समाज

अब नेपालमा ई–पासपोर्ट

अब नेपालमा ई–पासपोर्ट

काठमाडौं । राहदानी विभागले पासपोर्ट दुरुपयोग रोक्न ई–पासपोर्टमा जानुपर्ने निष्कर्ष निकालेको छ।

नक्कली नागरिकता बनाएर त्यसकै आधारमा पासपोर्ट बनाउने गरिएको गुनासो आउने गरेकाले दुरुपयोगको आशंकामा ई–पासपोर्टमा जानुपर्ने निष्कर्ष निकालिएको हो। खासगरी नेपाल बाहिरबाट आउने आवेदनमा दुरुपयोग वा गलत भएको आशंका हुने गरेको छ। एमआरपीबाट मात्रै दुरुपयोग रोक्न सम्भव नभएको विभागले जनाएको छ। विभिन्न १० मुलुक र राहदानी विभागमा लाइभ इनरोलमेन्ट आफैं उपस्थित भएर अनलाइनमा फर्म भर्ने चलाएको भए पनि त्यो उत्साहजनक उपयोगमा नआएको विभागका अधिकारीले बताए। एमआरपीलाई ई–पासपोर्टमा लैजाने तयारीस्वरुप सरकारले दुई वर्षअघि नै लाइभ इनरोलमेन्ट प्रक्रिया अघि बढाएको हो।

सहजताका लागि अझै पनि आवेदन फारम बुझ्ने गरिएको छ। जनताको सुविधा हेरिएको बताइए पनि यो जिम्मेवारीबाट पन्छिने कार्य भैरहेको एक अधिकारीले बताए। एमआरपी छपाइ गरिरहेको फ्रान्सेली कम्पनी ओभरथरले नै लाइभ इनरोलमेन्टका लागि प्रविधि उपलब्ध गराएको छ।

ई–पासपोर्टको संरचना हुनेगरी त्यो प्रक्रिया मिलाइएको भए पनि अहिले त्यो उत्साहजनक भने हुन नसकेको अधिकारीहरु बताउँछन्। हस्तलिखित राहदानीलाई पूर्ण रुपमा विस्थापित गरिसकेको राहदानी विभाग पासपोर्टको चापमा छैन। अब यस्तै सुरक्षाका विशेषता थप्दै आफ्नो मुलुकको पासपोर्टलाई बलियो र गर्विलो बनाउने तर्फ लाग्नुपर्ने सुझाव परराष्ट्रका अधिकारीहरुको छ। –कान्तिपुर दैनिकबाट

विशेष