मुख्य समाचार

ग्राहकलाई यसरी ठग्दैछन् गाडी विक्रेता

ग्राहकलाई यसरी ठग्दैछन् गाडी विक्रेता

काठमाडौं । नेपालमा विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका अटोमोबाइल्स सवारीसाधन बिक्री गर्दै आएका कम्पनीहरूले मूल्य अनियमितता गरेको फेला परेको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनमा कानुनले तोकेभन्दा बढी नाफा राखेर उपभोक्तालाई महंगो मूल्यमा गाडी बिक्री गरेको भेटिएको हो ।


अनुगमनमा १३ वटा गाडी बिक्रेता कम्पनीले अस्वभाविक मूल्यमा गाडी बिक्री गरेको पाइएको विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए । यसमा कालोबजारी ऐन आकर्षित हुने उनको भनाइ छ ।


‘कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२’ को दफा ३ मा ‘नाफाखोरी’ सम्बन्धी व्यवस्था छ । उक्त ऐनबमोजिम कुनै पनि वस्तु तथा सामान २० प्रतिशतभन्दा बढी नाफा राखेर बेच्न नपाइने प्रावधान छ । सोभन्दा बढी नाफा राखे त्यसलाई ऐनले ‘नाफाखोरी’ ठह¥याएको छ । यसअनुरूपको बिक्रीमा बिक्रेतालाई ‘एकवर्ष कैद वा २ लाख ५० हजार रूपैयाँ जरिवाना वा दुवै’ हुने उक्त ऐनको दफा ३ मा उल्लेख छ ।


यद्यपि ऐनलाई सोझै उल्लंघन गर्दै कम्पनीहरूले उपभोक्तालाई ठगी गर्दै आएको खुलासा भएको हो । सवारी साधनमा अत्यधिक मूल्य राखेर उपभोक्तालाई मूल्य शोषण गरेको जानकारी पाएपछि विभागले केही दिनयता अटो बिक्रेता कम्पनीमाथिको अनुगमनलाई तीव्र पार्दै आएको छ ।


सवारीसाधनका ग्राहकको उजुरीको आभारमा विभागले एमएडब्लु अर्थमुभर्स प्रालि, एमएडब्लु इन्टरप्राइजेज, ईस्टर्न एजेन्सी प्रालि, गो अटोमोबाइल्स प्रालि, पायोनियर मोटोकर्प प्रालि, कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज, स्याकार ट्रेडिङ कम्पनी प्रालि, सिप्रदी ट्रेडिङ प्रालि, युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालि, अरूण इन्टरकन्टिनेन्टल ट्रेडर्स, अग्नि इनकर्पोरेटेड, एडभान्स अटो मोबाइल्स प्रालि र आइएमई मोटर्स प्रालिमा अनुगमन गरेको थियो । त्यसक्रममा ती कम्पनीहरूले विभिन्न बाहनामा चर्को मूल्यमा गाडी बिक्री गरिरहेको पाइएको विभागको भनाइ छ ।


‘ती गाडी बिक्रेता कम्पनीले वस्तु व्यापार नियमको उल्लघंन गरेका छन्,’ महानिर्देशक दाहालले भने, ‘गाडीको सन्दर्भमा बिक्रेताले उत्पादकसँग पहिले नै निश्चित कमिसन डिल गरेको हुन्छ । तर, यहाँ विभिन्न शीर्षक राखेर उपभोक्ताबाट बढी नाफा लिइरहेको भेटियो ।’


अनुगमनका क्रममा नाफाबाहेक अन्य विभिन्न शीर्षकमा दोहोरो शुल्क लिएर गाडी बिक्री गरिरहेको विभागको भनाइ छ । बिक्रेताले गाडीमा उपभोक्ताबाट कर्मचारीको तलब–भत्ता खर्च, विज्ञापन शुल्क पनि असुलेको पाइएको छ । यस्तै, कम्पनीको प्रशासकीय शुल्क, मोबिल खर्च, डेन्टीङ÷पेन्टीङ शुल्क तथा एक्सेसरीजका नाममा विभिन्न शुल्क लिएको देखिएको छ । कम्पनीले लिएका यी शुल्क अस्वाभाविक र कानुनविपरित भएको दाहालले बताए । सोही विषयमा विभागले कम्पनीहरूसँग अहिले बयानसमेत लिइरहेको छ ।


