खेल

थ्रीस्टार इटहरी गोल्डकपको फाइनलमा प्रवेश

थ्रीस्टार इटहरी गोल्डकपको फाइनलमा प्रवेश

काठमाडाैं ।  थ्री स्टार क्लब बुधबार इटहरीमा सञ्चालन भइरहेको मदन भण्डारी स्मृति गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताको पहिलोे सेमिफाइनलमा थ्री स्टारले त्रिभुवन आर्मी क्बललाई टाइब्रेकरमा ५–३ ले स्तब्ध पार्दै अन्तिम दुईको स्थान पक्का गरेको हो । गत साता नै आर्मीले खप्तड गोल्डकपको सेमिफाइनलमा थ्री स्टारलाई हराएको थियो । थ्री स्टारले एकसाताभित्रै आर्मीविरुद्ध हारको बदला लियो ।

एलानले रोके विष्टको प्रहार

निर्धारित र अतिरिक्त समयमा थ्री स्टार र आर्मीले १–१ को नतिजा निकालेका थिए । खेलको छिनोफानो टाइब्रेकरबाट भयो । आर्मीका अरिब विष्टको प्रहारलाई थ्री स्टारका गोलरक्षक एलान न्यौपानेले छेक्दै टोलीलाई फाइनलको स्थान पक्का गराए ।

 

टाइब्रेकरमा थ्री स्टारका रञ्जित धिमाल, नीराजन खड्का, सुनील बल, बुद्ध जेम्जोङ र अनन्त तामाङले गोल गरे । आर्मीका सन्तोष तामाङ, नवयुग श्रेष्ठ, दीप लामाले गोल गरेका थिए ।

दोस्रो हाफमा बराबरी गोल

खप्तड गोल्डकप च्याम्पियन आर्मीले मदन स्मृतिमा समेत थ्री स्टारमाथि दबाब राखेको थियो । खेलको २५औँ मिनेटमा आर्मीले १–० को अग्रता लियो । आर्मीलाई नवयुगले अग्रता गोल दिलाएका हुन् ।

उनले कप्तान भरत खवासले डिबक्सभित्र मिलाइदिएको पासमा गोल गरेका हुन् । पहिलो हाफमा थ्री स्टारले बराबरी गोल फर्काउने धेरै प्रयास गरेको थियो । तर, थ्री स्टारका खेलाडीले आर्मीको बलियो डिफेन्स तोड्न सकेन ।

पहिलो तुलनामा दोस्रो हाफमा थ्री स्टारले आर्मीमाथि दबाब राखेको थियो । खेलको अन्तिम समयमा थ्री स्टारले १–१ बराबरी गोल फर्कायो । थ्री स्टारलाई अजय मार्टिनले बराबरी गोल गरेका हुन् ।

लगातार खेल

आर्मीको प्रशिक्षक नवीन न्यौपानेले खेलाडीहरूले निरन्तर रूपमा प्रतियोगितामा सहभागिता जनाएका कारण थाकेको बताए । ‘पछिल्लो समय हामी निरन्तर रूपमा खेलिरहेका छौँ, आजको खेलमा खेलाडीहरू थाकेको पाएँ,’ न्यौपानले भने ।

यता, थ्री स्टारका प्रशिक्षक मेगराज केसीले लामो समयपछि आर्मीलाई हराउन पाउँदा खुसी लागेको बताए । ‘हामीले लामो समयपछि आर्मी हराउन सफल भयौँ,’ केसीले भने, ‘फाइनल योभन्दा राम्रो हुने आशा छ ।’ प्रतियोगिताअन्तर्गत बिहीबार मनाङ मस्र्याङ्दीले गरिफा स्पोटिङ क्लब कोलकाताविरुद्ध दोस्रो सेमिफाइनलमा सामना गर्नेछ ।

विशेष