिता, प्रेमपत्र लेखन प्रतियोगिता, तेक्वान्दो प्रतियोगिता, महिलाहरुबीच म्युजिकल चेयर प्रतियोगिता, ९ वर्षमुनिका बालबालिकाहरुबीच बेलुन फुटाउने प्रतियोगिता, उत्कृष्ट खाना प्रतियोगिता, घैला रङगाउने प्रतियोगितालगायत राखिएको आयोजकले जनाएको छ ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै रत्ननगर नगरपालिकाका मेयर नारायण वनले सौराहा फुड फेस्टिभलले आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
valentine day sauraha