दुई बिक्रेता प्रहरीको जिम्मामा


विभागले दुई बिक्रेता कम्पनीलाई कारबाहीका लागि प्रहरीलाई जिम्मा लगाइसकेको छ । विभागले महिन्द्रा गाडीको विक्रेता अग्नि इन्कर्पोरेट प्रालि र चौधरी समूहको अरूण इन्टरकन्टिनेन्टल प्रालिलाई कारबाहीका लागि प्रहरीलाई सिफारिस गरेको छ ।


विभिन्न बाहानामा उपभोक्ताबाट बढी शुल्क लिएको भेटिएपछि विभागले महानगरीय प्रहरी परिसर टेकुलाई गत पुष १८ गते पत्र लेख्दै कारबाहीको सिफारिस गरेको हो । विभागले गत मंसिर २८ गते पानीपोखरीस्थित अग्निको कार्यालयमा छापा मारको थियो ।


त्यस्तै, चौधरी समूहअन्तर्गतको अरूण इन्टरकन्टिनेन्टल प्रालिले भारतीय उत्पादक कम्पनी मारूती सुजुकीबाट २ लाख ७५ हजार रूपैयाँमा ल्याएको ‘मारूती अल्टो एसटीडी ८००’ गाडीलाई भन्सार ९७७ प्रतिशत०, अन्तशुल्क ९६० प्रतिशत०, भ्याट ९१३ प्रतिशत० लगायतका सम्पूर्ण करहरू तिरिसकेपछि पनि करिब तीन लाखदेखि ४ लाख रूपैयाँसम्म बढी मूल्य लिएर बिक्री गरेको छ ।


अनुगमनका क्रममा यो गाडी अरूणले १४ लाख ९९ हजार रूपैयाँमा बिक्री गरिरहेको भेटिएको हो । कम्पनीले बिन्दुमा यस गाडीको ६ लाख ४१ हजार ६१८ रूपैयाँ सरकारलाई तिर्दै आएको छ । नेपाल ल्याइसकेपछि सडक कर ७ प्रतिशत सहित कम्पनीको कुल खर्च ७ लाख ६ हजार ८३९ रूपैयाँ पर्छ ।


छुटका नाममा ठगी


विभागका अनुगमन टोली संयोजक रमेशकाशी श्रेष्ठ भन्छन्, ‘गोल्छा समूहको जीओ अटोमोबाइल्सले फोर्डको इको स्पोर्टको बिक्री मूल्यमा थप मूल्य राखेर थपिएको मूल्यबाटै ‘छुट’ दिएको भन्दै उपभोक्तालाई ठग्दै आएको फेला परेको छ ।’ लागत मूल्यमा दुई लाखभन्दा बढी मूल्य थपिएको र थपिएको मूल्यमा छुट दिएको बहानामा बढी मूल्य असुलेको पाइएको उनले बताए ।


विभागका अनुसार १.५ लिटर पेट्रोल मोडेलको इको स्पोर्ट गाडीको करबाहेक वास्तविक बिक्री मूल्य २२ लाख ५८ हजार दुई सय ९२ रूपैयाँ मात्रै पर्छ । एचआर ६४६०० इन्जिन नम्बर भएको उक्त ब्रान्डको गाडी दुई लाख २८ हजार चार सय ३३ रूपैयाँ अतिरिक्त मूल्य जोडेर गोे अटोमोबाइल्सले २४ लाख ८६ हजार सात सय २५ रूपैयाँमा सोमबार बिक्री गरेको बिल नम्बर ७५७ बाट भेटिएको छ ।


यसरी एउटै गाडीमा गैरकानुनी रूपमा यति धेरै मूल्य असुलिरहेको प्रमाण विभागले फेला पारेको छ भने अन्य गाडीमा अनुसन्धान भइरहेको बताएको छ । बिक्रेताले बिक्री मूल्य २२ लाख ५८ हजार भनिए पनि त्यसमा तीन लाख ३६ हजार दुई सय ८३ रूपैयाँ अतिरिक्त जोडेर उपभोक्ता मूल्य २५ लाख ९४ हजार कायम गरेको भेटिएको हो ।  जनतापोष्ट दैनिकबाट

विशेष