खेल

क्रिकेटमा सन्दीपको लोभलाग्दो सफलता, यस्तो छ यात्रा

क्रिकेटमा सन्दीपको लोभलाग्दो सफलता, यस्तो छ यात्रा

नेपाली युवा स्पीनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग आइपिएल खेल्ने भएका छन् ।

 

आइपिएलको अक्सनको दोस्रो दिन सन्दीप लामिछानेलाई दिल्ली डेयर डेभिल्सले २० लाख भारतीय रुपैयाँमा किनेसँगै उनी नेपाली क्रिकेटबाट पहिलो पटक आइपिएल खेल्ने खेलाडी पनि बनेका छन् ।

 

सन्दीपले आफ्नो चर्चा दुई वर्षअघि बंगलादेशमा भएको २०१६को यू–१९ वल्र्ड कपमा ४.६७ को औसतमा ६ इनिङबाट १४ विकेटबाट कमाएका थिए । उनले सो प्रतियोगितामा आयरल्याण्डविरुद्ध ह्याट्रिक गरेपछि नेपाली किशोर लेग स्पिनर सन्दीप लामिछानेको चर्चा विश्वव्यापी बन्यो ।

 

एशोसियट टोलीबाट सम्भावना बोकेका खेलाडीको उदयका रुपमा अन्तर्रा्ष्ट्रिय मिडियाले सन्दीपलाई अष्ट्रेलियाली महान क्रिकेटर सेन वार्नसँग तुलना पनि गरे ।

आइपिएलमा अनुबन्धित हुन अघि उनको नाम बंगलादेश प्रिमियर लिग, पाकिस्तान प्रिमियर लिगको अक्सनमा पनि समावेश थियो । तर उनलाई उक्त प्रतियोगितामा कसैले किनेका थिएनन् ।

 

स्याङ्जामा जन्मेका सन्दीप सानो छँदा नै भारत गएका थिए । उनका बाबु भारतको रेल्वेमा काम गर्थे र उनी पनि भारतमै पढाईको लागि गएका थिए । पढाईसँगै उनले भारतमा क्रिकेट सिके र क्रिकेटर बनेर देशलाई चिनाउने लक्ष्य लिए ।

 

अध्ययनका लागि नवलपरासीमा आएसँगै क्रिकेटलाई पनि निरन्तरता दिए । नवलपरासीमा स्कुल पढ्दापढ्दै प्रशिक्षक राजु खड्काको समन्वयमा नारायणगढको क्याम्पाचौरमा भएको ट्यालेन्ट हण्टबाट छानेर पुबुदुले सन्दीपलाई १४ वर्षको उमेरमै काठमाडौं ल्याएका थिए ।

 

त्यसयता उनले उमेरसमूहको क्रिकेटमा मात्र नभई घरेलु तथा राष्ट्रिय टोलीबाट समेत आफूलाई अब्बल प्रमाणित गरिसकेका छन् । सन् २०१६ मा बंगलादेशमा भएको आईसीसी यू–१९ विश्वकप क्रिकेटमा डेब्यू गरेका सन्दीपको सिनियर टोलीबाट पहिलो खेल भने नामिविया विरुद्ध थियो । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नामिविया विरुद्धको सन् २०१६ को सेप्टेम्बरमा उनले डेब्यू गरेका थिए ।

अष्ट्रेलियाली क्रिकेट टोलीका पूर्व कप्तान माइकल क्लार्कसमेत सन्दीपको बलिङ शैलीको फ्यान छन् । क्लार्ककै निमन्त्रणामा सन्दीपले अष्ट्रेलियामा स्थानीय लिग खेल्ने अवसर पाएका थिए । त्यस्तै हङकङमा भएको प्रतियोगितामा उनी क्लार्कसँग एउटै टिमबाट खेलेका थिए ।

 

सन्दीप आईपीएल अक्सनमा छनोट भएपछि बधाई दिँदै ट्वीट पनि गरिसकेका छन् । उनले आईपिएलको टिममा अधिकारसम्पन्न ठाउँमा भएको भए उनलाई अनुबन्ध गर्नेसमेत बताएका थिए ।

 

केही समयअघि सम्पन्न भएको यू–१९ एसिया कपमा भारतलाई पराजित गर्दै विश्व क्रिकेटको ध्यान तानेको नेपाली टोलीको अहिले सम्मको ठूलो उपलब्धि थियो । भारतका स्टार क्रिकेटर राहुल ड्रभिडको प्रशिक्षकमा रहेको टोलीलाई पराजित गर्दै नेपाली टोलीले क्रिकेट जगतलाई ध्यानाकर्षित गर्न सफल भएको थियो ।

 

Sandip Lamichane

विशेष