सरकारले १० वर्ष पछि माथिल्लो त्रिशूली– १ को विद्युत् खरिद सम्झौता (पिपिए) गर्यो
काठमाडौं । सरकारले प्रक्रिया सुरु गरेको झन्डै १० वर्षपछि २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ को विद्युत् खरिद सम्झौता (पिपिए) गरेको छ ।
नेपाल विद्युत् प्राधिकरण र आयोजना निर्माण गर्ने नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीबीच आइतबार सम्झौतामा हस्ताक्षर भएको हो । प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका प्रमुख कार्यकारी अधिकृत बो सक यीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
प्राधिकरण सञ्चालक समितिको गत बुधबार बसेको बैठकले आयोजनाको पिपिए गर्ने निर्णय गरेको थियो । आयोजनाले वार्षिक ३ प्रतिशतका दरले ८ वटा मूल्यवृद्धि स्कालेसन पाउनेछ । प्राधिकरण सञ्चालक समितिको बिहीबारको निर्णयलगत्तै कम्पनीले परफर्मेन्स ग्यारेन्टी (धरौटी) बापत २१ करोड ६० लाख रुपैयाँ बुझाएको छ ।
यसपछि पिपिएमा हस्ताक्षर भएको हो । आयोजनामा ८० प्रतिशत ऋण र २० प्रतिशत स्वपुँजी हुनेछ । यसमा १५ प्रतिशत विश्व बैंकअन्तर्गतको आइएफसी तथा १० प्रतिशत नेपाली लगानी पनि छ । ८० प्रतिशत ऋणको भुक्तानी गर्नमात्र डलरमा पिपिए गर्ने निर्णय भएको छ । यस्तो पिपिए १० वर्षसम्मका लागि हुनेछ । १० वर्ष वा ऋण तिरेपछि विद्युत् खरिद गरेको रकम नेपाली मुद्रामै भुक्तानी हुने हुँदा देशलाई कुनै नोक्सानी हुने छैन ।
सरकारले २०७२ फागुनमा जारी गरेको ‘ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशक’ सम्बन्धी कार्ययोजना र ऊर्जा मन्त्रालयले तयार गरेको निर्देशिका अनुसार नै पिपिए गर्ने निर्णय भएको छ ।
आइतबारदेखि नेपाल राष्ट्र बैंकले तोकेको डलरको सटही मूल्य स्थिर (लक हुने) राखिनेछ । यसो हुँदा डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर हुँदा असर पर्दैन । डलर कमजोर हुँदा पर्ने असर ‘हेजिङ फन्ड’ बाट व्यवस्थापन हुनेछ । हेजिङ फन्ड स्थापनाको प्रक्रिया सुरु भइसकेको पनि उनले जानकारी दिए । राष्ट्र बैंकले यस्तो फन्ड स्थापना, सञ्चालन र नियमनको ढाँचा तयार गर्नेछ । हेजिङ लागत सरकार, प्रधिकरण र आयोजना प्रवर्द्धकले बेहोर्नेछन् । त्रिशूली–१ आरओआर (नदी प्रवाही) आयोजना भने पनि यसको हिउँदको ऊर्जा निकै राम्रो रहेकोमा घिसिङले बताए ।
उनका अनुसार विगतमा भएका डलर पिपिएसँग यसको तुलना गरेर व्याख्या गर्नुको अर्थ छैन । क्यू–५० मा डिजाइन भएकाले आयोजनाबाट हिउँदमा पनि ३९ प्रतिशत (१०६) मेगावाट विद्युत् उत्पादन हुन्छ । विदेशी मुद्रा अर्थात् डलरको जोखिम कम गर्ने यो उत्कृष्ट नमूना भएकाले भविष्यमा अन्य आयोजनामा पिपिए गर्न सजिलो हुने घिसिङको भनाइ छ । प्राधिकरणले आयोजनाको विद्युत् सुख्खा याम (मंसिर १६ देखि जेठ १५) सम्म प्रतियुनिट ८.४० रुपैयाँ र बर्खा (जेठ १६ देखि मंसिर १५) सम्म प्रतियुनिट ४.८० रुपैयाँमा किन्नेछ