सफलताको कथा

यसो भन्छिन् पहिलो महिला सैनिक गुल्मपति

यसो भन्छिन् पहिलो महिला सैनिक गुल्मपति

दुई सय पचास वर्षभन्दा पुरानो इतिहास बोकेको नेपाली सेनाले विसं ०६२ देखि महिलाका लागि ‘इन्फ्यान्ट्री’तर्फ भर्ना खोल्यो । त्यसको १२ वर्षपछि छुट्टै महिला गुल्म खडा गरेर त्यसको नेतृत्वसमेत महिलालाई दियो, गत साउनदेखि । सेनाको यो निर्णयसँगै पहिलोपटक महिला सैनिक अधिकृतले गुल्मपति बन्ने मौका पाए र अवसर जुर्‍यो, सेनानी (मेजर) श्रृष्टि खड्कालाई । उपत्यका पृतना अन्तर्गत रहेको गोरखकाली गुल्मकी गुल्मपति खड्कासँगको कुराकानी

सेनाको जागिर खाने सानैदेखिको रहर हो ?

होइन । सेना भनेको के हो भन्नेचाहिँ थाहा थियो । सेनाको जागिर एकदमै इज्जतिलो हुन्छ भन्ने लाग्थ्यो । तर, सेनामै जागिर खान्छु भन्ने सोच थिएन । महिलालाई सेनामा प्रवेश ढिलो गरी खुलेकाले पनि त्यस्तो सोच नआएको हुन सक्छ ।

तपाईं नेपाली सेनामा छिर्दा मुलुक माओवादी द्वन्द्वको उत्कर्षमा थियो । त्यस्तो बेला सेनामा भर्ती हुन डर लागेन ?

लागेन । घरपरिवारको साथ थियो । भर्ती खुलेको छ भन्ने खबर मेरो दाइले नै मलाई सुनाउनुभएको हो । मुलुकलाई अप्ठ्यारो परेका बेला जिम्मेवारी लिनुपर्छ भन्ने मनमा लाग्यो र फाराम भरिहालेँ । त्यतिबेला म प्लस टूको पढाइ पूरा गरेर बसिरहेकी थिएँ ।

द्वन्द्वमा सहभागी हुनुपर्‍यो कि परेन ?

द्वन्द्वको आमनेसामने गर्नुपरेन । किनभने, हामी तालिम पूरा गरेर ‘पास आउट’ हुँदा द्वन्द्वले अर्कै बाटो लियो । राजनीतिक परिस्थिति फरक ढंगले विकास भइसकेको थियो । ०६२-६३ को जनआन्दोलनका बेला काठमाडौँमा कफ्र्यु लाग्दा भने म ड्युटीमा थिएँ ।

पहिलो महिला गुल्मपतिको जिम्मेवारी सुम्पिएको खबरपछि कस्तो अनुभूति भयो ?

सुरुमा त नर्भस भएँ । जिम्मेवारी पूरा गर्न सकिनँ भने के होलाजस्तो लाग्यो । लगत्तै एकदमै खुसी लाग्यो । अवसर र चुनौती दुवै एकसाथ आएको छ भनेर मनलाई दह्रो बनाएँ ।

यसलाई अवसर कसरी ठान्नुभयो ?

फौजमा कमान्ड एकदमै महत्त्वपूर्ण अवसर हो । तालिममा सिकेका कुरालाई फिल्डमा लागू गर्न पाइन्छ । त्यसअघि मैले कमान्डबारे तालिम लिएकी थिएँ । तर, प्रयोगमा ल्याएकी थिइनँ । त्यसैले यसलाई सिकेको कुरा लागू गर्ने अवसर ठानेकी हुँ ।

गुल्मपति हुनुअघि र पछिको भिन्नता के रहेछ ?

गुल्मको नेतृत्व गर्नुअघि अरूको कमान्डमा र अरूकै निर्णयका आधारमा चल्नुपथ्र्यो । अहिले म आफैँ निर्णय गर्छु । आफ्नो निर्णयले सकल दर्जा मात्र होइन, सिंगो संगठनलाई नै असर गरिरहेको हुन्छ । त्यसैले यस्तो जिम्मेवारीले कामप्रति झनै गम्भीर बनाउने रहेछ ।

अझै पनि पुरुष सम्मिलित टोलीको नेतृत्व महिला सेनाले गरेका छैनन्, किन हो ?

हामी पाएको जिम्मेवारी लिन तयार छौँ ।

महिलाले सक्दैनन् भनेर हो कि ?

नेपाली सेना चेन अफ कमान्डको ‘सिस्टम’मा चल्ने संस्था हो । त्यसैले त्यहाँ महिला वा पुरुष कसले नेतृत्व गर्छ भन्ने कुराले त्यति फरक अर्थ राख्दैन । सक्षम भए जसले कमान्ड गरे पनि हुन्छ ।

सेनाको जागिरे नभएको भए के बन्नुहुन्थ्यो होला ?

मलाई समाज सेवामा रुचि थियो, छ । त्यसैले कुनै सामाजिक सेवामा हुन्थेँ । नभए पनि शिक्षण पेसामा आबद्ध हुने थिएँ होला ।

पहिलो गुल्मपति भएपछि पक्कै पनि पहिलो महिला प्रधानसेनापति हुने महत्त्वाकांक्षा पनि त होला नि ?

म कुनै रेकर्ड बनाउँछु भनेर जागिरमा प्रवेश गरेकी होइन । पहिलो महिला गुल्मपति बन्छु भन्ने त सोचेकै थिइनँ । काम गर्दै जाँदा त्यस्तो अवसर आएको हो । प्रधानसेनापति व्यक्तिले चाहँदैमा प्राप्त हुने पद होइन । यो ‘सिस्टम’ले गाइड गर्ने कुरा हो । त्यसैले मलाई प्रधानसेनापति बनेर इतिहास रच्छु भन्ने लालसा छैन । सिस्टम र क्षमता अनुसार काम गर्ने हो । –नेपाल साप्ताहिकबाट साभार

 

विशेष