देश

सुन पसलमा छापा, व्यापारी भागे

सुन पसलमा छापा, व्यापारी भागे


वीरगन्ज । राजश्व अनुसन्धान मध्य क्षेत्रीय इकाइ कार्यालयले सोमबार दुईओटा सुनचाँदी पसलमा छापा मारेपछि वीरगन्जका सुनचाँदी व्यापारी पसल बन्द गरेर भागेका छन् ।

बाराको पथलैयामा रहेको इकाइ कार्यालयबाट अनुसन्धान अधिकृत भीम देवकोटा र तेजमणि काफ्लेको नेतृत्वमा आएको टोलीले वीरगन्जको माईस्थानमा रहेको ओम ज्वेलर्स र लिंकरोडमा रहेको बालाजी ज्वेलर्समा छापा मारेपछि वीरगन्जका अरु सुनचाँदी व्यवसायीहरु पसल बन्द गरेर भागेका हुन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ पर्साकाअनुसार वीरगन्ज महानगरपालिकामामात्रै २५० बढी सुनचाँदी पसल सन्चालनमा छन् ।

दुई छुट्टाछुट्टै टोलीले एकैपटक दुवै पसलमा छापा मारेको थियो ।

ओम ज्वेलर्समा दर्जनौंको संख्यामा सशस्त्र प्रहरीसहित पुगेको राजश्व अनुसन्धान अधिकृत काफ्ले नेतृत्वको टोली पसलभित्र छिर्नेबित्तिकै छेउछाउमा रहेका अरु सुनचाँदी पसलेहरुले होहल्ला गर्दै अवरोध पुर्‍याएपछि उक्त टोली फर्किएको थियो ।

त्यहाँबाट सीधै लिंकरोडमा रहेको बालाजी ज्वेलर्समा टोली पुगेको थियो । त्यहाँ पहिल्यै पुगेका अनुसन्धान अधिकृत देवकोटा नेतृत्वको टोलीलाई पनि व्यवसायीले अवरोध गरेपछि रित्तै फर्किएका थिए ।

त्यसको आधा घन्टापछि जिल्ला प्रहरी कार्यालय पर्साबाट थप सुरक्षाकर्मी लिएर बालाजी ज्वेलर्समा छिरेको टोलीले खानतलासी गर्दा कुनैपनि कागजात नभेटिएको जनाइएको छ ।

अनुसन्धान अधिकृत देवकोटाले पसलको कारोबार गरिएको कागजपत्र नदिए बल प्रयोग गर्ने बताएपछि पसलका सन्चालक रतन सर्राफले छिकेकीको घरको शौचालयमा लुकाएर राखेको दुई बोरा कागजात टोलीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै, टोलीले पसलमा प्रयोग हुने दुईथान ल्यापटप पनि नियन्त्रणमा लिएको छ । राजश्व अनुसन्धानको टोलीले ओम ज्वेलर्सबाट पनि केही आवश्यक कागजात नियन्त्रणमा लिएको छ ।

ओम र बालाजी ज्वेलर्सले राजश्व छली गरेको गोप्य सूचना आएपछि छापा मारेर कारोबार गरिएको आवश्यक कागजपत्र नियन्त्रणमा लिएको अनुसन्धान अधिकृत देवकोटाले बताए ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ पर्साका महासचिव परवेज सर्राफले महासंघलाई जानकारी नै नदिइ गुन्डागर्दी शैलीमा आएर राजश्व र सशस्त्र प्रहरीको टोलीले पसलमा छापा मारेको आरोप लगाए ।

सुनचाँदी व्यवसायी महासंघलाई पूर्वजानकारी गराएर महासंघकै प्रतिनिधिको रोहबरमामात्रै राजश्व अनुसन्धानको टोलीले पसलमा छापा मार्नुपर्ने भएपनि महासंघलाई कुनै जानकारी नदिइकनै छापा मारेको उनको आरोप छ ।

अनुसन्धान अधिकृत देवकोटाले भने राजश्व छलेर कारोबार गरेको सूचनाको आधारमा दुवै पसलमा कानुनसम्मत् तरिकाले छापा मार्न खोज्दा व्यापारीले होहल्ला गर्दै अवरोध पुर्‍याएपछि थप प्रहरी मगाएर छापा मारिएको बताए

विशेष