कस्तो छ विवादित फिल्म ‘पद्मावत’को व्यापार ?
एजेन्सी । विवादित भनेको फिल्म ‘पद्मावत’ ले प्रदर्शनको एक हप्ता पनि नपुग्दै १ सय १५ करोडको व्यापार गरेको छ । फिल्मको जति चर्को विवाद भएको थियो त्यति नै धेरै संख्यामा दर्शक फिल्म हेर्नका लागि हलमा गइरहेको भारतका सञ्चार माध्यमले जनाएका छन् ।
जसका कारण ‘पद्मावत’ले प्रदर्शन भएको हप्ता दिन पनि नपुग्दै लगभग १ सय १५ करोड को व्यापार गरेर एक सय करोडको क्लबमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
फिल्म रिलिजको पहिलो दिन अर्थात शुक्रबार मात्रै संजय लीला भंसालीको फिल्म ‘पद्यावत’ले ३२ करोडको कमाई गरेको थियो । यस्तै शनिबार २७ करोड र आइतबार ३० करोड भन्दा बढी कमाएको छ ।
यसका अलावा फिल्म ‘पद्यावत’को पेड प्रिभ्यूमा ५ करोड, बिहीबार १९ करोडको कमाई गरिसकेको थियो । ‘पद्मावत’ले भारतमा मात्रै नभएर वल्र्डवाइडमै फिल्मका यूनिटले सोचेभन्दा बढि कमाइ गरिरहेको छ ।
उत्तर अमेरिकामा प्रदर्शनको पहिलो दिनमै २२.१८ करोड कमाएर फिल्म ‘पद्मावत’ले आमिर खानको फिल्म पिके, दंगल र धुम ३, सलमान खानको बजरंगि भाइजान, शाहरुख खानको दिलवाले फिल्मको रेकर्डसमेत तोडेको छ ।
यसअघि चर्को विवादको तनावमा परेका फिल्मका निर्देशक संजय लीला भंसालीलगायत नायिका दीपिका पादुकोण, शाहिद कपूर र रणविर सिंह फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेकाले निकै उत्साहित भएका छन् । साथै फिल्म विवादमा मुछिनुनै फिल्मको प्रमोशन भएको फिल्मकर्मीले बताएका छन् ।