मुख्य समाचार

देउवाले निर्वाचनमा हार व्यहोरेको प्रतिशोध साँध्न म माथी धावा बोले : सिलवाल (विज्ञप्तिसहित)

देउवाले निर्वाचनमा हार व्यहोरेको प्रतिशोध साँध्न म माथी धावा बोले :  सिलवाल (विज्ञप्तिसहित)

काठमाडौं ।  नेपाल प्रहरीका पूर्व डीआईजी एवं ललितपुर क्षेत्र नम्बर १ बाट नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नवराज सिलवालले आफू असुरक्षित रहेको दावी गरेका छन् ।

उनले आफूविरुद्ध राज्यले नै धावा बोलेकोले जीवन असुरक्षित रेहको दावी गरेका छन्। बुधबार एक विज्ञप्ती जारी गर्दै सिलवालले सरकार र राज्य संयन्त्रहरु आफूविरुद्ध लागेकाले आफू असुरक्षित भएको विज्ञप्तिमा उल्लेख गरेका छन्। सरकारी कागजात किर्ते गरेको अभियोग लागेका सिलवाललाई प्रहरीले इन्टरपोल मार्फत पक्राउ पुर्जी जारी गरेको छ भने नेपालका सबै प्रहरी कार्यालयहरुलाई पक्राउ गर्न निर्देशन दिएको छ।

फरार अवस्थामा रहेका सिलवालले कहाँबाट विज्ञप्ति जारी गरेको उल्लेख छैन। उनले विज्ञप्तिमा आफूले किर्ते नगरेको दावी गरेका छन्। उनले सर्वोच्च अदालतमा पेश भएका फरकफरक कार्यसम्पादन मूल्यांकन फाइलहरुबारे छानविन हुनुपर्ने माग गरेका छन्। साथै, उनले सरकार र प्रहरी लगायत राज्यका संयन्त्रहरुले सरकारी कागजातहरु फेरबदल गरेको आरोप लगाएका छन्। सिलवालले हाल आफूलाई किर्तेको दोषी करार गर्ने प्रयास भइरहेको आरोप लगाएका छन्। उनले प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस निर्वाचनमा पराजित भएको प्रतिशोध आफ्नो करिअर समाप्त पारेर लिन लागेको आरोप लगाएका छन्।

उनले यसका लागि देउवाले गृह मन्त्रालय र प्रहरीलाई लगाएर सरकारबाट बाहिरिनु अगावै यो विषयमा छानविन गर्न लगाएको उल्लेख गरेका छन्। सिलवालले यही सरकार रहेको अवस्थामा किर्ते मुद्दामा निष्पक्ष छानविन हुनेमा आफूलाई आशंका रहेको उल्लेख गरेका छन्। उनले अर्को सरकारले छानविन गर्ने र त्यसमा आफू सघाउन तयार रहेको उल्लेख गरेका छन्।

प्रहरी महानिरीक्षक नियुक्तिका क्रममा सिलवालले आफू कार्यसम्पादन मूल्याकंनमा एक नम्बरमा रहको भन्दै प्रमाणस्वरुप पेश गरेका कागजात किर्ते गरिएकोले उक्त विषयमा छानविन गरेर दोषीलाई कारबाही गर्न प्रहरीलाई आदेश दिएको थियो। त्यसपछि महानगरीय प्रहरी परिसर काठमाडौंले सिलवाल विरुद्ध पक्राउ पुर्जी जारी गरेर देशभरका प्रहरी कार्यालयमा पठाउनेदेखि इन्टरपोलमार्पत डिफ्युजन नोटिस जारी गर्नेसम्मका प्रक्रिया अगाडि बढाएको छ।

विशेष