चुडामणि शर्माविरुद्ध ४ करोड २९ लाख रुपैयाँको अर्को मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बित सहसचिव चुडामणि शर्माविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन अभियोगमा भ्रष्टाचार मुद्दा दायर गर्न लागेको छ ।
यो सहित शर्मा विरुद्ध विशेष अदालतमा भ्रष्टाचारका दुई थान मुद्दा हुने भएको छ। बिहीबार आयोगको बोर्ड बैठकले शर्माविरुद्ध ४ करोड २९ लाख रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गर्ने निर्णय गरेको थियो। सोही निर्णयको आधारमा शर्मा विरुद्ध मुद्दा दायर हुन लागेको अख्तियार उच्च स्रोतले बतायो।
चार करोड रुपैयाँको बिगो मागदाबी सहित शर्मा र उनको परिवारका केही सदस्यलाई प्रतिवादी बनाइ अभियोगपत्र दायर हुन लागेको हो । शर्माको आम्दानी र खर्चको अनुसन्धान हुँदा उनले गैरकानुनी रूपमा आर्जन गरेको भेटिएको आयोग स्रोतले बतायो।